काठमाडौं । कोरोना महामारीमा जनतालाई राहत दिन ल्याइएको कोरोना बीमा पोलिसी खरिद गर्ने बीमितको संख्या ४० हजारभन्दा बढि रहेको छ । देशैभरिका सर्वसाधारणले एक लाख रुपैयाँ र ५० हजार रुपैयाँको कोरोना बीमा पोलिसी खरिद गरेका छन् ।
नेपाल बीमक संघको पुलमार्फत अघि बढाइएको कोरोना बीमा पोलिसी खरिद गर्नेको संख्या हिजो ४० हजार नाघेको हो । कोरोना बीमा पूलमा संकलन भएको ३९ हजार ४१५ जना र राष्ट्रिय बीमा कम्पनीले बीमा गराएको एक हजार भन्दा बढि पोलिसी सहित कूल कोरोना बीमा पोलिसी खरिद गर्नेको संख्या ४० हजार नाघेको हो ।
बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार बुधबारसम्ममा दुई करोड १४ लाख भन्दा बढिको कोरोना बीमा पोलिसी बिक्री भइसकेको छ । उल्लेखित तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीको समेत थप गर्दा बीमा शुल्क आम्दानी करिब साढे दुई करोड हाराहारीमा छ । बधुबार मात्रै दुई हजार एक सय जनाले कोरोना बीमा गराएर ११ लाख रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन भएको बीमा पुलले जनाएको छ ।