गरिबीको सारथीको रुपमा लघुवित्त वित्तीय संस्थाहरु
विगत १५ बर्षदेखी लघुवित्त क्षेत्रमा काम गर्दै आएकाआर.आर हरिकृष्ण जोशी चौतारी लघुवित्तको नायव प्रमुख कार्याकारी अधिकृतको रुपमा कार्यरत छन् । शुरुका चार बर्ष छिमेक लघुवित्त वित्तीय संस्थामा प्रशिक्षार्थी रुपमा काम गरेकाजोशीले मुक्तिनाथ विकास बैंकमा नौ बर्ष बिताएर हाल उनी चौतारी लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।
चौतारी लघुवित्तको वित्तीय अवस्था,ग्रामिण भेगका जनतालाई वित्तीय सेवासँगै वित्तीय चेतना र वित्तीय पहुँच पुर्याउन अन्य राष्ट्रियस्तरका बैंक तथा वित्तिय संस्थाहरु भन्दा अगाडि रहेको लघुवित्त क्षेत्रको पछिल्लो अवस्था, हालै जारी भएको मौद्रिक नीतिका वारेमा उनै जोशीसँग इन्स्योरेन्स खबरका लागि नानु खड्का (निर्जला)ले गरेकोे संवादका अंशहरु ।
ग्रामिण भेगका जनताले बुझ्ने भाषामा लघुवित्त भनेको के हो ?
लघुवित्त भनेको सामान्य भाषामा साना–साना वित्तीय कारोबारलाई नै लघुवित्त भनिन्छ । साना वित्तीय कारोबार मात्र लघुवित्त हुदैन, विपन्न र सिमान्तकृतलाई सेवा दिन सकेन भने त्यो लघुवित्त हुदैन । सानो कर्जा विपन्न सिमान्तकृत जो अवसरबाट बञ्चित छ, तिनिहरुको लागि विभिन्न वित्तीय सेवाहरु दिनुलाई नै लघुवित्त भनिन्छ ।
लघुवित्त वित्तीय संस्थाले गरीब तथा विपन्न व्यक्तिहरुलाई बढी लक्षित गरेको हुन्छ । लघुवित्त संस्था नेपाल राष्ट्र बैंकले तोके बमोजिम इजाजतपत्र प्राप्त संस्था हो । ‘घ’ वर्गका बैंकहरुनै लघुवित्त संस्थाहरु हुन् । कमजोर आर्थिक अवस्था भएका वा ग्रामीण क्षेत्रका मानिसहरुको आयस्तर माथि उठाउने उद्देश्यले थोरै व्याजदरमा, बिना धितो ऋण प्रदान गर्ने, बैंक तथा वित्तीय सस्ंथा नै लघुवित्त वित्तिय संस्था हुन् ।
चौतारी लघुवित्त र यसको पछिल्लो वित्तीय अवस्था के छ ?
चौतारी लघुवित्त वित्तीय संस्था २०७२ पुष १९ गते घ बर्गको ईजाजत पत्रप्राप्त गरी संचालित संस्था हो । चौतारी लघुवित्त संस्था देशकाप्रतिष्ठित ब्यक्तिहरु, वित्तिय क्षेत्रमा अनुभब हासिल गरेका ब्यक्तिहरु, व्यापारी तथा सात वटा बैंक तथा वित्तीय संस्थाहरुको संलग्नता खोलिएको बित्तीय संस्था हो ।
हालसम्म १५ जिल्ला कार्यक्षेत्र बनाई रुपन्देही, कपिलबस्तु, नवलपरासी पाल्पा, दाङ्ग,रोल्पा,प्युठान,अर्घाखाची,गुल्मी,पुर्वी रुकुम,पश्चिम रुकुम,स्याङजा,सुर्खेत,जाजरकोट र सल्यान गरि ५७ वटा शाखा कार्यालयमार्फत आफना ग्राहकलाई लघुवित्त सेवा दिदै आइरहेका छौ ।
संस्थाकोपछिल्लो वित्तीय अवस्था राम्रो छ । संस्थाले नेपाल राष्ट्र बैकले तोकेको मापदण्डहरु सबै पुरा गरेको छ । हाल संस्थाको अधिकृत पूँजी ३० करोड रुपैयाँ रहेको छ । जारी पूँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ भने चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । २०७६ अषाढ मसान्त सम्ममा लगानीमा रहेको कर्जा एक अर्ब ५८ करोड छ भने बचत ४७ करोड छ र खुद नाफा चार करोड ४३ लाख रुपैयाँ गरेको छ । त्यस्तै कुल ४१ हजार आठ सय जना ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा दिँदै आएको छ ।
पछिल्लो समय नेपालमा लघुवित्तहरुको अवस्था कस्तो छ ?
पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु विस्तार हुँदै आएको अवस्था छ । २०७६ जेठ मसान्तसम्ममा कुल ८ हजार ५ सय ६४ वटा शाखा कार्यलयमार्फत गरिब तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रहरुमा लघुवित्त सेवाहरु पुर्याइरहेको अवस्था छ ।
बैशाखसम्मको वित्तीय विवरणमा लघुवित्त क्षेत्रमा ४१ लाख ५८ हजार जना व्यक्तिहरुआवद्ध रहेका छन् भने त्यसमध्ये २६ लाख १३ हजार जनाले लघुवित्त संस्थावाट कर्जा उपभोग गरी उद्यम तथा व्यवसायहरु संचालन गरी स्वरोजगार बनेका छन् । लगभग लघुवित्त क्षेत्रमा आबद्धमध्ये ६३ प्रतिशतले कर्जा उपभोग गरिरहेका छन् ।
त्यसैगरी २०७६ जेठ मसान्तसम्ममालघुवित्त संस्थाहरुले २२५ अर्व ७ करोड रुपैया कर्जा प्रवाह गरेका छन भने ७९ अर्व ५९ करोड बचत संकलन गरेका छन । लगभग १५ हजार जना कर्मचारी प्रत्यक्ष रोजगारीमा आबद्ध रहेका छन् ।
लघुवित्त क्षेत्रले देशमा रोजगारी सिर्जना गर्नुको साथै ग्रामिण क्षेत्रमा रहेका बिपन्न परिवारको आर्थिक र सामाजिक विकासको साथै बिशेषतः महिलाहरुको शसक्तिकरण र नेतृत्व क्षमता बृद्धिमा अहम भूमिका निर्वाह गरिरहेको छ । यसरी हेर्दा लघुवि वित्तीय संस्था गरिबीको सारथी बन्नुको साथै रोजगारी प्रदान गरेको छ भने सर्वसाधारणहरुलाई कर्जा प्रवाह गरेर उद्यमी समेत बनाउन समेत सफल भएको छ ।
लघुवित्त संस्थाहरुले दुर्गम तथा ग्रामिण क्षेत्रमा रहेका आम जनताको जीवनस्तर उकास्न र आर्थिक र सामाजिक विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । गरिबी निवारणमा समेत यसले ठूलो भूमिका खेलेको जस्तो मलाई लाग्छ । साथै, सकरात्मक सँगै नकारात्मक पाटो पनि संगै जोडिएर आउँछ । लघुवित्त क्षेत्रमापनि केही नकरात्मक पाटोहरु छन् । अब यसलाई सुधार गरेर लैजानुपर्ने देखिन्छ ।
एउटा लघुवित्तकर्मीको नाताले मौैद्रिक नीतीलाई कसरी हेर्नु भएको छ ?
