काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेयरबहादुर देउवाले निजी क्षेत्रले जलविद्युत उत्पादनमा गरेको प्रगति उपलब्धि प्रशंसनीय रहेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालको आज २३ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो धारणा राखेका हुन्। ‘निजी क्षेत्रले ऊर्जा उत्पादनमा गरेको योगदानका कारण अहिले मुलुकले लोडसेडीङको समस्या भोग्नु परेको छैन’, उनले भने, ‘नेपाली कांग्रेस जलविद्युत उत्पादनमा पनि निजी क्षेत्रको लगानी आवस्यक छ भन्ने पक्षमा सुरुदेखि नै छ।’
कांग्रेसको सरकारले तत्कालीन कांग्रेस नेतृ शैलजा आचार्य उपप्रधान एवं जलस्रोतमन्त्री भएका बेला जलविद्युत उत्पादनमा निजी क्षेत्रको लगानी खुला गरेको देउवाले उल्लेख गरे। ‘त्यही नीतिकै कारण आज निजि जलविद्युत उत्पादनमा झन्डै ८० प्रतिशत हिस्सा ओगट्दै अर्बौं लगानी गर्ने वातावरण बनेको हो’, उनले भने, ‘तपाइँहरुले शेयर निष्कासनमा ढिलाइ, विद्युत खरिद सम्झौता (पीपीए) नभएको, राष्ट्रिय निकुञ्जभित्र आयोजना निर्माण गर्न नपाएको, समयमै प्रसारण लाइन नबन्दा बिजुली खेर गएको, वन मन्त्रालय सरकारी निकायहरुमा प्रक्रियागत झन्झट रहेको र लामो समय लाग्ने गरेको लगायतका थुप्रै समस्याहरु उठाउनुभएको छ।’
‘देशमै बसेर लगानी गर्छु भनेर लाग्नुभएका तपाइँहरुलाई यस्तो कुरामा सरकारले सहजीकरण गर्ने हो, दुःख दिने होइन’, सभापति देउवाले भने, ‘मुलुकलाई अहिले निजी क्षेत्रको लगानीको खाँचो छ। निजी क्षेत्रको लगानीविना देशको विकास सम्भव हुँदैन र देशले आर्थिक समृद्धि हासिल गर्न पनि सक्दैन भन्नेमा हामी पूर्ण विश्वास गछौँ।’
देउवाले नेपालले आर्थिक तथा सामाजिक विकासमा अहिलेसम्म प्राप्त गरेको उपलब्धिको पछाडी देशले अघि बढाएको उदारवाद र निजीकरणको नीति हो भन्नेमा दुई मत नरहेको बताए। ‘यसको कार्यान्वयनको क्रममा भएका कमीकमजोरी अन्त्य गरेर निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ’, उनले भने।
‘विद्युत उत्पादन बढ्दै जानु खुशीको कुरा हो। आज देशभित्र लोडसेडिङ छैन। छिमेकी मुलुकहरुसँग विद्युत व्यापार पनि सुरु भएको छ’, देउवाले भने, ‘अझै स्वदेशभित्र धेरै उद्योग व्यवसाय सञ्चालन गरेर बढीभन्दा बढी बिजुली खपत गराउनु पर्दछ।’
आफू प्रधानमन्त्री भएका बेला पहिलोपटक ३९ मेगावाट विद्युत व्यापार सुरु भएको देउवाले स्मरण गरे। ‘म प्रधानमन्त्री हुँदा नै भारतीय प्रधानमन्त्री मोदीसँग संयुक्त सहकार्यका लागि समझदारी गरेको थिए’, उनले भने, ‘त्यही आधारमा अहिले भारतसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विद्युत व्यापार हुन थालेको छ।’
अहिले उत्पादित बिजुली खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको रहेको देउवाले बताए। ‘यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ। लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सलत विधि अपनाएर लगानी गर्ने वातावरण बनाउने हो’, उनले भने, ‘लगानीकर्तालाई दुःख दिने भन्ने त हुँदै हुँदैन। स्वदेशी मात्र होइन, विदेशी लगानीकर्ताहरुलाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ।’

















