काठमाडौं । राष्ट्रिय बीमा संस्थानले एकै महिनामा ३ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । सो मध्ये चार करोड प्रथम बीमा शुल्क हो भने तीन अर्ब २२ करोड रुपैयाँ नविकरण शुल्क हो । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान अन्य महिनामा निजि कम्पनी भन्दा पछाडि परे पनि साउन महिनामा भने सबैभन्दा अगाडि हुन पुगेको छ ।
राष्ट्रिय बीमा संस्थान साउन महिनामा नविकरण बीमा शुल्क संकलनको आधारमा प्रथम बन्न सफल भएको छ भने कूल बीमा शुल्कको आधारमा दोस्रो । सबैभन्दा ठूलो नेपाल लाईफले भन्दा धेरै नविकरण बीमा शुल्क उठाउन सफल भएपछि संस्थानप्रति आम सर्वसाधारण तथा सरकारी कर्मचारीहरुको विश्वास बढ्दै गएको देखिएको छ ।
संस्थानका अनुसार साउन महिना भएकोले यति धेरै बीमा शुल्क संकलन हुनुमा राष्ट्र सेवक कर्मचारीबाट एकै पटक बीमा शुल्क उठ्नु हो । संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकका अनुसार निजामति कर्मचारीको बीमा संस्थानमा गरिएको र उनीहरुको बीमा शुल्क एकै पटक साउनमा उठ्ने हुँदा धेरै देखिएको हो । प्रमुख प्रशासक पाठकले भने, ‘साउन महिना तीन अर्ब २२ करोड रुपैयाँ नविकरण बीमा शुल्क र चार करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छौं ।’
संस्थानका प्रमुख प्रशासक पाठकले भने ‘हामीले अन्य महिना यसरी व्यवसाय गर्न त सक्दैनौं, साउन महिना हाम्रो लागि विशेष हुने गर्दछ ।’ संस्थानका प्रमुख प्रशासक पाठकका अनुसार बीमा बचत भएकोले सरकारी कम्पनीप्रति आम सर्वसाधारणको विश्वास बढ्दै गएको बतउँछन् । सुरु सुरुमा बीमाबारे जनचेतना कम हुँदा थोरैले मात्र बीमा गराएको तर पछिल्लो समय बीमाको जनचेतना बढ्दै जाँदा मानिसहरुले भरपर्दो र विश्वासिलो कम्पनी खोज्न थालेकोले आगामी दिनमा संस्थानमा बीमा गर्नेको संख्या अझै बृद्धि हुने बताए ।
संस्थानले आगामी दिनमा बीमालाई प्रविधिमैत्री बनाएर अगाडि बढाउने योजनामा रहेको समेत जनाएको छ । लकडाउनको अवधीमा समेत कर्मचारी र अभिकर्ताहरु घरभित्रै बसेर जीवन बीमाको प्रचारमा जुटेको उनले बताए ।