हालै केन्द्रीय बैंकले जारी गरेको मौद्रिक नीतिलाई मैले सकारात्मक रुपमा नै लिएको छु । लघुवित्तहरुलाई मर्जरमा लैजाने नेपाल राष्ट्र बैंकको नीति थियो ।सोही बमाजिम प्रष्ट रुपमा नभने पनि मौद्रिक नीतिले लघुवित्त कम्पनीहरुलाई मर्जरका लागि प्रोत्साहन गरेकै छ ।यस विषयमा कतिपय लघुवित्त क्षेत्रका मानिसहरुले अनौपचारीक रुपमा एकल अंकमा लघुवित्त भए राम्रो हुन्छ भन्ने प्रतिक्रिया दिएको पनि सुनियो । त्यस्तै, लघुवित्त बैंकर्स संघसमेतले लघुवित्त संस्थाहरु धेरै भए डुप्लीकेशन बढी भयोे भनी पुँजी वृद्धि गर्न मर्जरमा जाने वातावरण वनाईदिन भनी अनुरोध गरेको थियो । केन्द्रीय बैंकले त्यसको सम्बोधन गरेकै छ ।
मेरो धारणा के छ भने जसरी विवाह गर्दा कुल घरान,गोत्र,पढाई लगायत आनीबानी सबै हेरेर मात्र विवाह गरिन्छन हो यो मर्जर पनि त्यस्तै हो, धेरै कुरा मिलाएर गर्न सकेनौ भने भोलि समस्या आउन सक्छ । फोर्सफुल मर्जरको नाममा अस्तव्यस्त बनाएर मर्ज गर्यौं भने त्यसले राम्रो सन्देश पनि दिँदैन । जहाँसम्म डुप्लीकेशन भयो, अब संस्थाहरुको रिपोर्ट विग्रन सक्छ भन्ने चासो र चिन्ता छ,त्यसमा अलि फरक तरिकाले हेर्नुपर्दछ जस्तो मलाई लाग्छ ।
देशमा अहिले ३३।३४ हजारको संख्यामा सहकारी संस्थाहरु छन । तिनीहरुले पनि धेरैले वित्तीय सेवा नै दिइरहेका छन। लघुवित्तको मात्र डुप्लीकेशन होईन, सहकारी, फाईनान्स, विकास बैंक,वाणीज्य बैंक सबैमा डुप्लीकेशन छ । सबैभन्दा पहिला कसको के काम हो ?भनरे बुझनुपर्छ जस्तो मलाई लाग्छ । त्यो नहुन्जेल समस्या उस्तै रहन्छ ।
त्यस्तै, कर्जा सुचना केन्दलाई प्रभावकारी वनाउनुपर्छ । मर्जरमा जाने लघुवित्तलाई मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले विभिन्न किसिमका छुटको व्यवस्था गरेको छ । त्यसको उपयाग गर्दे मर्जरमा जान सकिन्छ । तसर्थ मौद्रिक नीति आफूले भने जस्तो आएन भनेर निदार खुम्चाउनु आवश्यक छैन ।
लघुवित्तहरुको ब्याजदर धेरै महंगो भयो, जनतालाई झुक्याएर चर्को ब्याज असुल्छन भन्ने पनि सुनिन्छ । वास्तविकता के हो ?
होइन, लघुवित्त बैंकहरुले आफुले गरेका अहम् कामहरुलाई आम जनमानसमा बुझाउन नसक्दा यी कुराहरु आएका हुन । जनताका माँझमा हुने कारोवारमा कसैले झुक्याउन सक्छ र? हामीनेपाल राष्ट्र बैंकको नियमनमा चल्दै आएका छौ । १४ प्रतितशतमा पनि लघुवित्तहरुले कर्जा लिएर ग्राहक सदस्यलाई कर्जा वितरण गरिरहेका छन ।१४ प्रतिशतमा लिएको कर्जा कतिमा लगानी गर्ने ? हामीलाई मात्रै गाली गर्ने होइन, हामीलाई दिएको सुविधासँग सेवाको तुलना गर्दा राम्रो हुन्छ ।
विगतमा २४ प्रतिशतसम्म ब्याज लिदा पनि महंगो नै भन्ने कुरा आएको थियो । आज १८ मा आइसकेको छ तै पनि महंगो भन्ने हौवाले छोडेको छैन । मलाई लाग्छ १४ प्रतिशतमा नै कर्जा दिइयो भने पनि एक थरी मान्छेले महंगो भयो लघुवित्तको ब्याज भन्न छोडदैनन । अर्कोकुरा, नेपाल राष्ट्र बैकले दिएको सीमाभित्र बसेर कर्जाको ब्याज लिएका छौ अनि कसरी हुन्छ महंगो ?
पछिल्लो समय लघुुवित्तले समाजमा नराम्रो प्रभाव पार्न थाल्यो भन्ने सुनिएको छ । के यो सत्यता हो ? वा हल्ला ?
केही हदसम्म होला म यस विषयलाई होईन भन्दिन् । तर, एउटा वा दूईवटा केसलाई लिएर पुरै लघुवित्त क्षेत्रलाई दोषारपण गरियो भने न्योयोचित हुँदैन । सबै लघुवित्त क्षेत्रले नै समाजलाई नराम्रो असर गरेको छैन् । दुई/चार दिन अगाडीका समाचारहरुमा बीमाको लोभमा आफ्नै छोरीको हत्या भनेर के विमा क्षेत्रनै खत्तम हो त? आफनै छोरीद्धारा पैसा तिरी आमाको हत्या के सबै छोरीहरु खराब छन त ? वावुद्धारा छोरी वलात्कृत के सबै वावुहरु त्यस्तै हुन त ? केही केसलाई लिएर पुरै क्षेत्रलाई नै जोड्न भएन । हो, केही कमजोरीहरु होलान त्यसलाई सुधार गर्दे अगाडी बढनुपर्दछ ।
हामीले खाली निरासा र नकारात्मक कुराहरु मात्रै होईन सम्भावना पनि खोज्नुपर्छ । लघुवित्तलाई अझ सहज र सरल कसरी बनाउन सकिन्छ । त्यतातर्फ सबैको ध्यान पुग्नुपर्छ अनी मात्र लघुवित्त क्षेत्र र समग्र देशको विकास हुन्छ ।
नेपालमा धेरै युवाहरु बेरोजगारी छन् तर, उनीहरुको चासो लघुवित्तप्रति कम नै देखिन्छ । युवाहरुले चाही लघुवित्तबाट फाईदा लिन सक्दैनन् ?
लघुवित्तबाट धेरै फाइदा लिन सक्ने अवस्था छ । लघुवित्तले विनाधितो कर्जा पनि दिने गर्दछ । तर व्यक्तिको आय अवस्थालाई हेरेर कर्जा दिने गरिन्छ । युवाहरुमा पछिल्लो समय जोश र जाँगर भने छैन र कर्जा लिएर के व्यवसाय गर्ने भन्ने कुरामा उनीहरु आफै अन्योलमा छन् । त्यसको दोष लघुवित्तलाई दिएर हुँदैन । युवालाई स्पष्ट योजना, खाका, दृढता लिएर हिड्न सबैले प्रोत्साहन गर्नुपर्दछ ।
लघुवित्तसँग जोडिएर धेरै फाइदा लिन सकिन्छ । कर्जा लिएर आफ्नै व्यवसाय संचालन गरी उद्यमी बन्न सकिन्छ । अहिलेका युवाहरुको चासो विदेश पलायन भएको कारणले गर्दा पनि नेपालमा के गर्न सकिन्छ, कसरी रोजगार बन्ने, कसरी उद्यमी बन्ने भन्ने कुरामा खोजी नगरेका कारण विदेशबाट आएपछि बेरोजगार बस्नु परेको छ ।
विदेशमा सिकेका कामलाई नेपालमा आएर प्रयोग गर्न सकिन्छ । त्यही सीप अनुसारको काम गर्नको लागि लघुवित्त वित्तीय संस्था एउटा सारथी नै हो । त्यो चेतना जनमानसमा कमै नै भएर होला कयौ यूवाहरु बेरोजगार भएका छन् ।
हाम्रो समाजमा प्रायजसो आर्थिक कारोबार पुरुषबाटनै हुने गरेको देखिन्छ । तर, लघुवित्तले महिलाहरुलाई विनाधितो कर्जा दिने गर्दछ । त्यसकारण आमा,श्रीमती अथवा घर परिवारका सदस्यहरु समुहमा आबद्ध गराएर विना धितो कर्जा लिएर व्यसयाय स्थापना गर्न सकिन्छ र रोजगार बन्न सकिन्छ ।
त्यस्तै, समुहमा नबसी पनि धितोवाट कर्जा लिई ब्यवसाय शुरु गर्न सकिन्छ । अहिलेको मौद्रिक नीतिले त ग्रामीण क्षेत्रमा बसोवास गर्नेहरुलाई धितोमा १५ लाखसम्मको कर्जा दिने प्रावधान नै बनाएको छ । यसले झनै युवालाई प्रोत्साहन गर्नेछ ।
राष्ट्र बैंकको नीति अनुसार मर्जरको लागि आरम्भसँग सम्झौता गरिसक्नु भएको छ, एकिकृत कारोबार र मर्जर पछिका केही योजनाकोे बारेमा बताइदिनुहोस् न ?
हामीले यही जेष्ठ २२ गते बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्ससँग मर्जरमा जाने भनेर सम्झौतापत्रमा हस्ताक्षर समेत गरिसकेका छौ । आरम्भसँग चौतारीको उमेर मिल्छ, क्षेत्रहरु जुध्दैनन आ–आफनो ठाउँमा व्यवसाय गरिरहेका छौ र सबै भन्दा ठुलो दुवै ग्रुपको मन मिलेको छ त्यही भएर हामीले मर्जरमा जानका लागी सम्झौता गरेर अगाडी बढिसकेका छौ । त्यस्तै, मर्जर पछि कसरी अघि बढ्ने भन्ने विषयमा धमाधम योजनाहरु बनाउदै छौं ।
लघुवित्तहरुले कर्जाको स्रोत व्यवस्थापन कसरी गरिरहेका छन्?
लघुवित्त कम्पनीको ब्याजसँग जोडिएर आउने सबैभन्दा महत्वपुर्ण कुरा भनेकैकर्जाको स्रोत व्यवस्थापन हो । लघुवित्तले अरु बैंक तथा वित्तीय संस्थाले जस्तोः पब्लिक डिपोजिट उठाउन पाउदैनन (केही संस्था वाहेक) । उनीहरुको मुख्य स्रोत भनेको अन्य बैक तथा वित्तीय संस्थावाट कर्जा लिएर लगानी गर्ने हो ।
त्यस्तै, कर्जाको अर्को स्रोत भनेको उनीहरु आफैले ग्राहकसँग संकलन गर्ने वचत नै हो । क,ख र ग वर्गका संस्थाहरुले आफनो कुल कर्जाको ५ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने प्रावधान छ । जेष्ठ मसान्त सम्ममा हेर्ने हो भने यस्तो कर्जा ६ दशमलव १ प्रतिशत पुगिसकेको छ ।
अहिलेको मौद्रिक नीतिमा यसलाई बढाईन्छ की भन्ने नै थियो तर त्यो हुन सकेन । ९÷१० मा लिएको कर्जा १४÷१५ प्रतिशत पुर्याएका छन । हामीले तिर्ने ब्याजदर नै महंगो भएको छ । कर्जाको स्रोत व्यवस्थापन एउटा निश्चित प्रतिशतमा व्यवस्था गरिदिने हो भने अहिलेको भन्दा ब्याज घटाउन सकिने अवस्था रहन्छ । अन्यथा स्रोत व्यवस्थापन एउटा चुनौतीको रुपमा रहेको छ ।
अन्त्यमा,सर्वसाधारणलाई केही भन्न चाहानुहुन्छ ?
बैंक तथा वित्तीय संस्थाहरु सबैको आ–आफ्नो महत्व हुन्छ । त्यसमा लघुवित्तको पनि आफनै महत्व छ । यसलाई सबै मिलेर असल रुपमा प्रयोग गर्नुपर्छ र लघुवित्त बुझेका मानिसहरुले लघुवित्त नबुझेका मानिसहरुलाई बझाउनु पर्दछ ।
लघुवित्तले गाँउमा बसोबास गर्ने, बैंकिङ पहुँचसम्म पुग्न नसकेका मानिसहरुलाई बैंकिङ पहुँचमा ल्याउने काम गरेको छ । सानो–सानो भएपनि वित्तीय सेवा प्रदान गरेको छ । त्यसकारण श्रमको उच्चतम प्रयोग गरी उपभोग मुखीबाट उत्पादनमुखी बन्न सिकाउने र व्यवसाय बिस्तारै बृद्धि हुदै जाँदा माथिल्लो स्तरको वित्तीय क्षेत्रबाट कर्जा उपभोग गर्न सक्ने बनाउने लघुवित्तलाई हामी सबैले राम्रो बनाउनतर्फ लाग्नुपर्दछ ।
पछिल्लो समय माईक्रोफाईनान्सहरु दायित्व र जिम्मेवारीमा केन्द्रित भइरहेका छन् । एउटा सामान्य मानिसलाई व्यवसायिक बनाउन लघुवित्तले निकै ठूलो भूमिका खेल्दै आएको छ । लघुवित्तले त्यति मात्र हैन विभिन्न व्यवसायिक तालिमहरुको आयोजना गर्ने, विभिन्न प्राविधिक विषयको ज्ञान दिने, बजारसम्म जाने उचित वातावरणको सृजना गर्ने, वित्तीय साक्षरताका कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ । लघुवित्त कम्पनीहरुको प्रयासकै कारण आम सर्वसधारणहरु बैंकिङ सिष्टम बुझ्दैछन् । अन्त्यमा म सबैलाई लघुवित्तमा आवद्ध भई बैंकिङ कारोबार गरी उद्यमी बन्न आह्वान गर्दछु ।