राजुरमण पौडेल, कार्यकारी निर्देशक, बीमा समिति
बीमा समिति, बीमा ऐन २०४९ बमोजिम गठन भएको समग्र बीमा क्षेत्रको नियमनकारी निकाय हो । बीमा प्रशासनलाई स्थायी बीमा नियमन संरचनाको रुपमा समेत हेरिन्छ । २५ वर्षभन्दा लामो बीमा अनुभवले खारिएका राजुरमण पौडेल बीमा समितिको कार्यकारी निर्देशक छन् । बीमाको पहुँच बृद्धि तथा बीमाको फराकिलो दायरालाई संस्थागत गर्न बीमा जनचेतना र कम्पनीले दावी भुक्तानी सरल र छरितो बनाउने दुई मुख्य कार्यभारमा केन्द्रीत भएका बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँग इन्स्योरेन्स खवरले गरेको अन्तर्वार्ताको सारसंक्षेपः
बीमाको पहुँच विस्तारै गाउँघरमा पुग्न थालेको छ । बीमा समितिले बीमाको पहुँच २५ प्रतिशत पुग्यो भनिरहेको छ, यसलाई बीमा समितिले कसरी हेरेको छ ?
– बीमाको ७० वर्ष लामो इतिहासलाई हेर्दा र समिक्षा गर्दा तीन वर्षअघिदेखि बीमा समितिले फड्को मार्न थालेको हो । हामीलाई बीमाको सुनौलो युगको सुरुवात भएको झै लागिरहेको छ । यसबीचमा बीमा क्षेत्रले कसैले पनि नसोचेको उपलब्धी हासिल गरेको छ । बीमा समितिको प्रभावकारी नियमन र बीमा कम्पनीहरुको इमान्दार कार्यान्वयनले यो उपलब्धी सम्भव भएको हो । यसबीचमा बीमाको पहुँचमा बृद्धि मात्रै होइन, बीमाको दायराबृद्धि र फराकिलो भएकोले बीमा क्षेत्र आर्थिक क्षेत्रको एउटा महत्वपूर्ण अंगको रुपमा अघि बढ्छ भनेर विश्वासयोग्य हुन पुगेको छ । हामीले यसलाई एउटा महत्वपूर्ण सफलताको रुपमा लिएका छौं ।
यति ठूलो उपलब्धीबारे बताइरहँदा प्राप्त उपलब्धीलाई संस्थागत गर्ने र आगामी दिनमा पनि यहि गतिको बृद्धिदर हासिल गर्नका लागि योजना बनाउनु भएको छ ?
– बीमा मानव जीवनको अभिन्न अंग हो । बीमाको बृद्धिका लागि प्रचार प्रसारमा सबैभन्दा बढि ध्यान दिनुपर्ने हुन्छ । प्रचार प्रसार लगायत बीमा कम्पनीहरुले दावी भुक्तानीमा पनि फोकस गर्नुपर्ने हुन्छ । त्यसकारण हामीले दुवै कुरालाई उत्तिकै रुपमा सँगसँगै अघि बढाउने योजनामा छौं । बीमा गरिसकेपछि ढुक्क हुन्छ भन्ने मान्यता र विश्वासलाई जगाउनुपर्ने अवस्था एकातिर छ भने बीमाको दावी भुक्तानीलाई छिटोभन्दा छिटो फस्र्यौट गर्न सकियो भने बीमाप्रतिको जनविश्वास झनै बढेर जान्छ । बीमा गर्दा जहाँसुकै पनि एउटा दोष लाग्ने गरेको छ । बीमा गर्यो, दावी नतिर्नेे, त्यस्तो छाप पर्नु राम्रो होइन । बीमा सम्बन्धी दावी भुक्तानी समयमा र सरल तरिकाले हुन सकेन भने विश्वास गुम्ने खतरा पनि छ । हामी नियामक निकाय तथा अर्ध–न्यायीक निकाय समेत हुनुको नाताले बीमा सम्बन्धी दावी भुक्तानी छिटो सम्पन्न गर्नु भनेर हामीले पटक पटक भन्दै पनि आएका छौं । बीमा कम्पनीहरुले दावी भुक्तानी जति सरल र चाँडो गर्दछन्, उति विश्वसनीयता बढ्छ । त्यसैले अहिलेको उपलब्धीलाई संस्थागत गर्न हामीले मुख्य रुपमा दावी भुक्तानी र अझै दुर दराजमा बीमा सम्बन्धी प्रचार प्रसारमा मुख्य रुपमा जोड दिएका छौं ।
