IME Life New
GBIME

नेपाली बजारमा बिक्री भइरहेका बीमालेखमा महिलाको खोजी

SPIL
Global College
NLIC

काठमाडौं । नेपाली बजारमा लघु र परम्परागत बीमकसमेत ३५ वटा इजाजत प्राप्त बीमा कम्पनी सञ्चालनमा छन्। बीमा कम्पनीहरुले विभिन्न वर्गका बीमितको आवश्यकतालाई मध्यनजर गर्दै फरक–फरक प्रकृति र विशेषताका बीमालेख प्रचलनमा ल्याएका छन्।

परम्परागत बीमा व्यवसाय गर्दै आएका पुराना बीमा कम्पनीको साटो विशिष्टीकृत बीमा कम्पनीका माध्यमबाट विपन्न, पिछडिएका र सीमान्तकृत वर्गको सहज पहुँचमा बीमा पुर्याउने सरकारको रणनीतिअन्तर्गत ४ वटा लघु निर्जीवन र ३ वटा लघु जीवन बीमा कम्पनीलाई इजाजत दिइएको हो। सीमान्तकृत र विपन्न वर्गलाई बीमा सुरक्षाको छातामुनि समेट्नका लागि सस्तो बीमाशुल्क दरका र थोरै बीमांकका बीमालेखहरु लघु बीमकले प्रचलनमा समेत ल्याएका छन्।

Crest

देशको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिलाको आर्थिक उत्थान र समावेशिताका लागि पनि बीमा कम्पनीहरुले विचार गर्नुपर्ने ढिलो भइसकेको छ। जीवन होस् वा निर्जीवन कुनै पनि बीमा कम्पनीले कुल जनसंख्याको यति ठूलो हिस्सा ओगटेको महिला लक्षित बीमा योजनाहरु प्रचलनमा ल्याउन सकेका छैनन्। सीमान्तकृत वर्गको उत्थानका लागि अस्तित्वमा आएको लघु बीमकका लागि महिला बीमित व्यवसाय विस्तारसँगै संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने एउटा उपयुक्त विकल्प हुन सक्छ।

‘नेपालमा महिलाका लागि जीवन बीमा उत्पादनको प्रभावकारिता र पहुँच’ शीर्षकमा शोधपत्रको तयारी गरेका आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ राणनीति अधिकारी इन्द्रराज सुवेदीले नेपालमा ग्राहकको आवश्यकताअनुसारको बीमा योजनाको अवधारणा नभएकोले महिला विशेष योजना वा बीमितको आवश्यकताअनुसारको बीमा योजना नरहेको बताए। ‘बीमितको आवश्यकताबमोजिमको बीमा योजना ल्याउन सकियो बीमामा मानिसको आकर्षण बढ्छ, यसले बीमाको पहुँच पनि विस्तार हुन्छ’, उनले भने।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले पनि केही विशेष क्षेत्रको माग र आवश्यकता सम्बोधन गर्न तथा बीमालेखको माध्यमबाट हुन सक्ने विकृतिलाई निरुत्साहित गर्न निश्चित प्रकृतिको बीमालेख प्रचलनमा ल्याउने गरेको छ। प्राधिकरणले नै विशेष प्रकृतिका बीमालेखहरु तयार पारेर सबै बीमकमार्फत प्रचलनमा ल्याउँदा महिला लक्षित बीमालेख तयार पार्ने वा प्रचलनमा ल्याउने सम्बन्धमा चासो दिएको छैन।

नेपालको जीवन बीमा बजारमा १४ कम्पनीले विभिन्न नाममा १०० भन्दा बढीको संख्यामा बीमालेख प्रचलनमा ल्याएका छन्। यति ठूलो संख्यामा बीमालेख प्रचलनमा रहँदासमेत महिलाका लागि विशिष्टीकृत प्रकृतिको बीमालेख अस्तित्वमा देखिएको छैन। गृहिणी, महिला पेसाकर्मी, महिला किसान, महिला उद्यमीलगायतको आर्थिक पृष्ठभूमि, बचत क्षमता, रोजगारीको प्रकृति, आम्दानीको स्थायित्व, उनीहरुको पेसा व्यवसायसँग जोडिएको जोखिमलाई लक्षित गर्दै विशिष्टीकृत बीमालेखको आवश्यकता नेपाली बजारले महसुस गरिरहेको छ।

