काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको निर्देशन बमोजिम आयइबारदेखि सबै शाखा कार्यालयहरु सुचारु राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले एक तिहाई कर्मचारीमार्फत सुरक्षाका प्रबन्धहरु अपनाएर सेवा प्रवाह गर्न क, ख, ग र घ बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले शुक्रबार एक निर्देशन जारी गर्दै बैंकमा एक चौथाई सवारी साधनको लागि पासका लागि राष्ट्र बैंकमा सम्पर्क गर्न समेत भनिएको छ । प्रधान कार्यालयले आफ्ना शाखा कार्यालयहरुका लागि आवश्यक पास माग गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै केन्द्रीय बैंकले बैंकिङ सेवामा विद्युतीय कारोबारलाई प्रोत्साहन दिन समेत आग्रह गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदको बुधबार बसेको बैठकले शुक्रबारदेखि लकडाउन खुकुलो पार्ने निर्णय गर्दै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, धितोपत्र कम्पनीहरु आंशिक सुचारु गर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिमा शुक्रबार केही बैंकहरुले सबै शाखा सुचारु राखेको भएपनि थुप्रैले पूर्ववत सीमित शाखा मात्रै सञ्चालन गरेका थिए ।