विगत दुई वर्षदेखि स्थानीय निकायसँग बीमा समिति भन्ने कार्यक्रम राखेर महानगरपालिका, नगरपालिका र गाउँपालिकासम्म पुगेर त्यहाँका जनप्रतिनिधिहरुसँग बीमाको बारेमा प्रचार प्रसार गर्दै आएका छौं । स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तरक्रियाले बीमाको प्रचार प्रसारमा ठूलो फाइदा पुगेको निष्कर्ष निकाल्दा अन्यथा हुदैन ।
बीमा सम्बन्धी जनचेतना जगाउने अभियान चलाउनुभयो, डोल्पादेखि महोत्तरीको भिट्टामोडसम्म विद्यार्थीदेखि स्थानीय जनप्रतिनिधिसम्म पुग्नु भयो, के पाउनु भयो जनताको धारणा ?
–जनताको धारणा अब पहिलेको जस्तो छैन । यद्यपि बीमाका बारेमा थाहै नपाउने मानिसहरु पनि छन् । जनतालाई अझै सेचत गराउनुपर्ने अवस्था भन्ने पनि देखियो । जनेचतना जगाए बृद्धि हुन्छ भन्ने पनि देखियो । हाम्रो बार्षिक कार्यक्रममा जनचेतनाका कार्यक्रमहरु राखेका छौं । विगत दुई वर्षदेखि स्थानीय निकायसँग बीमा समिति भन्ने कार्यक्रम राखेर महानगरपालिका, नगरपालिका र गाउँपालिकासम्म पुगेर त्यहाँका जनप्रतिनिधिहरुसँग बीमाको बारेमा प्रचार प्रसार गर्दै आएका छौं । स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तरक्रियाले बीमाको प्रचार प्रसारमा ठूलो फाइदा पुगेको निष्कर्ष निकाल्दा अन्यथा हुदैन ।
अर्कोतिर बीमा कम्पनीहरुले पनि नयाँ नयाँ बीमालेखहरु लिएर बजारमा गइरहेका छन् । यसले पनि बीमाको प्रचार प्रसारमा योगदान पुगेकै देखिन्छ । बीमाको प्रचार प्रसारमै पनि बीमा दावी भुक्तानीको प्रक्रियाका बारेमा जानकारी गरायौं भने बीमा कार्यान्वयनमा अझै बढि सहज हुनेछ । प्रचार प्रसारमा हामी सक्रिय रुपमा लागि परेका छौं । डोल्पा, अर्घाखाँचीदेखि तराईका फाँटहरुमा हामीले बीमा जनचेतना सम्बन्धी कार्यक्रमहरु लिएर गइरहेका छौं । तराईका सीमा क्षेत्रमा विदेशी बीमा कम्पनीहरुको दवदवा रोक्नको लागि होर्डिङ बोर्डहरु राखेका छौं । होर्डिङ बोर्ड राख्ने अभियान नै सञ्चालन गरेका छौं । बीमाबारे यसरी व्यापक रुपमा प्रचार प्रसारमा जुटेपछि यसको दायरामा केही फराकिलो हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।
म फेरि पनि भन्दछु, बीमा दावी छिटो भन्दा छिटो फस्र्यौट गरेर बीमाको विश्वसनीयता हासिल गर्न सक्यौं भने बीमाको दायरा अझै फराकिलो हुन्छ ।
बीमा कम्पनीहरुको उपस्थिति देशैभरि छ भन्न सकिन्छ ?
