काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटको प्रत्यक्ष असर नेपाली सुन बजारमा पनि देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबार तोलामा ६२०० मूल्य घटाएर प्रतितोला ९५ हजार ४०० मूल्य निर्धारण गरेको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपालमा पनि घटाइएको हो ।
नेपालमा मंगलबार १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको प्रतितोला सुनको मूल्य बुधबार एकैदिनको ९५ हजार ४०० मा झरेपछि सुन किन्न चाहनेहरु थप आशावादी भएका छन् । नजिकिँदै गरेको तिहारसँगै विशेषगरी महिलाहरु सुन किन्ने विषयमा निकै चिन्तित देखिएका थिए । तीन दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी मात्रामा गिरावट आइसकेको छ ।