काठमाडौं । बीमा समितिले सुदुरपश्चिमका भारतीय सीमा क्षेत्रमा होर्डिङ बोर्ड स्थापना गरेको जनाएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले धनगढी, महेन्द्रनगर लगायतका स्थानमा राखिएको होर्डिङ बोर्ड उद्घाटन गरेका हुन् ।
सीमा क्षेत्रमा भारतीय बीमा कम्पनीका एजेन्टले नेपालीहरुलाई अबैध रुपमा बीमा गराएको भन्नै सूचनाको आधारमा बीमा समितिले तीन महिनादेखि सीमा क्षेत्रमा होर्डिङ बोर्ड राख्ने अभियान सुरु गरेको थियो ।
समितिले यसअघि जनकपुर, बीरगन्ज, भैरहवा, काँकडभिट्टा लगायतका क्षेत्रमा होर्डिङ बोर्ड स्थापना गरी बीमाबारे जनचेतना अभियान चलाउँदै आएको छ । सुदुरपश्चिमका सीमा क्षेत्रमा समेत होर्डिङ बोर्ड राखिएपछि अब भारतीय सीमा क्षेत्रमा होर्डिङ बोर्ड लगाउने काम लगभग सकिएको छ ।
होर्डिङ बोर्डमा जीवन बीमाबारे जनचेतना जगाउनुको साथै नेपाली कम्पनी तथा बीमा समितिबाट स्वीकृत प्राप्त कम्पनीमा मात्रै बीमा गर्न सन्देश प्रवाह गरिएको छ ।