काठमाडौं । बाग्लुङ स्थित धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले उनलाई सोहि दिन देखि लागुहुने गरि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
करिब २ दशक लामो समय लघुवित्त क्षेत्रमा कार्यरत रहेका उनी एक अनुभवी बैंकर हुन् । उनी प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधीनमा रही धौलागिरी लघुवित्तका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयर होल्डरहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने विश्वास सञ्चालक समितिले लिएको छ ।
नियुक्ति पश्चात जोशीले मुलुककै पुरानो, प्रतिष्ठित मध्येको एक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए । उनले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैङ्किङका सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा लघुवित्तको सम्मानजनक उपस्थितलाई अझ मजबुत बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लघुवित्तमा कर्जा व्यवस्थापन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन र मर्जर व्यवस्थापन लगायत समग्र लघुवित्तको कार्यकारिणी तहमा काम गरिसकेका जोशी एक अब्बल बैङ्करका रूपमा परिचित छन् ।

