–बीमा कम्पनीहरुको शाखा कार्यालय सबै ठाउँमा पुगेका छन् । देशको दुर्गम स्थानमा पनि उपशाखा कार्यालयहरु सञ्चालनमा आइसकेको अवस्था छ । जीवन बीमा क्षेत्रको शाखा कार्यालय र अभिकर्ता ७७ वटै जिल्लामा पुगिसकेका छन् । सडक नपुगेको डोल्पा जिल्लामा पनि बीमा कम्पनीको शाखा कार्यालय स्थापना भइसकेको छ । त्यसैले अब बीमा कम्पनीहरु गाउँदेखि शहरसम्म सबैतिर सजिलै उपलब्ध भएको अवस्था छ ।
सरकारले प्रोत्साहन गर्न चाहेको कृषि बीमा कार्यक्रम झनै प्रभावकारी भएको छ । हामीले सबै बीमा कम्पनीहरुलाई ७७ वटै जिल्लामा शाखा र उपशाखा स्थापना गरी कारोबार सञ्चालन गर्न निर्देशन दिए अनुसार नै सबै जिल्लामा बीमा कम्पनीहरु पुगिसकेका छन् । सुरुका वर्षमा पौने दुई करोवारबाट सुरु भएको कृषि बीमा कारोबार अहिले बार्षिक ७० करोडभन्दा माथि पुगिसकेको छ । सबैभन्दा तीव्र गतिमा बृद्धि भइरहेको बीमा भनेकै कृषि बीमा हुन आएको छ ।
घुम्ती बीमा अभियान कसरी अघि बढ्दैछ ?
–हालै हामीले घुम्ती बीमालाई पनि निर्देशिकामार्फत व्यवस्थित गरेका छौं । घुम्ती बीमालाई लघु बीमासँग जोडेर अघि बढाएका छौं । विपन्न बर्ग तथा शहरी इलाका बाहेक ग्रामिण क्षेत्रमा घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्न अनिवार्य पनि गरेका छौं । हामीले कृषि बीमाका लागि जिल्ला तोकेर कम्पनीलाई परिचालन गरेका छौं । कृषि बीमाको क्षेत्रमा परेका कम्पनीहरुले आफ्नो क्षेत्रमा घुम्ती बीमा अनिवार्य गरेका छौं । घुम्ती बीमाको दायरा फराकिलो हुँदै जान्छ । बीमा प्रचार प्रसारमा घुम्ती बीमाले पनि ठूलो भूमिका निर्वाह गर्दछ भन्न आशा बोकेका छौं ।
बीमितहरुको हितको पक्षबाट हेर्दा बीमा कम्पनीहरुले दावी भुक्तानी निकै झन्झटिलो, तजबिजीपूर्ण जस्तो पनि देखिन्छ । अझ तेस्रो पक्ष भुक्तानी विविध खालका समस्याहरु अघि सारेको पनि पाइन्छ । बीमितको हितलाई केन्द्रमा राखेर हेर्दा नेपालका बीमा कम्पनीहरुलाई अझै कडा नियमनमा ल्याउनुपर्छ वा यथास्थितिमा चलेकैछन् के भन्नुहुन्छ ?
–बीमा समिति भनेको नियमन मात्रै होइन । बीमा समिति भनेको अर्ध–न्यायिक निकाय पनि हो । बीमा समिति बीमा सम्बन्धी पहिलो अदालत पनि हो । त्यसैले हामीले नियमन मात्रै नभएर न्याय निरुपणको पाटोलाई समेत ध्यान दिएर काम गर्नुपर्ने हुन्छ । बीमा एउटा करार हो । बीमक र बीमित बीचको करारका बीचमा दरार उत्पन्न भएपछि हामीले नै निरुपण गर्नुपर्ने अवस्था छ । बीमितिले लिएको पोलिसीमा कुन कुन विषयमा कुन कुन अवस्थामा जोखिम कभर गरेको छ ? सो कुरामा राम्रो ज्ञान बीमित आफैमा पनि हुनु जरुरी छ । त्यसबाहेक बीमित र बीमकबीच नमिलेका विवादहरु बीमा समितिमा आउँछ । बीमा समितिमा आउने गरेका पनि छन् । हामीले निश्चित प्रक्रियाद्वारा फस्र्यौट गर्दै पनि आएका छौं । हामीले बीमा दावी भुक्तानी सरल, सहज बनाउन बीमा कम्पनीहरुलाई पटक पटक भन्दै आएका छौं । म फेरि पनि भन्दछु, बीमा दावी छिटो भन्दा छिटो फस्र्यौट गरेर बीमाको विश्वसनीयता हासिल गर्न सक्यौं भने बीमाको दायरा अझै फराकिलो हुन्छ ।
बीमा गरेर क्षति भोगेको एउटा पीडितले बीमा दावी भुक्तानीमा समस्या भएमा कहाँबाट कसरी प्रक्रिया सुरु गर्ने ?
