काठमाडौं । यूनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आज असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका निष्काशन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि १ सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको हो । कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता र दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्नेछ ।
आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ।
आईपीओमा दुवै वर्गका प्रभावितहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।