बिमा विधेयक प्रस्ताव: अब सर्भेयरले एउटा बिमाको मात्र सर्भे गर्न पाउने

Citizen Life Insurance Co

अबदेखि बिमा सर्भेयरले एक प्रकारको मात्र सर्भे गर्न पाउने भएको छ । बिमा समितिले प्रस्ताव गरेको नयाँ बिमा विधेयक दफा १०२ को उपदफा ४ मा सर्भेयरको इजाजतपत्र दिँदा निर्जीवन बिमाअन्तर्गत एक प्रकारको बिमाको मात्र सर्भे गर्न पाउने उल्लेख गरिएको छ । विधेयकमा सर्भेयरले आफूमातहतका कुनै व्यक्तिलाई बिमा सर्भेको काममा लगाउँदा इजाजतपत्र प्राप्त व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै सामूहिक बिमा सर्भेको कार्य गर्नुपरेमा भने सर्भे गर्ने सबै व्यक्तिले बिमा सर्भेयरको इजाजतपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

के हो बिमा सर्भेयर
बिमा दाबी परेको अवस्थामा क्षति भएको सम्पत्तिको मूल्यांकन गर्ने व्यक्तिलाई बिमा सर्भेयर भनिन्छ । समितिको तथ्यांकअनुसार गत साउन १५ सम्ममा संस्थागत सर्भेयरको लाइसेन्स लिनेको संख्या ५६ पुगेको छ । त्यस्तै गत वर्षसम्म व्यक्तिगत सर्भेयरको लाइसेन्स अद्यावधिक गराउनेको संख्या भने २ सय ८६ जना रहेको समितिको तथ्यांक छ । यो वर्ष मात्रै १ सय नयाँ सर्भेयरले लाइसेन्स लिएको समितिले जानकारी दिएको छ ।

सर्भेयरमा गलत अभ्यास
नेपालमा निर्जीवन बिमा कम्पनीहरूले अग्नि, मोटर, इन्जिनियरिङ, सामुद्रिक, कृषिलगायतका फरक बिमा योजनाहरू बिक्री गर्दै आएका छन् । यस्ता योजनाका जोखिम र क्षतिको प्रकार भिन्न–भिन्न हुन्छ । तर, सबै क्षतिको मूल्यांकन एउटै सर्भेयरले गर्ने गरेका छन् । नेपालमा एउटा सर्भेयरले नै सबै प्रोपर्टीको सर्भे गर्ने गलत अभ्यास रहेको ग्लोबल एसिस्टेन्स नेपालका प्रबन्ध निर्देशक पुष्पदास श्रेष्ठले बताए । अटोमोबाइल इन्जिनियरिङ गरेको सर्भेयरलाई मोटरसम्बन्धी विशेष ज्ञान हुन्छ । तर, त्यस्ता सर्भेयरले भवन, बाढी, सामुद्रिकलगायतका क्षतिको पनि मूल्यांकन गर्दै आएका छन् । यसरी गरेको मूल्यांकन प्राविधिक रूपमा गलत हुने सम्भावना बढी हुन्छ । जसले गर्दा कम्पनी र बिमित दुवैलाई घाटा हुने श्रेष्ठले बताए ।

क्षेत्र छुट्याउँदा गुणस्तर बढ्छ
बिमा सर्भेयर कार्य क्षेत्र छुट्याउँदा सर्भेयरको काममा गुणस्तर बढ्ने बिमा सर्भेयर संघ उपाध्यक्ष मोहनपुरुष ढकालले बताए । ‘अहिले जुनसुकै सर्भे गर्न पाउँदा हामीले राम्रोे व्यवसाय पाएका छौँ । क्षेत्र छुट्याउँदा हाम्रो काम खोसिन्छ, तर गुणस्तर पनि बढ्छ,’ उनले भने । अटोमोबाइल, सिभिल, स्ट्रकचरल, आर्किटेक्चरल, जलविद्युत्, मेकानिकल, इलेक्ट्रिकल, बायो मेडिकलगायतका विषयमा इन्जिनियरिङ गरेका सर्भेयर छन् ।

सर्भेयर बन्न आवश्यक योग्यता
बिमा विनियमावलीअनुसार कुनै बिमकको कार्यालयमा अधिकृतस्तरको पदमा कम्तीमा १० वर्षसम्म बिमासम्बन्धी कार्यको अनुभव हासिल गरेको, इन्जिनियरिङमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय चार्टर्ड इन्स्योरेन्स इन्स्टिच्युट वा त्यस्ता संस्थाको मान्यताप्राप्त संस्थाबाट बिमासम्बन्धी विषयमा कम्तीमा स्नातक उत्तीर्ण वा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको व्यक्ति सर्भेयर लाइसेन्सका लागि योग्य हुन्छन् । योग्यता पुगेका निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नुअघि समितिले सञ्चालन गरेको सर्भेयरसम्बन्धी तालिम पूरा गरी प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । सर्भेयरले प्रत्येक वर्ष आफ्नो लाइसेन्स नवीकरण गर्नुपर्छ ।

नेपालमा सर्भेयरको इतिहास
नेपालमा बिमा व्यवसायको सुरुवात २००४ मा नेपाल बैंकको मातहातमा रहने गरी नेपाल इन्स्योरेन्स कम्पनीबाट भएको हो । त्यतिवेला निर्जीवन बिमा व्यवसाय मात्रै सञ्चालन भएको थियो । तत्कालीन समयमा नेपालका लागि बिमा व्यवसाय नयाँ थियो । त्यसैले दाबी भुक्तानी गर्दा सर्भेयरको प्रयोग गरिँदैनथ्यो । नेपाल सरकारका अधिकृतले नै सर्भेयरको काम गर्थे । त्यस्तै, ठूला दाबीहरू परेमा भने भारतबाट सर्भेयरहरू बोलाइन्थे । तर, भारतीय सर्भेयरहरू आफूखुसी मात्रै आउने र प्रतिवेदन ढिलो दिने हुँदा त्यति प्रभावकारी भएन ।

०२५ सालमा सरकारी पहलमा राष्ट्रिय बिमा संस्थानको स्थापना भयो र बिमा ऐन पनि जारी भयो । त्यसपछि नेपालमा नै सर्भेयर उत्पादन गर्नुपर्छ भन्ने महसुस गरिन थाल्यो । ०३९ सालमा बिमा समितिले सर्भेयरहरूको माग गर्न थाल्यो । तर, त्यतिवेला सर्भेयरप्रति मानिसहरूको आकर्षण कम थियो । यद्यपि, स्व. माधवबहादुर थापा, पुष्पदास श्रेष्ठ र रघुवीर बस्नेतले पहिलोपटक समितिबाट सर्भेयरको लाइसेन्स लिए ।

समितिबाट पहिलो नम्बरमा सर्भेयरको लाइसेन्स स्व. माधवबहादुर थापाले लिएका थिए । २ र ४ नम्बर लाइसेन्स पुष्पदास श्रेष्ठले लिए भने ३ नम्बर लाइसेन्स रघुवीर बस्नेतले लिएका थिए । ०५० सालमा सर्भेयरहरूलाई क, ख, ग र घ वर्गमा विभाजन ग¥यो । समितिबाट लाइसेन्स लिएको १५ वर्ष पुगेका सर्भेयरलाई क, १० वर्ष पुगेकालाई ख, ५ वर्ष पुगेकालाई ग र भर्खरै लाइसेन्स लिएकालाई घ वर्गमा विभाजन गर्‍यो ।

सर्भेयर भनेको को हो ?
बिमा ऐनले क्षतिग्रस्त सम्पत्तिको आर्थिक मूल्यांकन गर्ने इजाजतप्राप्त व्यक्तिलाई बिमा सर्भेयरका रूपमा परिभाषित गरेको छ । सोही शब्दले एडजस्टर र नोक्सानी मूल्यांकन गर्ने व्यक्तिलाई समेत बुझाउने ऐनमा उल्लेख छ ।

नेपालमा व्यक्तिगत र संस्थागत रूपमा काम गर्ने सर्भेयरहरू छन् । यसरी सर्भे गरेबापत केही कम्पनीहरूले मासिक पारिश्रमिक लिन्छन् भने केहीले घटनाअनुसार पनि दाबी लिने गर्छन् । सर्भेयर संघ र बिमक संघको सहमतिमा सर्भेयरको पारिश्रमिक तोकिएको छ । सामान्यतया मूल्यांकन गर्दा आउने दाबी रकमका आधारमा पारिश्रमिक तोकिएको छ । घटनाका आधारमा एउटा सर्भेयरले लाखौँ रुपैयाँसम्म आम्दानी गर्न सक्ने उनले बताए ।

(मुना कुँवर/नयाँ पत्रिका/ चैत २४, २०७४)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार