काठमाडौं । वैदेशिक रोजगारी बीमालेख(फरेन इम्प्लोयमेण्ट इन्स्योरेन्स, एफइआई ) बिक्रीमा अग्र स्थानमा रहेको सन नेपाल लाइफ इन्स्योरेन्स अब परम्परागत बीमालेख बिक्रीमा केन्द्रित हुने भएको छ।
नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमालेखको संकलित बीमाशुल्क बाँडफाँड सम्बन्धि नयाँ मापदण्ड लागू गरेसँगै एफइआईमा चार्म नरहने निष्कर्षसँगै नयाँ रणनीतिमा लागेको हो। प्राधिकरणले अनलाइनमार्फत जुन बीमकले जे जति बीमाशुल्क संकलन गरेपनि चालू आर्थिक वर्ष २०८१।८२ को साउन देखिकै व्यापारलाई आधार मानेर
इन्स्योरेन्सले नयाँ यात्रा नयाँ शुभारम्भ नारा सहित देशव्यापी अभियान सञ्चालन गरेको छ।अभियानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र बजार विभाग प्रमुख गणेश चाैलागाइँ देश दाैडाहामा छन् । सांस्कृतिक शहर भक्तपुरबाट जेठ ३ गतेदेखि शुरू भएको पहिलो चरणको अभियान आइतबार व्यापारिक नाका वीरगञ्ज पुगेर समापन हुनेछ।
पछिल्लो पाँच वर्ष देखि वैदेशिक रोजगार बीमालेखको व्यापारमा ३५ प्रतिशतभन्दा अधिक हिस्सा ओगटेर नेतृत्व लिई रहेको सन नेपालले परम्परागत बीमालेख(सावधिक र बचत प्रकृतीको) बिक्रीका लागि कर्मचारी र अभिकर्ता जागरणका लागि अभियान सञ्चालन गरेको हो।
कम्पनीको सूचना अधिकारी गणेश चाैलाइगाइँले जनचेतना बढाउने र अझै बढी ग्राहक मैत्री भएर काम गर्न कर्मचारी र अभिकर्तालाई प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।
यो आवको अन्तिम दुई महिना अभियान सञ्चालन गरेर इन्स्योरेन्सले आगामी आव २०८२।८३ देखि आक्रामकरूपमा परम्परागत बीमालेखको बिक्री शुरू गर्ने देखिएको छ।
परम्परागत व्यापारमा कस्तो छ अवस्थाः
स्वदेशी बजारमा सक्रिय जीवन बीमकमध्ये नियमित बचत प्रकृतिको परम्परागत जीवन बीमालेख बिक्रीमा सन नेपाल लाइफ इन्योरेन्स सबैभन्दा कमजोर देखिएको छ। सन नेपाल लाइफले सावधिक प्रकृतिका बीमालेखवापत संकलन गरेको बीमाशुल्क सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको भन्दा पनि थोरै छ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको विवरण अनुसार सन नेपालले चालु आर्थिक वर्षको पहिलो १० महिना (वैशाखसम्म)मा नवीकरणीय बीमालेख (वैदेशिक म्यादीबाहेक) बाट ८० करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ। राष्ट्रिय जीवन बीमाको यस्तो बीमालेख बिक्रीवापतको प्रथम बीमाशुल्क आम्दानी ९२ करोड ६६ हजार रुपैयाँ छ।
वैदेशिक म्यादीबाहेकको बीमालेख बिक्रीबाट जीवन बीमकले संकलन गरेको प्रथम बीमाशुल्कको जम्मा २.९३ प्रतिशत हिस्सा सन नेपालले ओगटेको छ। राष्ट्रिय जीवन बीमाको हिस्सा ३.३५ प्रतिशत रहेको छ।
वैदेशिकबाट क्रमशः बाहिरिँदैः
सन नेपालले आलोपालो प्रणालीमा वैदेशिक रोजगारी म्यादी बीमालेख बिक्रीको जिम्मेवारी पाएयता सावधिकभन्दा म्यादी बीमामा यसको व्यापार अति केन्द्रित देखिएको छ। कुल संकलित वैदेशिक रोजगार म्यादी बीमाबापतको बीमाशुल्कमा सन नेपालले ३४ प्रतिशत हिस्सा ओगटेको छ। यो सर्वाधिक हो।
नेपाल बीमा प्राधिकरणका अनुसार, जीवन बीमकले वैदेशिक रोजगार बीमाबाट वैशाख मसान्तसम्ममा कुल २ अर्ब ८८ करोड २७ लाख ५६ हजार रूपैयाँ संकलन गरेका छन् । यो मध्ये सन नेपालले ३४ प्रतिशत अर्थात् ९८ करोड ७६ लाख ७६ हजार रूपैयाँ संकलन गरेको हो।
