बैंकका सहायक कम्पनीलाई शेयर ब्रोकरको काम गर्न दिने वा नदिने बारे अध्ययन गर्न अर्थ समितिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा उपसमिति बनाएको थियो र विभिन्न संचार माध्यमका अनुसार निकै छिटो सो उपसमितिले प्रतिवेदन सार्वजनिक गर्दैछ । वाणिज्य बैंकले भकाभक ब्रोकर कम्पनी खोली लाईसेन्स पाउने प्रक्रिया सुरु गरे पनि सो उपसमितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो ।
सामाजिक संजाल देखि चिया पसलसम्म वाणिज्य बैंकले ब्रोकर लाईसेन्स पाउने कुरा आउने वित्तिकै लगानीकर्ताको मुहारमा खुशी आउँछ । फेरी एक जनाले लगानीकर्ताले निराश हुँदै भन्छन् ” खोई वाणिज्य बैंकले कहिले लाईसेन्स पाउने पाउने ?” अर्को व्यक्तिले त्यसो भन्दा सम्पूर्ण माहोल नै निराश हुन्छ ! यसरी लगानीकर्ताहरु सांसद रामकुमारी झाँक्रीको प्रतिवेदनलाई कुरेर बसेका छन् । पानी बिनाका माछा जस्तै नेपाली दोश्रो बजारका लगानीकर्ताहरु कति बेला पानी आउँला भनेर बसेका छन् । अहिलेका लागि दोश्रो बजारका लगानीकर्तालाई पानी ल्याउने जिम्मा सांसद रामकुमारी झाँक्रीको हातमा रहेको छ।
धेरै लगानीकर्ताको अनुसार अहिलेको समयमा वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाए नेपाली दोश्रो बजार विकास र विस्तार हुन एउटा खम्बा हुन्थ्यो । पुर्व मेची देखि पश्चिम महाकालीसम्मका लगानीकर्ताले शेयर बजारको अनुभव सजिलै गर्न पाउँथे ।
आजको दिनमा के ब्रोकरहरु कम्पनीहरुले मात्र डिम्याट खाता खोल्ने सुविधा पाएको भए नेपाल भरिका जनताले सजिलै आफ्नो स्थानबाट डिम्याट खाता खोल्न पाउँथे र ? के जुम्ला, हुम्लाका व्यक्तिको प्राथमिक बजारमा प्रवेश हुन्थ्यो ? अवश्य हुँदैन थियो ! वाणिज्य बैंकका सहायक कम्पनीहरु मर्चेन्ट बैंकहरुले डिपी पाएर आज देशै भरिबाट डिम्याट खाता खोल्न सकिन्छ ।
त्यस्तै आज एक जना जुम्लाका व्यक्तिलाई शेयर बजारमा प्रवेश गर्न मन लाग्यो । प्राथमिक बजार त जुम्लाबाट पनि सम्भव छ तर त्यहाँका व्यक्तिलाई दोश्रो बजारमा प्रवेश गर्न मन लाग्यो भने के गर्ने ? उनीहरु त्यहाँबाट सुर्खेत आउँन पर्छ । सुर्खेत आउँन २ दिन लाग्ने र पहाडी जिल्लामा यात्रा गर्न निकै खर्च हुने ! कमसेकम वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाए भने त्यहाँ उपस्थित सम्बन्धीत वाणिज्य बैंकका शाखाले उनलाई अन्लाईन दिने व्यवस्था गर्न सक्छन । यसरी देश भर पुँजी बजारको विस्तार हुने छ ।
अहिले नेपाली दोश्रो बजार प्रविधिमैत्री छैन । बैंक खातालाई अनलाइन कारोवार प्रणालीमा जोड्न सकिएको छैन । वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाए दोश्रो बजारमा प्रविधि आउन सक्ने र लगानीकर्ताले केही राहत पाउने देखिन्छ । वाणिज्य बैंकले ब्रोकर लाईसेन्स पश्चात ब्रोकर व्यवसायमा प्रतिस्पर्धा हुँदै शेयर बजार आधुनिक हुने छ। ब्रोकर व्यवसाय एउटा नयाँ उचाईमा पुग्ने छ । जसको लाभ लगानीकर्ता देखि नेपाल राष्ट्रलाई हुने छ।
वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स यहाँ मात्र दिने भन्ने होइन संसार भरी नै यो चलेको चलन चलेको छ । छिमेकी मुलुक र दक्षिण एशियामै वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाएका उदाहरणहरु छन् । संसारमा नेपालमा मात्र बैंकले ब्रोकर लाईसेन्स पाउने देश होइन । वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने वा नदिने भन्ने कुरा नेकपाकी सांसद रामकुमारी झाँक्रीको प्रतिवेदनमा निर्भर हुने छ।
वाणिज्य बैंकले ब्रोकर लाईसेन्स पाएको दिन सामाजिक संजालमा खुशीको बहार आउने छ । चिनी नहालेको चिया पिउँदा पनि लगानीकर्तालाई चिया गुलियो लाग्ने छ। खुशीका आशु आउँने छन् । त्यो खुशीमा सबैले भन्ने छन् “धन्यवाद रामकुमारी झाँक्री ज्यु”।
१५ लाख लगानीकर्ता र निकट भविष्यमा आउने लगानीकर्ताले सांसद रामकुमारी झाँक्री प्रति हेर्ने नजर नै फरक हुन्छ । सांसद रामकुमारी झाँक्रीलाई नेपाली लगानीकर्ताले भगवानको अवतारको रुपमा हेर्ने छन् भने निकट भविष्यमा सम्पूर्ण लगानीकर्ताको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन पाउने कुरामा दुई मत छैन । पूर्व मेची देखि पश्चिम महाकालीसम्मका लगानीकर्ताले सांसद रामकुमारी झाँक्रीलाई समर्थन गर्ने छन्, जसले गर्दा पार्टी भित्र पनि एउटा बलियो नेताको रुपमा उभिन सजिलो हुने नै छ र राजनैतिक यात्रामा पनि केही सहयोग हुने नै छ। लगानीकर्ताले कतै सांसद रामकुमारी झाँक्रीलाई देखे भने खुशी हुँदै आफ्नो साथीलाई भन्ने छन् ” उहाँ बैंकलाई ब्रोकर लाईसेन्स दिने दिदी ! “