काठमाडौं । आर्थिक बर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो निक्षेप १३ दशमलव ३ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १८ दशमलव १ प्रतिशतले बढेको छ । २०७७ जेठ मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८ दशमलव ७ प्रतिशत, ३२ दशमलव २ प्रतिशत र ४८ दशमलव२ प्रतिशत अंश रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ९ दशमलव२ प्रतिशत, ३२ दशमलव ५ प्रतिशत र ४७ दशमलव ६ प्रतिशत रहेको थियो । २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ प्रतिशत रहेको छ । २०७६ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४५ दशमलव १ प्रतिशत रहेको थियो ।