काठमाडौँ । आफूलाई नेपालको पहिलो बैंकको रुपमा कायम रहन संघर्ष गरिरहेको नबिल बैंक लिमिटेडले देशका विभिन्न स्थानमा २३ वटा नयाँ शाखाको उद्घाटन गरेको छ ।
बैंकले प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाटमा र प्रदेश २ मा मिर्चैया, गोलबजार, सिराहा र चन्द्रपुरमा शाखा बिस्तार गरेको सो बैंकले जनाएको छ । त्यसैगरी बागमति प्रदेश अन्तर्गत राजधानीको कमलबिनायक, हात्तिगौडा, कपन, धादिङको गजुरी, काभ्रेको बनेपा र पनौती र चितवनको पर्सामा नयाँ शाखाहरु सुरुवात भएका छन् । गण्डकी प्रदेशमा गैडाकोट, दलदले र कावसोतीमा शाखा उद्घाटन गरी सेवा शुरु गरेको हो ।
ठूलो संख्यामा शाखाहरु सुरुवात गरेको बैंकले प्रदेश ५ मा चन्द्रौटा, बर्दाघाट र मणिग्राम शाखा सञ्जाल बिस्तार गरेको बैंकले जनाएको छ । सन् १९८४ देखि नेपालमा बैंकिङ कारोबार गर्दै आएको बैंकको कूल १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।