काठमाडौं । दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मिर्मिरे लघुवित्त र समता लघुवित्तको लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।
मिर्मिरे लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्नेछ । यस अनुसार लघुवित्तको लाभांश आजसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन ।
सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४५ प्रतिशत बोनस शेयर वितरण गर्ने, बोनस शेयरको कर प्रयोजनको लागि २.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
समता लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्नेछ। पुस १८ गते शुक्रबार भएका कारण आज बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो ।
लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा आह्वान गरेको छ । लघुवित्तको छैठौँ वार्षिक साधारण सभा होटल इच्छा प्रालि, सिमरामा दिउसो १ बजे शुरु हुने जनाइएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद शेयर पूँजीकरणपश्चात कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।