काठमाडौं । सरकारले विदेशबाट नेपाल फर्केर आएका जोसुकैले अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने र क्वारेन्टाईनमा नबसी लुकिछिपी हिड्नेहरुलाई कैद सजायको व्यवस्था गर्ने तयारी गरेको छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकमा सो छलफल भएको हो । सो विषयमा विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।
समाचार स्रोतले आजको बैठकमा विदेशबाट नेपाल आएर सरकारको सम्पर्कमा नआउने तथा क्वारेन्टाइनमा समेत नबस्नेलाई एक महिना देखि छ महिनासम्म कैद गर्ने संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कैद सजायको व्यवस्था गर्ने विषयमा छलफल भएको र सो सम्बन्धमा आजै बस्ने मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने जनाइएको छ ।
यसैबीच, नेपालको एक मात्र अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । यसअघि चैत्र १८ गतेसम्म मात्रै रहेको प्रतिबन्ध थपिएको हो ।