IME Life New
GBIME

२०७६ सालमा नेपाली बीमा क्षेत्रलाई फर्केर हेर्दा

SPIL
NLIC

 

Crest

काठमाडौं । नेपाली बीमा क्षेत्रको लागि २०७६ सालको पहिलो दिन बैशाख १ गते त्यति सुखद नरहे पनि सिंगो वर्ष भने कोशेढुंगा बन्न सफल हुन पुगेको छ । २०७६ साल आज मध्यराति देखि सकिदैछ । २०७६ सालः पहिलो दिन अर्थात २०७६ बैशाख १ गते लुक्लामा हवाई दुर्घटनाबाट सुरु भएकोमा आज अन्तिम दिनसम्म आईपुग्दा विश्वभरि फैलिएको कोरोनाको महामारीले नेपालमा के हुने हो ? भन्ने अन्योलताका बीच गुज्रिएको छ । यो अन्योलताको नतिजा बाहेक समग्रमा २०७६ साल बीमा क्षेत्रका लागि निकै सफल र नयाँ युगको सुरुवात गर्ने साल बन्न सफल भएको छ । पुनर्बीमा कम्पनीको प्रगति, पुँजि बृद्धि, बीमाको पहुँच बृद्धि आदि घट्नाले नेपाली बीमा क्षेत्रमा ऐतिहासिक छाप छोड्न सफल भएको छ २०७६ साल ।

नेपालमा बीमाको इतिहास झण्डै पौने सय वर्ष हाराहारी छ । पछिल्लो ७० वर्ष बीमाको पहुँच कहिले पनि कूल जनसंख्याको ९ प्रतिशत भेट्टाउन सकेन । तर, २०७६ साल एक्कैले कूल जनसंख्याको ९ प्रतिशतले बृद्धि अर्थात बीमाको पहुँच गत आर्थिक वर्ष १७ बाट २६ प्रतिशत पुगेको छ । २०७६ सालमा नेपाली बीमा क्षेत्रले हासिल गरेको ऐतिहासिक प्रगति मान्नै पर्छ ।

बीमा समितिले नयाँ कम्पनी दर्ताको अनुमति दिएका कारणले थप भएका १० वटा नयाँ कम्पनीले देशैभरि सञ्चालन गरेका बीमा जागरण अभियानबाट बीमा क्षेत्रले २०७६ सालमा ऐतिहासिक प्रगति हासिल भएको मान्न सकिन्छ । कम्पनीहरुले अभियानको रुपमा अभिकर्ता प्रशिक्षण, तालिम, बीमा समितिले चलाएको बीमा जागरण अभियानबाट बीमा क्षेत्रले यो सफलता हासिल गरेको हो । भारतमा करिब १ प्रतिशत रहेको बीमाको पहुँच नेपालमा चौथाई नाघ्नु नेपाली बीमा क्षेत्रकै लागि खुशीको कुरा हो ।

२०७६ सालमा नेपाली बीमा क्षेत्रले आफ्नो कोषमा पुग नपुग तीन खर्ब रुपैयाँ जम्मा गरेर राज्यका लागि लगानी स्रोत जुटाउन सफल भएको छ । यसबाट राज्यले आर्थिक विकासमा पुँजि परिचालन गर्दै ठूलो लाभ लिन सक्ने सम्भावना तर्फ अघि बढेको छ । निर्जिवन बीमातर्फ अनिवार्य र बैंकको ऋण लिनका लागि मात्रै गरिने बीमा विस्तारै जनताको तहसम्ममा पुगेर जनताको दैनिकीसँग जोडिन थालेको छ । किसानका कुखुरा, बाख्रा, भैसी मात्रै नभई खेतबारीमा लगाएको बाली समेतमा बीमाका पहुँच बृद्धि हुनुले नेपाली बीमाका लागि २०७६ साल एउटा सुखद, खुशी र आशाको सञ्चार गर्न सफल वर्ष रह्यो ।

