काठमाडौँ, चैत्र ०५ । तरकारी बालीपछि बिमा समितिले घाँसेबाली बिमालेख सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल घाँस विकास संघ र राष्ट्रिय चरन पशु आहार केन्द्रको समन्वयमा समितिले घाँसेबाली बिमा योजना निर्माण गर्ने तयारी गरेको हो । समितिका अनुसार केही दिनमै यस्तो बिमालेख जारी हुनेछ ।
यस बिमालेखअनुसार बिमा अवधिभित्र घाँसबालीमा भएको हानि–नोक्सानीको उत्पादन मूल्यका आधारमा बिमा कम्पनीले क्षतिपूर्ति भुक्तान गर्नेछ । समितिका अनुसार बिमा शुल्क बिमांक रकमको ७ प्रतिशत मात्रै लाग्नेछ । जसमा कृषकले ७५ प्रतिशत अनुदानसमेत पाउनेछन् ।
बिमांक रकम गणना प्रतिहेक्टरमा उब्जनी हुने बालीको परिमाण र प्रतिटनको वास्तविक मूल्यका आधारमा गरिनेछ । उब्जनी परिमाण राष्ट्रिय चरन तथा पशु आहार केन्द्र वा नेपाल कृषि अनुसन्धान परिषद्ले उपलब्ध गराएको बालीको अघिल्लो वर्षको राष्ट्रिय औसत उत्पादकत्वलाई आधार मानेर तयार गरिनेछ । त्यस्तै स्थानीय तहको विषयगत एकाइले तोकेको कृषक थलो मूल्यलाई वास्तविक मूल्यको आधार मानिने प्रारम्भिक योजनाले तय गरेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।
रक्षावरण हुने जोखिमहरू
बिमा गरिएको घाँसेबालीको बिमा अवधिभित्रमा हानि–नोक्सानी भएमा उत्पादन मूल्यका आधारमा वास्तविक क्षतिको भुक्तानी दिइनेछ । बिमा अवधिमा आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी तथा अत्यधिक वर्षाका कारण क्षति भए मात्रै क्षतिपूर्ति पाउनेछ । त्यस्तै, पहिरो, भू–स्खलन, आँधीबेहरी, असिना, हिउँ, तुषारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरू, किरा तथा रोगबाट हुने हानि–नोक्सानीको जोखिम पनि कम्पनीले बहन गर्नेछ ।
क्षतिपूर्ति नदिने अवस्थाहरू
कृषकको आफ्नै परिवारका सदस्यको लापरबाहीका कारण वा जानाजान बाली क्षति भएमा भने कम्पनीले क्षतिपूर्ति भुक्तान गर्दैन । कानुनी निकायको आदेशमा घाँसेबाली नष्ट गर्नुपर्ने भएमा, घाँस चोरी भएमा, सैनिक विद्रोहका कारण भएको क्षतिमा, बिमा गर्दा कृषकले झुटो विवरण दिएमा, बिउको वंशाणुगत कारणबाट क्षति भएमा तथा सरकारबाट सूचीकृत नगरिएका जातहरूको बिउ प्रयोग गरिएको अवस्थामा बालीमा भएको हानि–नोक्सानीको दाबी भुक्तानीका लागि कम्पनी बाध्य हुनेछैन । जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण भएको अवस्थामा जग्गा खरिदकर्ताको नाममा बिमालेख नामसारी गरी बिमा सुरक्षणलाई निरन्तरता दिन सकिनेछ ।
१५ दिनभित्र दाबी गर्नुपर्ने
बिमालेखमा उल्लेख गरिएका जोखिमहरूका कारणबाट बालीमा हानि पुगेमा १५ दिनभित्र कृषकले सम्बन्धित विमकको कार्यालयमा जानकारी गराउनुपर्नेछ । उक्त अवधिभित्रमा खबर गर्न नसकेमा उचित कारणसहित बिमकलाई जानकारी दिनुपर्नेछ । दाबी गर्दा सक्कली बिमालेख, दाबी फाराम, प्राविधिकको प्रतिवेदन, क्षति भएको बालीको फोटो तथा दुईजना सँधियारको सर्जि्मिन मुचुल्का समावेश गर्नुपर्नेछ ।
न्यूनतम पाँच रोपनीको बिमा गरिने
बिमा गरिने घाँसेबाली न्यूनतम पाँच रोपनीमा लगाइएको हुनुपर्नेछ । समितिका अनुसार पहाडी क्षेत्रमा लगाइएको घाँसेबाली बिमा गर्न न्यूनतम पाँच रोपनीमा लगाइएको हुनुपर्नेछ । उच्च पहाडको हकमा भने न्यूनतम दुई रोपनी र तराईमा १० कठ्ठामा उत्पादन गरिएको हुनुपर्नेछ । एउटा बिमा योजनाले धेरै कृषकको बालीको पनि सुरक्षण गर्न सकिनेछ । तर, यसका लागि बाली एउटै ब्लकमा लगाइएको हुनुपर्नेछ ।
घाँसेबालीका लागि प्रयोग गरिने बिउको स्रोत सरकारबाट स्वीकृतप्राप्त सरकारी, अर्धसरकारी निकाय वा निजी क्षेत्र, कृषक समूह, कृषि सहकारीको हुनुपर्नेछ । बाली तोकिएको मापदण्डअनुसार लगाइएको हुनुपर्नेछ । बालीमा कुनै रोग, किरा, झारपात लागेमा कृषकले आफ्नै खर्चमा रेखदेख गर्नुपर्नेछ । बिमकले कुनै पनि समयमा बालीको निरीक्षण गर्न सक्नेछ । (नयाँ पत्रिकामा खवर छापिएको छ)