महिला समूह, आमा समूह, बचत समूह, महिला स्वास्थ्य स्वयमसेवी, लघु महिला उद्यमी, महिला किसान समूह, सहकारी सदस्य महिला, कृषक महिला, पशुपालक महिला, अत्यन्तै न्यून आय स्तर भएका विपन्न परिवारका महिलालाई विशेष प्रकृतिको बीमालेखमार्फत सुरक्षाको प्रत्याभूति गराउनुपर्छ।

निर्जीवन बीमकको संगठन नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सबैखाले महिलालाई समेट्न समावेशी बीमा योजनाको आवश्यकता महसुस गरिएको बताए। ‘पहिला महिला लक्षित एउटा बीमा पोलिसी थियो तर पछि बन्द भयो’, उनले भने, ‘अहिले फेरि विभिन्न क्षेत्र र परिस्थितिमा रहेका महिलाका लागि विशेष बीमा योजना ल्याउन बीमकहरुबीच कुराकानी भइरहेको छ।’

महिलालाई सुरक्षित अनुभव गराउन र उनीहरुको सशक्तीकरणका लागि त्यस्ता पोलिसीहरु आवश्यक रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओसमेत रहेका क्षेत्रीको भनाइ छ।

जीवन बीमाका लागि कुनै पनि महिलालाई प्रस्तावक वा बीमितका रुपमा अघि सार्दा गृहिणी महिलाको हकमा सकेसम्म बीमकले बीमा गर्नुलाई प्राथमिकता दिँदैनन्। गृहिणी भएकाले आर्थिक रुपमा घरको पुरुष वा अन्य कुनै सदस्यमाथि निर्भर हुने भएकाले बीमकको पहिलो प्राथमिकता जागिर वा व्यवसायबाट आम्दानी गर्ने सदस्यको बीमा गर्ने हुन्छ।

महिलाले गृहिणीकै रुपमा भए पनि घर–परिवारभित्र अप्रत्यक्ष रुपमा वित्तीय बचतका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। महिलाले घरभित्रै बसेर घरको सरसफाइ, रेखदेख, भान्छाको काम, स्याहार–सुसार, दैनिक उपभोगका सामानको किनमेल र नियमित आपूर्तिको सुनिश्चितता गरिदिँदा बाँकी सदस्यहरु ढुक्क भएर आफ्नो दिनचर्या सञ्चालन गर्न सहज मान्छन्।

बीमायोग्य हितको पक्षलाई मध्यनजर गर्दै आय–आर्जन गर्ने व्यक्तिलाई बीमितका रुपमा प्राथमिकतामा राख्नुपर्ने बीमा कम्पनीको जोखिमांकन प्रक्रियाअन्तर्गतको मानक हो।

बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले महिला विशेष बीमा योजना ल्याउन प्राधिकरणले अध्ययन गरिरहेको बताए। ‘हामीले अझै पनि बीमाको पहुँचका कस्ता वर्गका महिला सहभागिता हुन नसकेको भन्ने विषयमा अध्ययन गरिरहेका छौँ’, उनले भने, ‘विभिन्न दातृ संस्थाले पनि यसबारे गृहकार्य गरिरहेका छन्।’

बजारको आवश्यकतालाई हेरेर बीमा कम्पनीहरु आफैँले महिलालाई लक्षित गरेर विशेष बीमा योजना ल्याउन सक्ने अधिकारीले बताए। ‘प्राधिकरण पनि बीमा योजना ल्याएर लागू गर्न पनि सक्छ’, उनले भने, ‘प्राधिकरणको ध्यान त्यतातिर पनि केन्द्रित रहेको छ।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS