नेपाल पूँजीबजार लगानीकर्ता संघको बार्षिक साधारणसभा यही साउन १८ गते हुने भएको छ । संघले आम लगानीकर्ताको हित र पूँजी बजार बिकासका लागि नै काम गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने संघका अध्यक्ष राधा पोखरेलले बताईन् । ‘एक बर्षको अवधिमा हाम्रो संघले लगानीकर्ताको मुहारमा खुशी दिएको छ ।’
‘लगानीकर्ताको हकहितको लागि एक बर्षको दौडानमा हामीले सेयर बजारमा भएका गतिविधिमा साथ दिएका छौ । मैले अध्यक्षको जिम्मेवारी सम्हालेको एक वर्ष भयो । यो बीचमा हाम्रो संघले धेरै काम गर्यो । यो अवधिसम्म आइपुग्दा हामीले लगानीकर्ताको हकहितका लागि धेरै काम मात्र नभइ सेयर बजार सम्बन्धी जनचेतना जगाउने काम पनि गरेका छौ ‘ पोखरेलले भनिन ।
संघले आयोजना गर्न लागेको साधारणसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री माधव नेपाल उपस्थित हुने भएको छन् । साथै कार्यक्रममा नियामक निकायको पनि उपस्थिती रहने भएको छ । संघले बार्षिक साधारणसभामा आफनो कार्यपत्र समेत पेश गर्ने छ ।
संघले हालसम्म सातवटै प्रदेशमा आफनो शाखा संजाल विस्तार गरेको छ । आगामी दिनमा शाखा नभएका केही जिल्लामा पनि शाखा विस्तार गर्ने नेपाल पूँजीबजार लगानीकर्ता संघले जनाएको छ । उक्त अवसरमा संघले सेयर बजारमा अवसर, चुनौती र नियामक निकायको भूमिका बिषयको’ अन्तक्रिया कार्यक्रम समेत गर्न भएको छ ।