काठमाडौं । युनिभर्सल पावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ४ करोड २३ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ४२ लाख ५७ हजार मात्र खुद नाफा गरेको थियो । ग
कम्पनीले हालसम्म विद्युत् विक्रीबाट आम्दानी नगरेपनि अन्य शिर्षकमा ६ करोड २० लाख ८९ हजार कुल आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष यो आम्दानी पनि ५ गुणाभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म उक्त कम्पनीले १ करोड १० लाख ७१ हजार कुल आम्दानी गरेको थियो ।
उक्त कम्पनीले दोलखा जिल्लास्थित खारे खोलामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।
साथै, उक्त कम्पनीले ४५ मेगावाट क्षमताको कुसुवा खोला जलविद्युत् आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौतासमेत गरिसकेको छ । हाल २ अर्ब १० करोड ३ लाख ५० हजार चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोष तथा सञ्चित नाफा ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ छ ।