प्राधिकरणले वैदेशिक रोजगारी बीमालेखको व्यापार क्रमशः समानुपातिक हिसाबले बाँडफाँट गर्दै लैजाने रणनीति लिएपछि जेठ महिनादेखि सन नेपालले यो बीमालेखको बिक्रीबाट ध्यान हटाएको देखिन्छ।
प्राधिकरणले निर्धारण गरेको व्यवसाय बाँडफाँटका आधारमा चालू आव २०८१।८२ मा सन नेपालको वास्तविक हिस्सा जम्मा १६ प्रतिशतमात्र हुनजान्छ। यो बाँडफाँडको हिस्सा आगामी आर्थिक वर्षहरूमा झन् झन् खुम्चिंदै जाँदा व्यवसायको निरन्तरतामै प्रश्न चिन्ह खडा हुने जोखिम भएकाले इन्स्योरेन्सको व्यवस्थापनले परम्परागत बीमालेख बिक्रीलाइ प्राथमिकतामा राखेको हो।
यो अवधिमा सन नेपालको हिस्सा खुम्चिनुमा प्राधिकरणको रणनीतिमात्र नभएर अन्य बीमकसमेत अस्वस्थ्य प्रतिस्पर्धा गर्दै वैदेशिक म्यादी बीमालेखको बिक्रीमा केन्द्रित भएकाले पनि हो। सन नेपाल पछि हट्दा एशियन लाइफ इन्स्योरेन्समार्फत संकलित बीमाशुल्कको आँकडा बढेको देखिएको छ।
कहिलेदेखि यो व्यापारमा ?
२०७७ सालमा आलोपालो व्यवस्थाअन्तर्गत वैदेशिक म्यादी बीमालेख बिक्री व्यवस्थापनको जिम्मेवारी पाएपछि सन नेपालले अन्य सबैखाले बीमालेखको बिक्री छोडेर वैदेशिक रोजगारी बीमालेखमा नै केन्द्रित भएको हो।
पछिल्लो समयमा वैदेशिक रोजगार म्यादी बीमा पुल व्यवस्थापन निर्देशन २०८१ जारी गरेपछि व्यवसायको बाँडफाँटसम्बन्धी प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएको छ।निर्देशनको प्रावधान पूर्ण रुपमा कार्यान्वयन भएमा र व्यवसाय विविधीकरण गर्न नसकेमा सन नेपालका लागि व्यवसायलाई निरन्तरता दिन चुनौती हुने देखिएको छ।
वैदेशिक रोजगारी बीमालेखमा किन थियो केन्द्रित ?
जोखिमको तुलनामा अधिक बचत हुने, तत्कालै शेयरधनीलाई मुनाफा वितरण गर्न सकिने र पुनर्बीमाका लागि विदेशी पुनर्बीमकलाई पुनर्बीमाशुल्क दिनु नपर्ने, अन्य बीमालेखजस्तो जटिल बीमांकी मूल्यांकन प्रक्रिया नहुने र नयाँ बीमालेख तयार पार्नका लागि बीमांकीलाई नियमित रुपमा सेवाशुल्क भुक्तानी गर्नु नपर्ने भएकाले सन नेपाल लाइफको ध्यान यसमा केन्द्रित भएको अनुमान गर्न सकिन्छ।
यो बीमालेख बिक्री गर्नका लागि अभिकर्ताको भर पर्नुपर्दैन। कुनै प्रकारको तालिम दिनुपर्दैन। प्राधिकरणले निर्धारण गरेको सेवाशुल्कभित्र सीमित रहने हो भने सावधिक बीमालेखमा जस्तो अभिकर्ता प्रोत्साहनबापत ठूलो रकम खर्चिनुपर्दैन।
डिजिटल वालेट कम्पनी र म्यान पावर कम्पनीलाई प्रभावमा लिन सकेको अवस्थामा सहजै व्यवसाय हात पर्छ।
समग्र व्यापारमा एफइआईको योगदानः
नेपाल बीमा प्राधिकरणका अनुसार, बैशाख मसान्तसम्ममा १४ जीवन बीमकले १० महिनाको अवधिमा नयाँ बीमालेख बिक्रीबाट २७ अर्ब ४५ लाख १२ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकमले लघु जीवन बीमक बाहेकको कुल नयाँ व्यवसायको ९२ प्रतिशत हिस्सा ओगटेको छ। यसमा बाँकी ८ प्रतिशतमात्र वैदेशिक रोजगारी म्यादी बीमाको योगदान छ।
प्राधिकरणले नक्कली बीमालेख जारी हुने, बिचौलियाले अनुचित फाइदा उठाउने विकृती नियन्त्रण गर्नका लागि २०७५ माघ १ गतेदेखि पुल मार्फत् बीमालेख जारी गर्न बीमकलाई निर्देशन दिएपनि बीमकको दबाबकै कारण २०७९ साउन १ गतेदेखि पुनः रद्द भएको थियो ।

