२०७६ सालले घुम्तीबीमामार्फत न्यून आएका मानिसलाई समेत बीमाको दायराभित्र ल्याउन सफल मात्रै भएन लघुबीमालाई लघुवित्त कम्पनी, बैंक तथा सहकारीमार्फत प्रवाह हुने ऋणको जोखिम वहन गर्ने एउटा साधन समेत बनेर राष्ट्रको सर्वाङ्गिण विकासमा बलियो पिल्लर बन्ने लामो दौडमा सहभागी हुन पुगेको छ ।

२०७६ सालमा बीमा क्षेत्रले सम्झनै पर्ने प्रगति नेपाल पुनर्बीमा कम्पनीले गरेको छ । विश्वका ३० राष्ट्रमा व्यापार सञ्जाल विस्तार गरी २८ राष्ट्रबाट करोडौं रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल हुनु सेवा क्षेत्रमा भारत जान नकेका नेपाली कम्पनीहरुको लागि आकाशको फल जस्तै हुन आएको छ । नेपाली पुनर्बीमा कम्पनीले गरेको यो प्रगति २०७६ सालका लागि एउटा कोशेढुंगा सावित भएको छ ।

२०७६ सालले केही विकृति, छुट्ट्राछुट्टै नाम र निकायको नाममा बीमा गर्ने सरकारी तथा सरकार संरक्षित संस्थाको प्रवृत्तिलाई रोक्न नसक्नु र बीमा कम्पनीहरुको गल्तीमा कडा दण्डित गर्नुको साटो सुध्रने मौका दिएर नियमन कमजोर बनाउने कार्यहरु पनि नभएका होइनन् । कोरोना महामारीमा बीमा क्षेत्रमा बीमित तथा बीमा कम्पनीहरुलाई प्रभावकारी राहत घोषणा गर्न भने २०७६ साल सफल भएन । यद्यपि यसले दीर्घकालिन रुपमा पार्ने प्रभावको सम्बन्धमा केही वर्ष प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

२०७६ सालमा बीमा क्षेत्रले के पायो ?
बीमा क्षेत्रले २०७६ सालमा आर्थिक, जनशक्ति, स्रोत साधन, जनता र सरकारको विश्वास सबै कुरा प्राप्त गर्न सफल भएको छ । जीवन तथा निर्जिवन बीमा कम्पनीहरुको आर्थिक कारोबार उल्लेख्य बृद्धि भएको छ । नेपालमा दर्ता भएका ३७ वटा जीवन, निर्जिवन र पुनर्बीमामा कूल लगानी करिब ६८ अर्ब पुगेको छ । लगानीको हिसाबले पनि नेपाली बीमा क्षेत्र विस्तारै बलियो बन्न सफल भएको छ ।

देशको अर्थतन्त्रमा योगदान पुर्याउने ठूलो क्षेत्र बीमा हुन पुगेको छ । बीमाको नाममा सर्वसाधारणले बचत गरेको रकम सम्बन्धीत कम्पनीले कोषमा जम्मा गरेका हुन्छन् । त्यस्तो कोषमा हालसम्म जम्मा भएको रकम तीन खर्ब पुग्न लागेको छ । यो नेपालको कूल ग्राहस्थ उत्पादनमा देखिने गरी योगदान मान्नुपर्ने हुन्छ । यति ठूलो पुँजि निर्माण भएको छ, राज्यले सही सदुपयोग गर्ने हो भने आर्थिक समृद्धिका लागि बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउन सकिने वर्ष यो वर्ष बन्न सफल भएको छ ।

यसै वर्ष बीमा समितिले सुविधा सम्पन्न भवन बनाउने प्रक्रिया अघि बढाएको छ । अत्याधुनिक भवनबाट स्रोत साधनसहित बीमा नियमन साँच्चै प्रभावकारी हुने विश्वास गर्न सकिन्छ । जीवन बीमक संघ थप भएको छ । नेपाली जीवन बीमा कम्पनीहरुको साझा हितका लागि शिवनाथ पाण्डेको नेतृत्वमा गठन भएको जीवन बीमक संघ यसै वर्ष दर्ता भएको हो । नेपालमा पहिलो पटक साढे १७ लाख जनताको बीमा गर्ने सम्बन्धी सम्झौता यसै वर्ष भयो । नेपालको बीमा इतिहासमा यो पनि नयाँ सम्झौता हो ।

बैदेशिक रोजगार म्यादी बीमा पुलमार्फत सञ्चालन गरेर नेपालका बीमा कम्पनीहरु प्रतिस्पर्धी मात्रै छैनन्, राज्यले अनिवार्य गरेका बीमा क्षेत्र सबैमा समानुपातिक रुपमा व्यवसाय सञ्चालन गर्छौ भन्ने सन्देश समेत दिन सफल भएको छ । तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गरी नेपाली बीमा क्षेत्रले सामूहिक जोखिम वहन र सामूहिक व्यवसायको नीतिलाई अंगाल्न सक्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएका छन् । हेर्दा सामान्य घटना भएपनि यसले दीर्घकालिन रुपमा नेपालको बीमा क्षेत्रमा ठूलो प्रभाव पार्न सक्ने देखिन्छ ।

२०७६ सालमा बीमितिले के पाए ?
२०७६ सालमा बीमा समितिले गरेको प्रभावकारी नियमनका कारण बीमितलाई समेत थुप्रै लाभ मिल्न पुगेको छ । यद्यपि अझै अर्पाप्त भने छैन । दावी भुक्तानी प्रक्रियालाई सरल र पद्धतिसँगत रुपमा हुनुपर्ने भन्दै बीमा समितिले निर्देशिका नै जारी गरेर थप सहज र सरल बनाई दिएको छ । साथै दावी भुक्तानीको लागि समय सीमा तोकिएको छ । जीवन, निर्जिवन बीमाहरुको दावी भुक्तानीमा अब ढिलाई गरे बीमा समितिको नियमनमा पर्नसक्नेछन् ।

त्यस्तै, घुम्ती बीमा सेवा र लघु बीमा सेवामार्फत जनताको घरदैलोमा नै बीमा पुग्न सफल भएको छ । बीमा गर्नका लागि अभिकर्ता वा कम्पनीमा पुग्नुपर्ने अवस्थालाई अन्य गर्दै गाउँघरमा सञ्चालित महिला समुह तथा घुम्ती बीमामार्फत न्यून आय भएका जनताले सजिलै बीमा सेवा प्राप्त गर्न सक्ने भएका छन् । यो बीमितले प्राप्त गरेको एउटा लाभ नै हो । यद्यपि निर्जिवन बीमा अन्तर्गत कृषि बीमाका लागि अझै धेरै झण्झटहरु व्यहार्नु परेको गुनासोहरु आइरहेका छन् । आगामी दिनमा विस्तार हटेर जाने विश्वास गर्न सकिन्छ । म्यादी जीवन बीमाको शुल्क विदेशमै बसेर अनलाईनमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा पनि यसै वर्ष थप भएको छ ।

२०७६ सालमा बीमा क्षेत्रले के गुमायो ?
हुन त बीमा भनेकै अनुमान नगरिएको जोखिमको भार बीमा कम्पनीलाई सम्पनु हो । तर पनि २०७६ सालमा नेपाली बीमा क्षेत्रले केही ठूला दावी भुक्तानीमार्फत आर्थिक क्षति व्यहोरेका छन् । बैशाख १ गते भएको सोलुको हवाई जहाज दुर्घटना, साउन २२ गते काठडमाडौंको बालुवाटारस्थित सुविसु केवलनेटमा भएको ठूलो आगोलागी, भदौं ३ गते गोदावरीमा भएको चिजबल उद्योगमा भएको आगोलागी लगायतका घट्नामा ठूलो क्षति व्यहोर्नुपरेको छ ।

