काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गरेको एक अर्ब ६० करोड रुपैयाँको आईपिओ नेप्सेमा सूचिकरण अन्तिम चरणमा पुगेको छ । पुनर्बीमा कम्पनीका अनुसार सबै प्रक्रिया सकिएर नेप्सेमा दर्ता गर्ने तयारी पूरा भएको छ ।
नेपाल स्टक एक्सचेन्जमा बुझाउनुपर्ने शुल्क डिजिटल भुक्तानीको माध्यमबाट गर्न नसक्दा आईपिओ सूचिकरणमा ढिलाई भएको हो । पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीका अनुसार आइतबार पुनर्बीमा कम्पनीमा सूचिकरणको लागि दर्ता गरिनेछ ।
आइतबार दर्ता भएपछि सिडिएससी र नेप्से तथा नियमनकारी निकायले प्रक्रिया पूरा गरेपछि सूचिकरण हुनेछ । पुनर्बीमा कम्पनीले गरेको तयारी हेर्दा लकडाउन अवधीभित्रैमा सूचिकरण हुने देखिएको छ । चैत्रको पहिलो साता आह्वान गरेको आईपिओ चैत्र २६ गते बाँडफाँड गरेको थियो । सूचिकरण भएपछि आईपिओको बिक्री सुरु हुनेछ ।