काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असोज १३ गते, मंगलबारबाट शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको हो । जसमध्ये, ३ लाख ३७ हजार ५ सय ६५ कित्ता संस्थापक समूहको शेयर रहेको छ भने २ लाख ५२ हजार ४ सय ४९ कित्ता शेयर सर्वसाधारण समूहको रहेको छ।
लगानीकर्ताले आज असोज १३ गते मंगलबारदेखि असोज १९ गते सोमबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रति व्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।