बीमा क्षेत्र सचेत हुनुपर्ने वर्षको रुपमा २०७६ ले एउटा पाठ सिएको छ । सगरमाथा इन्स्योरेन्सको चरिकोटस्थित शाखा कार्यालय नै उद्योग बाणिज्य संघको आह्वानमा बन्द गरियो । मागेजति बीमा दावी भुक्तानी नपाएको भन्दै त्यसरी बीमा कम्पनीको शाखा नै बन्द गरिनु बीमा क्षेत्रमाथि आईपर्न सक्ने नयाँ चुनौतिको रुपमा यस घटनालाई लिनुपर्ने कुरा सिकाएको छ ।

नेपाल बीमक संघको वेभसाईट डोमेन शुल्क भुक्तानी नगर्दा संघले सो साईटमाथिको स्वामित्व नै गुमाउनु परेको छ । नेपाल बीमक संघको सूचना प्रविधिको कोणबाट यो वर्ष कालो वर्ष हुन पुग्यो ।

बीमा समितिले केही गलत अभ्यासलाई कडा कारवाही गर्न नसक्दा २०७६ साल नियमनको दृष्टिकोणबाट अझै मेहनत गर्नुपर्ने देखिएको छ । बीमा कम्पनीहरु स्वच्छन्द हुने हो कि भन्ने चिन्ता यो वर्ष थपिएको छ । त्रुटीपूर्ण बीमा पोलिसी जारी गर्ने कम्पनीमाथि कारवाही गर्न बीमा समितिले सकेन । आगामी दिनमा कुनै पनि कम्पनीले त्यस्तो गल्ती नदोहोर्याउन र निमनकारी निकाय बीमा समितिले कसैलाई छोड्दैन भन्ने सन्देश दिन पनि दण्ड सजाय सम्बन्धी बीमा ऐनको दफाहरु टेकेर कारवाही गर्नुपर्नेमा गल्ती सच्याउने मौका दिइएको भन्दै माफी दिइयो, जुन आगामी दिनमा महंगो सावित हुन सक्दछ । यो घटना समग्र बीमा क्षेत्रको समृद्धिका लागि एउटा क्षति नै हो ।

नीतिगत सुधारहरु कस्ता कस्ता भए ?
२०७६ सालमा बीमा ऐन २०७५ को मस्यौदा संसदबाट पारित भई शक्तिशाली बीमा प्राधिकरणमार्फत बीमाको नियमन हुने आशा गरिए पनि त्यो पूरा भएन । संसदबाट उक्त विधेयक पास नहुँदा बीमा समितिले निरन्तरता पाएको छ । यद्यपि बीमा ऐन अब भने अघि बढिसकेको छ । कोरोनाको महामारी सकिएपछि बीमा ऐनले पुनः गति लिने विश्वास गर्न सकिन्छ ।

२०७६ सालमा बीमा समितिले नियमनको क्रममा विगतका भन्दा धेरै नै नीतिगत सुधारको प्रयास गरेको देखिन्छ । बैशाख १५ गते बीमा कम्पनी गाभ्न र गाभिने सक्ने सम्बन्धी निर्देशिका जारी गरेर बीमा कम्पनीहरु आपसमा मर्जरमा जाने सक्ने बाटो खुल्ला गरेको थियो । यद्यपि कतिपय नयाँ कम्पनीहरुले आईपिओ समेत जारी नगरेको अवस्थामा मर्जरले नतिजा दिन सकेन । केही कम्पनीहरुका बीचमा छलफल भएपनि ति कम्पनीका मर्जर प्रक्रियाले कुनै गति लिन सकेनन् ।

त्यस्तै, बीमा समितिले भदौं ९ गते नयाँ निर्देशिका जारी गर्दै वित्तीय स्वार्थ सम्बन्धी परिभाषालाई एकरुपतामा ल्याएको छ । त्यस्तै, सरकारले बजेटमा व्यवस्था गरे अनुसार सबै बीमा कम्पनीहरुले स्थायी लेखा नम्वर अनिवार्य रुपमा लागू गर्ने सम्बन्धमा बीमा समितिले कम्पनीहरुलाई निर्देशन दिएको थियो । बीमा सम्बन्धी भ्रम सिर्जना गर्ने शब्द प्रयोग नगर्न समेत बीमा समितिले निर्देशन दिएको छ भने बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी नयाँ निर्देशिका जारी गरेर वित्तीय विवरण तयार गर्न अझै सरल बनाईदिएको छ ।

