काठमाडौं । नेपाल राष्ट्र बैंकको कोरोना महामारीको समयमा सर्वसाधारणमा त्रास फैलन सक्ने निर्णय गरेको छ । मुद्रा व्यवस्थापन विभागले हालै जारी गरेको परिपत्रको बुँदा नं ७ मा पूर्व राजा ज्ञानेन्द्र शाह वा बीरेन्द्र शाहको फोटो भएका नोटहरु चलन चल्तीमा नपठाउन निर्देशन जारी गरिएको छ । यस्तो निर्देशनसँगै पूर्व राजाको फोटो भएका नोट घरमा राखेका सर्वसाधारणहरु भने नोट खोटा हुनसक्ने भन्दै त्रासमा परेका छन् । यद्यपि नेपाल राष्ट्र बैंकले भने पूर्व राजाको फोटो भएका नोटहरु बैंकमा जम्मा गर्न सक्ने प्रष्ट पारेको छ ।
यस्तो निर्देशनसँगै कोरोना महामारीका कारण न्यून कर्मचारीबाट काम गराउँदै आएका बैंकहरुलाई नोट छनौट गर्ने थप कामको भार परेको छ । यसअघि थात्रो, झुत्रो नोट मात्रै छान्नुपर्नेमा अब नोट राम्रोसँग नियालेर हेर्नुपर्ने थप झन्झट बढेको एक बैंककाले अधिकारीले बताए । यसले महाविपत्तिमा कामको थप चाप बढ्ने बैंकहरुले जनाएका छन् ।
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देश्क विश्रुत थापाले हस्ताक्षर गरी आज जारी निर्देशनमा नोटलाई एटिएम मेशिन तथा काउन्टरबाट सेवाग्राहीलाई दिनु अघि डिसइन्फेक्सन गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै अब हरेक बैंकले नोटलाई चलनचल्तीका लागि योग्य भए हरियो र चलनचल्तीका लागि अयोग्य भए रातो क्लीपले बाँधेर राख्न समेत निर्देशन दिएको छ ।