काठमाडौं । नागरिक लगानी कोषले साधारण सभा प्रयोजनका लागि असार १० गते बुक क्लोज गर्ने भएको छ । कोषले लाभांशसहित असार २० गते २५ औं वार्षिक साधारण सभा गर्ने भएको छ । सोही सभा प्रयोजनका लागि कोषले बुक क्लोज मिति तय गरेको हो ।
कोषले २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साथै बोनस पश्चात ८२ दशमलव ८४ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
कोषले असार १० गते गरेको बुक क्लोज हकप्रदको लागि भने मान्य हुने छैन । उक्त बुक क्लोज मिति भने लाभांश र साधारण सभामा सहभागी हुनका लागि मात्र लागू हुनेछ ।
कोषको वैशाख ३१ गतेको कारोबारमा अन्तिम शेयरमूल्य २ हजार २९६ कायम भएको छ । आकर्षक लाभांश सहित हकप्रदको प्रस्ताव गरेको कोषकोे शेयरप्रति लगानीकर्ताको आकर्षण बढ्ने देखिन्छ ।