असोज ५ गते म्यादी बीमा पुलमार्फत सञ्चालन गर्ने कम्पनीहरुलाई अनलाईनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । यसबाट विदेशमा बसेका युवाहरुले सजिलैसँग बीमा नविकरण गर्न पाएका छन् । त्यस्तै, शहिद परिवारका लागि दुर्घटना बीमालेख जारी गर्ने सम्बन्धमा असोज ७ गते निर्देशन जारी गरेको छ । त्यसैगरी, सहकार्यमा बीमा सेवा प्रवाह गर्दा अपनाउनुपर्ने न्यूनतम कुराहरु लागू गर्ने सम्बन्धमा मंसिर २५ मा नयाँ निर्देशन दिएर बीमा समितिले बीमालाई अझै प्रष्ट पारेको छ ।

यसैवर्षबाट लघुबीमा निर्देशिका २०७६ लागू भएको छ । यसले लघुबीमालाई अझै सरल र सहज बनाईदिएको छ । जोखिम व्यवस्थापन सम्बन्धी नयाँ निर्देशन जारी गरेर बीमा समितिले नियमनलाई अझै व्यवस्थित बनाएको छ । त्यस्तै, बीमकको सूचना प्रविधि सम्बन्धी मार्गदर्शन जारी गर्दै बीमालाई सूचना प्रविधिको माध्यमबाट सर्वसाधारण माँझ पुर्याउन भूमिका खेलेको छ । त्यस्तै फागुन १४ मा दावी भुक्तानी निर्देशिका जारी गरेर बीमा समितिले बीमितलाई सहज र सरल तरिकाले दावी भुक्तानी लिन सक्ने बनाई दिएको छ ।

चैत्र ६ गते हाल विश्वभर महामारीको रुपमा फैलिएको कारोना महामारीको समयमा पनि बीमा कम्पनीहरुलाई कार्यालय सञ्चालन नगरी डिजिटल कार्यालयमार्फत काम गर्न निर्देशन दिएर अप्ठेरो अवस्थामा पनि सम्पर्क कायम गर्न सक्ने माध्यम खडा गरिदिएको छ ।

फराकिलो प्रगति, सामान्य खालका क्षतिका बीच २०७६ साल नेपाली बीमा क्षेत्रका लागि ऐतिहासिक र नयाँ आशाको सञ्चार गर्न सफल भएको छ । आर्थिक समृद्धिका लागि दरिलो पिल्लर खडा गरिदिएर नेपाल सरकार, लगानी अनुसारको मुनाफा आर्जन गरेर लगानीकर्ता, बीमा व्यवसाय गुल्जार बन्ने सम्भावनातर्फको यात्रा तय गरेर सिंगो बीमा कर्मचारी तथा दावी दावी भुक्तानी अझै सरल र सहज बनाएर बीमितहरुको लागि २०७६ साल नयाँ आशाको सञ्चार गर्न सफल भएको छ ।

सीमित मात्रामा कभरेज हुने बीमाका समाचार आजकल मूलधारका छापा, टेलिभिजन तथा अनलाईनहरुमा प्रकाशित हुन थालेका छन् । बीमा क्षेत्रका हरेक गतिविधिहरु समाचार बन्न थालेका छन् । बीमा समितिका पदाधिकारी, कम्पनीहरुका सिईओ, अन्य उच्च पदस्थ कर्मचारीदेखि अभिकर्तासम्म सञ्चार माध्यमको दायरामा आउनु २०७६ सालमा बीमा क्षेत्रले हरेकलाई छुन खोजेको निष्कर्ष निकाल्न सकिन्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS