काठमाडौँ । हिमालयन बैंक लिमिटेडले वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । बैंकको पुस २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २८औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।
बैंकको मंसिर १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६र०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १४ गतेदेखि पुस २७ गतेसम्म बैंकको बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।