काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरणपछि ३० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले बोनस शेयर र हकप्रद जारी गर्न चैत २० गते साधारणसभा आह्वान गरेको छ ।
उक्त सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७.१० प्रतिशत बोनस शेयर र सो बोनसको कर प्रयोजनका लागि ०.९० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
यस्तै, सभामा बैंकले बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै बैंकले अन्य उपयुक्त प्रकृया अघि बढाउनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत अघि बढाउने भएको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले चैत ७ गतेदेखि बुकक्लोज गर्ने भएको छ । जसका लागि चैत ६ गते बिहीबारसम्म कायम बैंकका शेयरधनीले मात्र साधारणसभामा सहभागी हुन पाउने छन् ।