–बीमितले सबैभन्दा पहिला बीमा कम्पनीमा गएर आफ्नो दावी भुक्तानी प्रक्रिया सुरु गर्नुपर्दछ । त्यहाँबाट दावी भुक्तानी प्रक्रियामा चित्त नबुझेमा, बीमा समितिमा लिखित उजुरी दिने कानुनी व्यवस्था छ । हामीले केही कागजात तोकेका छौं, सो बमोजिम बीमक कहाँ नै उजुरी दिनुपर्दछ । यसमा सर्भेएरको भूमिका शसक्त भएर आउँछ । क्षतिको मूल्याङ्कन गर्ने सर्भेएरले प्रमाणित गर्दछ । त्यो मूल्याङ्कन बीमा कम्पनीले आफ्नो युनिटमा लगेर हेर्छ र त्यहाँ दावी सम्बन्धी उपसमिति हुन्छ, अनि बोर्डमा लगेर निर्णय गर्दछन् । बीमा कम्पनीले गरेको दावी भुक्तानी नदिने वा दिएर पनि मूल्याङ्कन पुगेन भन्ने भयो भने उक्त निर्णयका विरुद्धमा बीमा समितिमा उजुरी दिने कानुनी व्यवस्था छ । बीमा समितिमा दुवै पक्षको तर्क र विचारहरु सुनेर बहस पश्चात फैसला हुन्छ । बीमा समितिबाट दिएको न्याय समेत चित्त बुझेन भने पुनरावेदन अदालतमा उजुरी गर्न पाइने कानुनी व्यवस्था छ ।
सर्भेयरले भ्यालुएशन कहिले कम र बढि गर्ने गरेको गुनासो छ नि ?
सर्भेयरहरु भनेका स्वतन्त्र हुन्छन् । उनीहरुले हामीसँग प्रमाणपत्र लिएर गएका हुन्छन् । सर्भेयर बीमा समितिले तोक्ने होइन, बीमा कम्पनीहरुले छानेर मूल्याङ्कन गराउने हो । ऐनले गरेको व्यवस्था अनुसार सर्भेयरले इजाजत पत्र लिएका हुन्छन् । उनीहरुले गर्ने मूल्याङ्कन पारदर्शी र निष्पक्ष हुनुपर्दछ ।
बीमा कम्पनीले गरेको दावी भुक्तानी नदिने वा दिएर पनि मूल्याङ्कन पुगेन भन्ने भयो भने उक्त निर्णयका विरुद्धमा बीमा समितिमा उजुरी दिने कानुनी व्यवस्था छ । बीमा समितिमा दुवै पक्षको तर्क र विचारहरु सुनेर बहस पश्चात फैसला हुन्छ । बीमा समितिबाट दिएको न्याय समेत चित्त बुझेन भने पुनरावेदन अदालतमा उजुरी गर्न पाइने कानुनी व्यवस्था छ ।
सर्भेयरले पनि बदमासी गरेको कुराहरु विगतमा आएको छ, सर्भेयरको नियमन गर्ने कामको अनुभूति पाइदैन नि ?
सर्भेयरलाई नियमन गर्ने बीमा समितिले नै हो । तर, सर्भेयरले गरेको मूल्याङ्कन नियमन गर्ने पाटोमा पर्दैन । सर्भेयरले गर्ने काम स्वयम् नियमनभित्र पर्दछ । हामीले नयाँ ऐनमा सर्भेयरको नियमनको पाटोलाई अझै व्यवस्थित गरेका छौं । नयाँ ऐनले सर्भेयरलाई पनि अझै नियमन गर्दछ । हामी कहाँ छौं र ? के कसरी गर्नुपर्दछ भनेर सर्भेयरहरुले बुझ्नुपर्दछ । सर्भेयरहरु स्वयम् नियमनमा बस्नुपर्दछ । सर्भेयरहरुले स्वयम नियमनमा बसेर काम गरेनन् भने त्यस्तो विषयमा हामी कहाँ उजुरी आएको अवस्थामा हामीले अध्ययन गरेर नियमनको पाटोमा जान सक्छौं ।
बैंक र बीमा अर्थतन्त्रका बलियो खम्बा हुन्, बीमा गराउँदा अण्डर इन्स्योरेन्समा बैंकको भूमिका हुन्छ भन्ने पनि सुनिन्छ, खास कुरा के हो ?
बैंकले आर्थिक कारोबार गर्दछ । बीमाले त्यो कारोबारको जोखिम बहन गर्दछ । अर्थतन्त्रका लागि बैंक र बीमा परिपुरक अंग हुन् । बीमा गराउँदा सही मूल्याङ्कन गरेर मात्रै बीमा गराउन दिनुपर्दछ । कम मूल्याङ्कन गराउँदा क्षतिको बास्तविक मूल्य नपाउने हुनसक्दछ । पछिल्लो पटक आएको विषय चाही बैंकले जति धितोमा राखेको छ, त्यतिको मात्रै बीमा गरेर अण्डर इन्स्योरेन्स गरेको कुराहरु पनि आएका छन् । यो काम सही होइन । यसले बीमितिलाई नै घाटा पुर्याउँछ । बीमा गर्दा ऋणको मात्रै होइन, धितोको पूरा मूल्याङ्कन अनुसारको बीमा गर्नुपर्दछ भनेर बैंकहरुले बीमितलाई भनिदिने हो भने यो समस्यामा कमी आउन सक्छ । उदाहरणको लागि एक करोड रुपैयाँको सम्पत्ति छ, बैंकबाट ५० लाख रुपैयाँ ऋण लिनु परेको अवस्थामा ५० लाख रुपैयाँको मात्रै बीमा गर्ने गरिन्छ । यो गलत अभ्यास हो । बैंकहरुले सम्पूर्ण मूल्याङ्कन अनुसारको एक करोड रुपैयाँकै बीमा गर भनेर भनिदिन म सबैं बैंकका कर्मचारीहरुलाई अनुरोध गर्दछु ।
बीमितहरुले अडिट रिपोर्ट अनुसारको सम्पत्ति मूल्याङ्कनको आधारमा बीमा नगरी बढी मूल्याङ्कन देखाएर बीमा गर्ने अर्थात ओभर इन्स्योरेन्सको अभ्यास पनि छ भन्ने गुनासो छ नि ?
बीमा ऐन अनुसार ओभर इन्स्योरेन्स गर्न पाइदैन । हामीले फेला पारेमा कारवाही गर्छौ । ओभर मूल्याङ्कन लगायतका गलत कामलाई निरुत्साहित गर्न बीमा सूचना केन्द्र स्थापना गर्न लागेका हौं । यो सूचना केन्द्रले त्यस्ता गलत व्यक्ति तथा कम्पनीहरुको सूचना सबैलाई प्रदान गरी गलत कार्य रोक्ने छ । सूचना केन्द्रको काम अभियान सुरु गरिसकेका छौं ।
अन्त्यमा …….
बीमा समिति बार्षिक कार्यक्रमलाई लिएर अघि बढिरहेको छ । प्रचार–प्रसार तल्लो तहदेखि स्थानीय निकायसम्ममा प्रचार गरिरहेका छौं । स्थानीय तहसँग बीमा समिति नामक अभियान चलिरहेको छ । घुम्ती बीमा कार्यक्रमलाई अघि बढाइसकेका छौं । पाठ्यक्रममा घुम्ती बीमा कार्यक्रमलाई समावेश गरेर अझै प्रभावकारी ढंगबाट बीमा जनचेतना अभियानमा लागेका छौं । बीमाको दायरा अझै फराकिलो हुन्छ र बीमा सबैको पहुँचमा पुर्याउन सफल हुन्छौं भन्ने लागेको छ ।