काठमाडौं । रामेछाप जिल्लाका मन्थली नगरपालिका–३ का सानु कुमार कार्कीले टाटा कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदीबाट बा५ख २८४४ नम्वरको गाडी निकालेर यातायात क्षेत्रमा स्वरोजगार बनेर जीविकोपार्जन गर्दै थिए । यसै क्रममा विश्वभरि फैलिएको कोरोना महामारीको प्रकोप नेपालमा समेत पर्यो र गत चैत्र १० गतेदेखि नेपाल सरकारले लामो दुरीका सार्वजनिक यातायातमाथि प्रतिबन्ध लगायो । उनको गाडी घरैमा थन्कियो ।
उता, गाडी किस्तामा दिने सिप्रदी ट्रेडिङले लकडाउनकै अवधीमा गाडीको किस्ता तिर्न तारन्तार दवाव दिइरह्यो । बैंकमार्फत ऋण लिईको नभई सिप्रदी ट्रेडिङबाटै किस्तामा लिएकोले बैंकले दिएको असार मसान्तभित्र साँवाब्याज तिर्न छुट उनले पाउने भएनन् । अन्ततः उनले किस्ता तिर्न नसकेपछि सिप्रदी व्यवस्थापनले कार्कीले चलाउँदै आएको बा५ख२८४४ नम्वरको गाडी नियन्त्रणमा लियो । लकडाउनका कारण गाडी चलाएर आम्दानी गरेर किस्ता तिर्न सक्ने अवस्था नभएको तथा किस्ता थपिदै धेरै भएपछि अन्ततः उनले जीवनदेखि हार खाए र असार ९ गते विहान करिब बजेको समयमा मनोहरा नदिमा हाम फाले । सोही दिन उनको शव नदि किनारामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सो घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
कोरोना महामारीको कारण जारी लकडाउनले सार्वजनिक यातायात धनीहरुको उठिबास मात्रै लागको छैन, आत्महत्या गर्न बाध्य पारेको घटना सार्वजनिक भएको छ । राजधानी काठमाडौंमै भएको सो घटनाले सिंगो यातायात क्षेत्रको प्रतिनिधित्व गर्ने यातायात मजदुर भलाई कोषका अध्यक्ष जीवन लामा बताउँछन् । सरकारले बैंकभन्दा बाहिरबाट किस्ता गाडी दिएका सबैलाई नियमनको दायरामा ल्याएर कुनै पनि स्वरोजगार मजदुर तथा उद्यमीले आत्महत्या गर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरेका छन् ।
पीडित कार्कीका परिवारले स्वतन्त्र रुपमा घटनाको छानविन गर्न र दोषीहरुमाथि कारवाही गर्न माग गरेको छ । लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि बनेका नयाँ कानुनमा आत्महत्या दुरुत्साहन मुद्दाको स्पष्ट व्यवस्था छ । आत्महत्या गर्न बाध्य पार्ने सिप्रदीमाथि आत्महत्या दुरुत्साहन मुद्दा लाग्छ कि पहुँचको भरमा उन्मुक्ति दिइन्छ यो भने प्रतिक्षाकै विषय बनेको छ । -तस्विरः गुगल (सांकेतिक तस्विर)