IME Life New
GBIME

नेपालमा समावेशी बीमाका लागि बढ्दो अवसरसँगै चुनाैती पनि

SPIL
Global College
NLIC

काठमाडौं । बीमाको बारेमा सचेतना बढ्दै जाँदा बीमाको सुरक्षा छाताभित्र समाजको सबै तह तप्का समेटिनुपर्छ भन्ने आवाज मुखरित हुँदै गएको छ। नेपालमा पनि बीमामा पहुँच बिस्तार गर्नका लागि तीनवटै तहको सरकार प्रयासरत देखिन्छ। नियामक, नेपाल बीमा प्राधिकरणले पनि बीमामा समावेशिताका लागि नीतिगतरूपमा केही सहजीकरणको प्रयास गरेको छ।

नेपाल जस्ता विकासशील अर्थतन्त्रहरूमा, जहाँ परम्परागत बीमाको पहुँच अझै पनि सीमित छ, समावेशी बीमा वित्तीय सुरक्षा विस्तार गर्ने एक महत्त्वपूर्ण उपकरण हुनसक्छ। नेपालमा बीमा प्रवेश दर अझै पनि कमजोर अवस्थामा रहेकाले यसले बीमा उद्योगको लागि ठूलो बजार अवसर प्रदान गरेको छ।

Crest

नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार, नेपालको कुल जनसंख्याको करिब ३९ प्रतिशत मात्र बीमाको पहुँचमा छन्। कुल गार्हस्थ उत्पादनमा बीमा उद्योगको योगदानको अनुपातका आधारमा बीमामा पहुँच ३.४२ प्रतिशत रहेको बीमा प्राधिकरणको दाबी छ। स्वास्थ्य बीमाको पहुँच झनै सीमित छ, जसमा करिब १५ प्रतिशत जनसंख्या मात्र समेटिएको छ। ग्रामीण क्षेत्रहरूमा बीमाको पहुँच अझ कमजोर छ, जहाँ वित्तीय साक्षरताको अभाव र सेवा वितरणको चुनौती प्रमुख कारण हुन्।

नेपालमा लघु बीमाको सम्भावना उल्लेखनीय छ। युके एडको सहयोगमा सन् २०१८ मा प्रकाशित, स्टडी अन द माइक्रो इन्स्योरेन्स इण्डष्ट्रि इन नेपाल प्रतिवेदनका अनुसार, नेपालमा बीमाको पहुँच कम हुनुका कारणहरूमा जनचेतनाको अभाव, आर्थिक असमानता, र सेवा प्रदायकको सीमितता पर्दछन्। तर, विशेष गरी साना कृषक, स्वरोजगार व्यवसायी, र न्यून आय भएका परिवारहरूलाई लक्षित गर्दै लघु बीमा कार्यक्रमहरूले यी चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने क्षमता राख्छ।

विश्वव्यापी गैर-नाफामुखी संस्था, माइक्रोइन्स्योरेन्स नेटवर्क (एमआइएन), ले यो “बीमा सुरक्षण खाडल” लाई कम गर्न र समावेशी बीमालाई प्रवर्द्धन गर्ने प्रयास गरिरहेको छ। एमआइएनको भर्खरैको “माइक्रोइन्स्योरेन्सको परिदृश्य २०२१” अध्ययनले ३० देशहरूमा लघु बीमा सुरक्षणमा उल्लेखनीय वृद्धि भएको देखाएको छ, जहाँ अनुमानित १७ करोड ९० लाख  देखि ३७ करोड ७० लाख मानिसहरू बीमाको सुरक्षा छाताभित्र समेटिएका छन्। कोरोना महामारी कोभिड-१९ ले जोखिमबारे जनचेतना बढाउँदै र विशेष गरी स्वास्थ्य बीमाको मागलाई तीब्र बनाउँदै यसको वृद्धिमा भूमिका खेलेको थियो।

एमआइएनका कार्यकारी निर्देशक क्याथरिन पुल्भरमाचरले लघु र समावेशी बीमा बजारको विकासमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको भूमिकालाई जोड दिन्छिन्। उनले ठूला बीमकहरूलाई साझेदारी, वित्तीय लगानी, र नवीनतालाई अँगालेर समावेशी बीमाको लागि थप रणनीतिक दृष्टिकोण अपनाउन आग्रह गरेकी छिन्।

