काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ९ देखि लागू हुने भनिएका ट्यारिफ अब अगस्ट १ देखि लागू हुने घोषणा गरेका छन्।
ट्रम्पले १४ देशमा नयाँ ट्यारिफ दर लगाउने घोषणा गरेका हुन्। ट्रम्पले ती देशका नेतालाई पठाएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् र नयाँ ट्यारिफ दरका बारेमा जानकारी दिएका छन्। यससँगै ट्रम्पले लेखेका छन्, ‘तपाइँहरुसँगको हाम्रो सम्बन्धका आधारमा यसलाई परिमार्जन गर्न सकिन्छ।’
राष्ट्रपति ट्रम्पले म्यानमार र लाओसमा ४० प्रतिशत, थाइल्यान्डमा ३६ प्रतिशत, बंगलादेश र सर्बियामा ३५ प्रतिशत, इन्डोनेसियामा ३२ प्रतिशत, दक्षिण अफ्रिका र बोस्निया–हर्जगोभिनामा ३० प्रतिशत ट्यारिफ लगाएका छन्।
यसैगरी ट्युनिसिया, मलेसिया, काजाकिस्तान, दक्षिण कोरिया र जापानमा २५ प्रतिशत ट्यारिफ लागू हुने ट्रम्पले जानकारी दिएका छन्। –एजेन्सी

















