उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । यी दुई संस्था एक–आपसमा मर्ज हुने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुई संस्थाबीच मर्जरमा जानका लागि साउन ९ गते प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सहमतिपत्रमा उन्नति माइक्रोफाइनान्सका सञ्चालक समिति अध्यक्ष अनिता ढुंगाना शाह र सहकार्य लघुवित्तको सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका हुन् ।
रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । यस्तै, सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी कारोबार गर्दै आएको छ । हाल उन्नतिको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ र सहकार्यको १ करोड ४० लाख रुपैयाँ रहेको छ ।