काठमाडौँ । सानिमा बैंक लिमिटेडले पुस १ गते, बुधबारबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणपमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १ गतेबाट ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । त्यस्तै, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बैंकले १० वर्ष अवधिको लागि ‘१०।२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमाण्डूलाई कार्तिक २४ गते सोमबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।
बैंकको उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।