काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरिरहेका छन्। नेप्सेमा सूचीकृत १० वाणिज्य बैंक र ३ विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन्।
वाणिज्य बैंकमध्ये नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंक तथा विकास बैंकमध्ये कामना सेवा, शाइन रेसुंगा र मितेरी डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरिसकेका हुन्।
सानिमा बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले यस वर्ष बोनस नदिई नगद लाभांश दिने निर्णय गरेको हो। बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ।
ग्लोबल आइएमई बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५.५ प्रतिशत बोनस शेयरमात्रै दिने घोषणा गरेको छ। यस वर्ष बैंकले नगद लाभांश नदिने भएको छ। बैंकले मंसिर ९ गते बुक क्लोज गरिसकेको छ।
सिटिजन बैंकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर दिने भएको छ भने कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले लाभांश पारित गर्न १८ औँ वार्षिक साधारणसभा कात्तिक १२ गते काठमाडौँको डिल्लीबजारस्थित अमृतभोमा सम्पन्न गरिसकेको छ।
एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमध्ये बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ भने ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बैंकले साधारणसभा पनि सम्पन्न गरिसकेको छ।
नबिल बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। बैंकले बुक क्लोज गरिसकेको छ।
प्राइम कमर्सियल बैंकले आर्थिक वर्षको २०८०।८१ का लागि गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले शेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ। बैंकले पनि बुक क्लोज गरिसकेको छ।
यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २५.५ प्रतिशतले लाभांश घोषणा गरेको छ। जसमा ६.५ प्रतिशत बोनस शेयर र करसहित १९ प्रतिशत नगद लाभांश छन्। बैंकले बुक क्लोज गरिसकेको छ।
लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता बोनस शेयर र कर प्रयोजनार्थ ६ करोड १० लाख १८ हजार ८२८ रुपैयाँ नगद लाभांश छन्।
नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैयाँको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
यसैगरी सिद्धार्थ बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकको बुक क्लोज मिति तय भएको छैन भने बाँकी सबैले बुक क्लोज गरिसकेका छन्।
यता विकास बैंकहरुमा भने हालसम्म मितेरी डेभलपमेन्ट बैंक, कामना सेवा र शाइन रेसुंगाले मात्रै लाभांश घोषणा गरेका छन्। कामना सेवाले आर्थिक वर्ष २०८०।८१ को चुक्तापुँजीको १२ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसमेत) गरी १२ प्रतिशत लाभांश घोषणा गरेको हो। कामना सेवाको असोज ३० गते सम्पन्न १८ औँ वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरिसकेको छ।
त्यस्तै शाइन रेसुंगाले हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। शाइन रेसुंगाले बुक क्लोजको मिति तय गरेका छैन।
मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३.३६ रुपैयाँको कुल १०.००८३ प्रतिशतले हुन आउने ११ करोड १२ लाख ३५ हजार १८५.९४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ९.५०७९ प्रतिशतले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४२६.६४ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५००४ प्रतिशतले हुन आउने ५५ लाख ६१ हजार ७५९.३० रुपैयाँबराबरको नगद लाभांश छन्।
लाभांश घोषणा गरेका ३ विकास बैंकमध्ये मितेरी डेभलपमेन्ट बैंक र शाइन रेसुंगाको बुक क्लोज मिति तय भएको छैन भने कामना सेवाले बुक क्लोज गरिसकेको छ।