काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थायी अशक्त भएका बीमितको बीमा शुल्क छुट गरेको छ । एशियन लाइफ इन्स्योरेन्स जावलाखेल शाखाबाट बीमा गरेका गोदावारी ४ का बीमित रगिंला लामा दुर्घटनाबाट स्थायी अशक्त भएपछि निजलाई बीमा शुल्क छुट र मासिक आय भुक्तानी गरेको जनाएको छ ।
कम्पनीले निजलाई ३०/०४/२०१९ देखि ३०/११/२०१९ सम्मको प्रति २८ सय ८ का दरले जम्मा ८ महिनाको मासिक आय भुक्तानी वापत २२ हजार ६४० रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ । उक्त चेक बीमितको गोदावारीस्थित घरमै गई वडा कार्यालयका प्रतिनिधि तथा जावलाखेल शाखाका मार्केटिङका कर्मचारी र शाखा प्रबन्धक कौशिला कडेलले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
बीमितले ५ लाख बीमाङ्कको १५ वर्षे अवधिको बीमा गरेकोमा वार्षिक १ किस्ता वापत ३४ हजार ३९४ मात्र बुझाएको कम्पनीले जनाएको छ । बीमितको २०७६ साल बैशाख १६ गते रुखबाट लडेर दुर्घटनामा परि ढाडको नशा चुडिएर स्थायी अशक्त भएको हुँदा सो बीमालेख अन्तरगत बीमा अवधि समाप्त नभएसम्मको लागि कुनै पनि बीमा शुल्क भुक्तानी गर्नु नपर्ने कम्पनीले जनाएको छ ।
साथै, बीमिलाई १४ महिनासम्मको बीमाशुल्क छुट दिएको जनाएको छ । उक्त बीमितलाई प्रत्येक महिना २८ सय ८ रुपैयाँका दरले मासिक आय बीमा अवधिभर भुक्तानी गर्ने जनाएको छ ।