काठमाडौं । लकडाउनको अवधिमा १९ जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार चैत, बैशाख र जेठ गरी तीन महिनामा जीवन बीमा कम्पनीहरुले सो बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
हाल विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । १९ जीवन बीमा कम्पनीहरुले लकडाउनको अवधिमा जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन अनुसार लकडाउन अवधीमा बीमाशुल्क संकलनमा छुट समेत दिएका थिए । लकडाउन खुकुलो भएसँगै बीमाशुल्क संकलनमा छुट नदिने समितिले घोषणा गरिसकेको छ ।
लकडाउन अवधिभर सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले चैतमा ६५ करोड, बैशाखमा ५० करोड र जेठमा १ अर्ब ७२ करोड रुपैयाँ गरी कुल २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले लकडाउन अवधिमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ। बैशाखमा कुनै पनि बीमाशुल्क आर्जन नगरेको एलआईसीले चैतमा ७० करोड र जेठमा ३४ करोड गरी १ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै,नेशनल लाइफ इन्स्योरेन्सले चैतमा २२ करोड, बैशाखमा १० करोड र जेठमा ३४ करोड गरी कुल ७६ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ। युनियन लाइफ र एशियन लाइफले यस अवधीमा ५० करोड रुपैयाँभन्दा बढीको बीमाशुल्क आर्जन गरेका छन् ।
त्यसैगरी सन नेपाल लाइफ, प्रभु लाइफले र महालक्ष्मी लाइफले लकडाउन अवधिमा ८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।