काठमाडौं । माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन भएसँगै नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयर मूल्य प्रतिकित्ता २३१ रुपैयाँ ७१ पैसा तोकेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।
कम्पनीले १० दशमलव ४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न आगामी कात्तिक ६ गते होटल पोखरा ग्राण्ड पार्दि, पोखरामा बिहान ११ बजे २२ औं साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि असोज २२ गते बिहीवार एक दिन बुक क्लोज गरेको छ ।
बुक क्लोजको आधारमा असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।
कम्पनीले ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३ दशमलव ३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।