प्रविधि, विशेष गरी इन्सुरटेक र ब्लकचेनले लघु बीमाको पहुँच र दक्षता विस्तार गर्न आशाजनक मार्गहरू प्रदान गर्छ। ब्लकचेनलाई बीमामा हुने ठगी धोकाधडी कम गर्न र बीमा खरिद गर्ने तथा बीमा दाबी गर्ने प्रकृयाहरूलाई सुव्यवस्थित गर्न प्रयोग गर्न सकिन्छ। नेपाल लगायत विकासशील देशहरूमा डिजिटल खाडल ठूलो चुनौती बनेको छ। मोबाइल फोन र इन्टरनेट पहुँचमा असमानता, उच्च डेटा लागत, र डिजिटल साक्षरताको कमीले एप-आधारित समाधानमा पहुँच कठिन बनाउँछ।

नेपाल, अन्य धेरै विकासशील राष्ट्रहरू जस्तै, जटिल जोखिमहरूको सामना गरिरहेको छ, जसमा जलवायू परिवर्तन, भूकम्पीय जोखिम, खाद्य सुरक्षा संकट, र आर्थिक अस्थिरता समावेश छन्। यी चुनौतीहरूले अनुकूलित लघु बीमा समाधानहरूको आवश्यकतालाई अझ स्पष्ट बनाउँछन्।

लघु बीमाको बिस्तारका लागि प्रत्येक बीमकलाई अनिवार्यरूपमा लघु बीमालेख र म्यादी बीमालेख बिक्री गर्न नियामक, प्राधिकरणले निर्देशन र दबाब दिई रहेको छ। यसबाहेक घनिभूतरूपमा लघु बीमाको विस्तार गर्ने रणनीति अन्तर्गत जीवन र निर्जीवन बीमा व्यवसायका लागि सातवटा विशिष्टीकृत लघु बीमकलाई  पनि इजाजत प्रदान गरेको छ। विशुद्ध लघु बीमकको रूपमा बेग्लै बीमा कम्पनी अस्तित्वमा रहेको नेपालको बीमा बजारमा मात्र हो।

लघु बीमा सेवालाई  बीमकको संस्थागत सामाजिक उत्तरदायीत्वसँग समेत प्राधिकरणले आबद्ध गर्ने प्रयास गरेको छ। अति विपन्न र पिछडिएका घरपरिवार वा समुदायको बीमाका लागि बीमाशुल्क वापतको रकम सामाजिक उत्तरदायीत्व कोषबाट व्यहोर्न सक्ने व्यवस्था गरिदिएर प्राधिकरणले उदारता प्रदर्शन गर्न बीमकलाइ नैतिक दबाब दिइ रहेको अवस्था छ। यद्दपी यस्तो कोषको रकमबाट विपन्न वर्गको बीमा गरिएको विषय सार्वजनिक जानकारीमा अझैसम्म अाएको छैन। केही बीमकले खेलाडीहरूको निःशुल्क खेलकुद र म्यादी बीमासम्म गरिदिएका छन् ।

लघु बीमाको बिस्तारका लागि लघु वित्त वित्तीय संस्था, साना किसान समूह, आमा समूह, सहकारी संस्थाहरूले पनि योगदान गरिरहेका छन् ।

“पहिलो चरण भनेको ग्राहकको आवश्यकतामा लगानी गर्नु र उनीहरूको जोखिम बुझ्नु हो,” पुल्भरमाचर भन्छिन्। उनले प्रभावकारी रूपमा ग्राहकहरूमा पुग्न कृषि सहकारी र सामुदायिक समूहहरूसँग साझेदारी गर्दै नवीन वितरण मोडेलहरूको आवश्यकता औंल्याउँछिन्। “हामीले उनीहरूलाई रात अनिंदो बनाउने जोखिमहरू बुझ्नुपर्छ र तिनलाई सम्बोधन गर्ने समाधानहरू विकास गर्नुपर्छ।”

एमआइएनको हालको पाँच-वर्षे रणनीतिक योजनाले २०३० सम्ममा ३.५ बिलियन मानिसहरूमा पुग्ने लक्ष्य राखेको छ। पुल्भरमाचरले आफ्नो पहुँचलाई थप देशहरूमा विस्तार गर्ने, विकासशील क्षेत्रहरूमा बढ्दो सदस्यता र साझेदारीको माध्यमबाट थप दिगो बन्ने, र समावेशी बजार विकासलाई उत्प्रेरित गर्न राष्ट्रिय इकोसिस्टमहरूसँग प्रत्यक्ष रूपमा संलग्न हुने रणनीति पेश गरेकी छिन् । उनी भन्छिन्,”हामी सानो संस्था भए पनि, क्षेत्रीयकरणमा लगानी गरिरहेका छौं, किनकि हामी विश्वास गर्छौं कि यसले सकारात्मक परिवर्तन ल्याउनेछ।”

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS