काठमाण्डौ: सुचिकृत सम्पूर्ण सात जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । ७ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ धेरै सूचकमा अगाडी देखिन्छ । सम्पूर्ण सुचिकृत जीवन बीमा कम्पनीहरुलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :
चुक्ता पूँजीको आधारमा :
चुक्ता पूँजी सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ५० करोड रहेको छ । गुराँस लाइफ इन्स्योरेन्स बाहेक सबैले बीमा समितिले तोकेको २ अर्ब न्युनतम चुक्ता पूँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ । गुराँस लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ९४ करोड रहेको छ । गुराँस लाईफ इन्स्योरेन्सले पनि शत प्रतिशत हकप्रद शेयर बिक्री प्रक्रिया सम्पन्न गरे पश्चात कम्पनीको पुँजी १ अर्ब ८७ करोड पुग्ने छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निस्काशन गरेको थियो ।
जगेडा कोषको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोष सबै भन्दा बलियो छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब ५० करोड रहेको छ । त्यस्तै सबै भन्दा थोरै जगेडा कोषमा रकम गुराँस लाइफ इन्स्योरेन्सको रहेको छ। गुराँस लाईफ इन्स्योरेन्सको जगेडा कोषमा ३७ करोड ६५ लाख रुपैयाँ छ।
जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै बलियो छ। नेपाल लाइफको जीवन बीमा कोषमा ८७ अर्ब ०३ करोड रहेको छ । त्यस्तै सबैभन्दा थोरै जीवन बीमा कोषमा रकम सूर्या लाइफ इन्स्योरेन्सको रहेको छ। सूर्या लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ७ अर्ब ४३ करोड रुपैयाँ छ।
खुद बीमा शुल्क आर्जनको आधारमा :
खुद बीमा शुल्क आम्दानी लिँदा आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमाससम्मलाई आधार मान्दा नेपाल लाईफ इन्स्योरेन्सले २७ अर्ब ३४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ र सबैभन्दा थोरै खुद बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । गुराँस लाइफले २ अर्ब २० करोड मात्र खुद बीमा शुल्क आर्जन गरेको छ ।
खुद नाफाको आधारमा :
आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ५३ करोड ०४ लाख खुद मुनाफा गरेको छ त्यस्तै सबै भन्दा थोरै खुद मुनाफा गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । गुराँस लाइफ इन्स्योरेन्सले ९ करोड ५० लाख मात्र खुद मुनाफा गरेको छ।
प्रति शेयर आम्दानीको आधारमा:
प्राईम लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी सर्वाधिक १३ रुपैयाँ २२ पैसा रहेको छ भने सबैभन्दा थोरै एलआईसी नेपालको प्रति शेयर आम्दानी ५ रुपैयाँ ९५ रहेको छ। तर गुराँस लाईफ इन्स्योरेन्सको प्रतिशत हकप्रद शेयर प्रयोजनार्थ बुक क्लोज भएको अवस्थामा कम्पनीले पुरानै पुँजीको आधारमा प्रति शेयर आम्दानी गणना गरेको छ।
यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी रहेकाले खुद नाफा र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ । प्रति शेयर आम्दानी गणना गर्दा खुद मुनाफालाई शेयर संख्याले भाग गरिएको छ ।
किताबी मुल्यको आधारमा:
नेपाल लाइफ इन्स्योरेन्सको किताबी मूल्य सबैभन्दा धेरै १७३ रुपैयाँ ९२ पैसा रहेको छ।
नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !