Prabhu Life Ad Final

ग्राहकसँग पैसा नभएर भन्दा पनि कन्फिडेन्स कमजोर हुँदा बीमा व्यवसाय खस्कियो, पोषक पौडेलसँगको अन्तर्वार्ता

IME PAY
IME Life

काठमाडौं । जीवन बीमा व्यवसायमा धेरै समय पछि नेगेटिभ ग्रोथ देखिन थालेको छ । विगत ५/७ वर्षदेखिको आक्रामक सुधारमा पुर्णविराम मात्रै लागेको छैन । प्रथम बीमा शुल्क आर्जनमा लगातार गिरावट आइरहेको छ । जीवन बीमा व्यवसायमा देखिएको स्लोडाउन, प्रचलित अभ्यास र जीवन बीमा क्षेत्रका प्रमुख मुद्दाहरुका विषयमा केन्द्रित भएर इन्स्योरेन्स खवरका सम्पादक अरुण सापकोटाले नेपाल बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल सँग गरेको कुराकानीको भिडियो सहित सम्पादित अंश :

जीवन बीमा व्यवसाय खस्किदो क्रममा छ । प्रथम बीमा शुल्क आर्जनलाई नै हेर्ने हो भने २८ प्रतिशत भन्दा धेरैले घटेको छ । जीवन बीमा क्षेत्रमा मन्दी देखिएकै हो ?

जीवन बीमा क्षेत्रमा समग्र अर्थतन्त्रमा परेको प्रभावको असर देखिएको छ । यसलाई म मन्दि भन्दा पनि स्लो डाउन भन्छु । अलिकति स्लो भएको हो । समग्रमा हाम्रो ग्राहकको व्यवहारलाई हेर्दा उहाँहरु सँग पैसा नभएको भन्दा पनि कन्फिडेन्स कमजोर भएको छ । यसले हाम्रो व्यवसायमा अलिकति असर गरेको छ । यो समग्र वित्तीय क्षेत्रकै प्रभाव हाम्रोमा पनि परेको हो ।

वित्तीय क्षेत्रमा परेको प्रभावले कस्तो कस्तो क्षेत्रमा असर पारेको छ ?

यसले एउटा नयाँ व्यवसायमा असर पुर्याएको छ । नयाँ व्यवसायमा गत वर्षको भन्दा यस पटक कम व्यापार भयो । दोस्रो नविकरण हुनु पर्ने हो त्यसको मात्रा पनि गत वर्ष हेरिकन अलिकति स्लो छ । भनेको ल्याप्सेस अलिकति बढ्दो छ । तेस्रो कारण बीमालाई निरन्तरता नदिने अर्थात सरेण्डर गर्नेको संख्या बढिरहेको छ । बीमित सँग आम्दानीका अन्य स्रोतहरु नभएको तथा कम भएको अवस्थामा सरेण्डर गर्न सकिन्छ कि भने प्रस्ताव गर्ने क्रम बढेको छ । यसका लागि हाम्रोमा आएर सोध्ने सुझाव लिने क्रम बढेको छ । मुख्यतया यि तीन वटा क्षेत्रमा प्रमुख असर गरेको छ ।

अर्थतन्त्रमा स्लो डाउन आयो भन्दै गर्दा कतिपय होटल खचाखच छन् । विदाको समयमा होटल पाइदैनन् । जसले पर्यटन क्षेत्रमा केहि सुधार देखिएका पनि छन् । यसलाई हेर्दा त हामीले बीमा प्रति आम मानिसलाई आकर्षित गर्न नसकिएको हो ?

हो । बीमा मात्रै नभएर अन्य क्षेत्रलाई हेर्दा पनि मानिसहरु सँग बीमा गर्ने पैसा नै नभएको भन्दा पनि अहिले लगानी गर्ने कुरामा कन्फिडेन्स कम भएको हो । बीमामा मात्रै नभएर उद्योग, कल कारखाना खोल्ने, व्यापार गर्ने र अन्य क्षेत्रमा लगानी गर्ने कुरामा कन्फिडेन्स छैन । जस्तै शेयर बजारलाई हेर्न सकिन्छ । लगानी गर्नलाई भोलि आर्थिक अवस्था के हुन्छ के हुन्छ भन्ने अवस्था छ । बीमा पनि लगानीके क्षेत्र हो । त्यसमा पनि ठुलो हिस्सा बचतसम्बन्धी पोलिसीहरु बिक्री हुन्छन् । त्यस हिसावले लगानी गर्ने व्यक्तिहरुलाई अहिलेको अवस्थामा केहि अप्ठ्यारो परेको हो ।

होटल पार्टीप्यालेसहरुमा खचाखच छ । बुक गर्न खोजिएको समयमा पाइदैन । होटलमा गर्नै पर्ने र सेडुलमा भएका कारणले उनिहरुले गरिरहेका छन् । त्यसमा पनि गर्नै पर्ने कुराबाहेक अन्य कुराहरु नगरेको पनि देखिन्छ । कोरोनाको समयमा भन्दा पनि अहिले मानिसहरु अलि संवेदनशिल भएका हुन् । विश्वासको वातावरणका लागि केहि मानिसहरु पर्ख र हेरको अवस्थामा छन् । मानिसहरुलाई भेट्दा सकारात्मक नै देखिन्छन् । लगानी गर्नु पर्यो भन्दा सकारात्मक संकेत दिने गरेका छन् ।

केहि महिना पहिला माइक्रोइन्स्योरेन्स कम्पनीको लाइसेन्स आह्वान गर्दा ३१ वटाको आवेदन पर्यो । त्यहि ३१ वटा कम्पनीका लागि ७५ करोडकै दरले हिसाव गर्ने हो भने २३ अर्ब भन्दा माथिको आवेदन हो । मानिसहरुले उपयुक्त क्षेत्रमा लगानी पनि गरिरहेका छन् । तर सहज हुनका लागि भने केहि समय लागेको हो ।

बीमा कम्पनीहरुले पोलिसी बिक्री गर्न धेरै नै इफोर्ट प्रयोग गरेका हुन्छन् तर पछिल्लो समय धेरै दुखका साथ भित्र्याइएका बीमा पोलिसीहरु सरेण्डर हुने क्रम बढेको छ । कस्ता कस्ता बीमितहरुले सरेण्डर गरिरहेका छन् ?

सरेण्डर बीमा पोलिसीको एक विशेषता पनि हो । बीमितले विभिन्न कारणले गर्दा पोलिसीलाई निरन्तरता दिन नसक्ने भयो, प्रिमियम तिर्न नसक्ने भयो अथवा पैसा खाचो पर्यो भने सरेण्डर गर्न पाउनु बीमाको एउटा फिचर नै हो । यो बीमितले पाउनु पर्ने भनेर पोलिसीमै ल्याइएको कुरा हो ।

आर्थिक हिसावले र आफ्नो आम्दानीबाट पोलिसीलाई निरन्तरता दिन नसक्ने व्यक्तिहरुले सरेण्डर गरिरहेका छन् । दोस्रो कारण योजनाबद्ध रुपमै सरेण्डर पनि भइरहेका छन् । निश्चित समय पछि सरेण्डर गर्ने गरी पोलिसी खरिद गरिएको भन्ने पनि सुनिने गरेको छ । मुख्यतया यि नै दुई क्षेत्रमा सरेण्डर भएका छन् । यि दुई मध्ये कसको आकार कत्रो छ भन्ने कुरा फरक विषय रह्यो । समग्रमा भन्नु पर्दा मानिसहरुलाई पैसाको आवस्यकता परेर पोलिसी फिर्ता लिएको चाँही हो ।

सरेण्डरलाई घटाउन बीमितहरुलाई के कस्ता प्रोत्साहनका कार्यक्रम गर्न सक्छौ ?

पहिलो कुरा सरेण्डर गर्दा तपाईलाई पनि फाइदा छैन र कम्पनीलाई पनि फाइदा छैन भनेर उहाँहरुलाई बुझाउन सक्नु पर्छ । दोस्रो कुरा सरेण्डर गरिसके पछि बीमितको रक्षावरण हुँदैन । र उहाँले पुनः बीमा पोलिसी गरिद गर्दा उहाँको उमेर बढिसकेको कारणले धेरै महंगो पर्छ । जुन उमेरमा उहाँले पोलिसी खरिद गर्नु भएको थियो आजका दिनमा महंगो पर्न जान्छ ।

तर नविकरण बीमा शुल्क भुक्तानी गर्दा पुरानै दर अनुसार भुक्तानी गर्न पाइन्छ । त्यसैले उहाँलाई सरेण्डर गर्नु भन्दा नगर्दा फाइदा हुन्छ । कतिपय अवस्थामा पोलिसी खरिद गर्नै नपाउने हुन सक्छ । स्वास्थ्यका कारणले खरिद गर्न नसकिने हुन्छ । बीमा पोलिसीलाई निरन्तरता दिदा नै पाइदा छ भनेर उहाँहरुलाई काउन्सिलिङ गर्न जरुरी छ ।

आर्थिक मन्दीका कारण बीमितहरुलाई पैसाको खाचो परेकाले सरेण्डर भइरहेको छ भन्ने कुराहरु आइरहदा यसलाई कसरी संबोधन गर्न सकिएला ?

आर्थिक मन्दी केहि समयका लागि हो । यो धेरै लामोसमयसम्म जादैन । बीमामा एउटा सहज उपाय बीमालेख धितोकर्जा पनि रहेको हुन्छ । पोलिसी नै बन्द गर्नु भन्दा उहाँहरुले एउटा उपायका रुपमा बीमालेख धितोकर्जा लिन सक्नु हुन्छ ।

अहिलेको अवस्थामा कर्जा लिने र आर्थिक अवस्था सामान्य हुने वित्तीकै उक्त कर्जा भुक्तानी गरिदिन सकिन्छ । बीमितका लागि कुनै पनि हिसावले सरेण्डर गर्नु उत्तम विकल्प होइन ।

नेपाल बीमा प्राधिकरणले शाखा कार्यालय सञ्चालन सम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ । मार्गदर्शन अनुसार कति जति शाखा कार्यलायहरु नयाँ व्यवस्था अनुसार सञ्चालन भएका छन् ?

यसको तथ्याङ्क हेर्नै पर्छ । यसमा दुबै पक्ष रहेको छ । एउटा पक्ष केहि शाखा कार्यालयहरुले जुन तहमा काम गरिरहेका छन् उनिहरुले आफ्नो स्तर उठाउनु पर्ने छ । केहि शाखा कार्यालयहरु प्राधिकरणले निर्धारण गरेको मापदण्ड भन्दा धेरै राम्रो सँग सञ्चालन भइरहेका छन् । यो मार्गदर्शनले शाखा कार्यालयको स्तरउन्नती गर्न केहि मद्दत पनि गर्छ ।

सँग सँगै हाम्रो दिशा कता जाने भनेर नियामक सँग बसेर पनि कुरा गर्छौ । नियामकले के कस्तो चाहना गर्नु भएको छ र कस्तो भइदियोस् भन्ने चाहनु भएको छ भनेर छलफल गर्न बाँकी छ । र हामी सँग भएको स्रोत साधनका आधारमा कसरी राम्रो भन्दा राम्रो सेवा सुविधा दिन सकिन्छ भनेर पनि छलफल गर्नु पर्नेछ । हाम्रो सेवा र गुणस्तरमा सुधार गर्नु पर्ने भएकाले यसले राम्रै भुमिका खेल्छ ।

कम्पनीको कष्ट अफ प्रोडक्सन घटाउनु पर्छ भनिरहदा बीमा प्राधिकरणले ल्याएको शाखा कार्यालय सम्बन्धी नयाँ मार्गदर्शन अनुसार धेरै खर्च बढ्ने देखिन्छ । ति कुराहरुलाई कसरी व्यवस्थापन गर्न सकिएला ?

यसमा पहिला उहाँहरु सँग छलफल गरे पछि केहि कुराहरु अझै टुङ्गिएला । चुक्ता पूँजीमा न्युनतम यति होस भने जस्तै उहाँहरुले शाखा कार्यालयहरुको हकमा पनि न्युनतम यति हुनै पर्छ भनेर मार्गदर्शन बनाउनु भएको हो । त्यो भन्दा बढि सेवा प्रदान गर्ने ठाउँमा न्युनतम भन्दा बढि पनि चाहिएला । त्यस्तै कम व्यवसाय हुने ठाउँमा कसरी जाने भन्ने कुरा आइरहेको छ । शाखा कार्यालयलाई उपशाखा कार्यालयमा जानेसम्मका कुरा आएका छन् ।

कम्पनीले रणनीति बनाएर कुन कुन अवस्थामा आउछ, यस भन्दा पहिला आफ्नोमा के कस्ता कमजोरी रहेका पत्ता लगाउने र मार्गदर्शन कार्यान्वयन गर्ने क्रममा के कस्ता चुनौतीहरु छन् भनेर विश्लेषण गर्नु पर्नेछ । यसको कार्यान्वयन गर्दै गर्दा खर्च बढ्ने अवस्था कत्तीको रहन्छ । अहिले यसका लागि अध्ययन गर्ने समय पनि हो । किनभने कम्पनीहरुले नयाँ आर्थिक वर्षमा आ-आफ्नो नीति तथा कार्यान्वयन बनाउदैछन् । यसरी योजना बनाउदा कम्पनीलाई कत्तीको भार पर्छ भन्ने कुरालाई हेरेर पनि छलफल गर्ने ठाउँ रहन्छ ।

नेपाल राष्ट्र बैंकले बीमा कम्पनीको व्याजदर सर्वसाधारणको भन्दा दुई प्रतिशतले कम हुने व्यवस्था गरिदिएको छ । जवकी बीमा कम्पनीले बैंकमा लगानी गर्ने पैसा पनि ‍सर्वसाधारण बीमितहरु सँगै उठाइएको हुन्छ । यस्तो अवस्थामा बीमितले पाउने प्रतिफल पनि घट्छ । तपाईहरुले यस विषयमा राष्ट्र बैंक सँग कसरी छलफल गरिरहनु भएको छ ?

हामीले सम्बन्धित पक्षलाई विभिन्न माध्यमबाट यस विषयमा भनिरहेका छौ । बीमा कम्पनीको निक्षेप बैंकिङ प्रणालीले संकलन गर्ने निक्षेप भन्दा पनि अझ तल्लो तहका सर्वसाधारणहरु सँग संकलन गरिएको पैसा हो । त्यसैले यसलाई संस्थागत निक्षेपको रुपमा हेरेर फरक व्यवहार गर्नु हुँदैन ।

बीमाले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउन काम गरेको छ । संसार भरि नै बीमा कम्पनीहरु ग्रासरुट लेभलमा पुग्छन् । हामी हाम्रो अभिकर्ता मार्फत धेरै नै तल्लो तहमा पुग्छौ । बैंक गाउँपालिका, नगरपालिका तथा सदरमुकाम जस्तो केन्द्रमा बसेर निक्षेप संकलन गरिरहेको हुन्छ ।

बीमा अभिकर्ताहरु गाउँपालिकाको घर घर टोल टोल पुगेका हुन्छन् । त्यहाँबाट हामीले रिटेल पैसा ल्याएका हुन्छौ । यस्तो कुरालाई प्रोत्साहन गर्ने हो । राष्ट्र बैंकले पनि भोलिका दिनमा अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याउन प्रोत्साहन गर्न खोज्ने हो भने बीमा एउटा बलियो माध्यम हो । त्यसैले बीमा कम्पनीहरुलाई संस्थागत रुपमा ट्रिट गर्नै हुँदैन ।

दक्षिण एशियाकै अन्य देशहरुलाई हेर्नु भयो भने यहाँको भन्दा ठिक्क उल्टो छ । सकेसम्म यस्ता संस्थाहरुलाई व्याजदर प्लस हुन्छ । हामीले बुझाउन सकिएन त्यसैले यहाँ उल्टो छ । राष्ट्र बैंकमा पनि हामीले निवेदन पेश गरेका छौ । सँग सँगै अर्थमन्त्रालयमा पनि कुरा राखेका छौ । हामीले हाम्रो हिसाबले पहल गरिरहेका छौ ।

यहि कुरालाई सबैमा बुझाउन के गर्न सकिएला ?

हामीले बुझाउन जरुरी छ । हामीले संकलन गर्ने निक्षेप संस्थागत होइन यो व्यक्ति व्यक्ति सँग संकलन गरेर कोषको रुपमा संकलन भएको रकम हो भनेर बुझाउन पर्नेछ । अव आउने बजेटका छलफलका पनि यो कुरालाई उठाउने छु । बजेटको छलफल कमिटीको उपसमितिमा म पनि रहेकाले यसलाई मैले राम्रै सँग उठाइरहेको छु । राज्यलाई सरकारलाई ज-जसले यसको निर्णय गर्ने हो सबै पक्षलाई भन्ने छौ । म जीवन बीमक संघ नेपालको अध्यक्ष भएका नाताले र कम्पनीको तर्फबाट पनि भन्ने छु ।

निर्जीवन मात्रै होइन जीवन बीमा कम्पनीहरुमा पनि अभिकर्ता र कर्मचारीको मिलेमतोमा उधारोमा पोलिसी बिक्री भइरहेका छन् भन्ने चर्चा बाहिर सुन्नमा आइरहेका छन् । यसलाई कम्पनीहरुले कसरी हेरिरहेका छन् ?

जीवन बीमा कम्पनीहरुमा उधारोमा बीमा पोलिसी बिक्री गर्न सकिन्छ भन्ने मलाई लाग्दैन । पैसा नभइकन रसिद काट्न मिल्दैन । अफिसमा अनिवार्य पैसा आउनै पर्छ । बीमा प्राधिकरणले बीमा कम्पनीको बैंक खातामा रकम जम्मा नभएसम्म जोखिम बहन नै हुँदैन भनेर निर्देशिका जारी गरेको छ । त्यसैले पनि उधारोमा पोलिसी जारी हुन्छ भन्ने कुरा कसरी आयो भन्ने लाग्छ । जीवन बीमा कम्पनीमा यस्तो समस्या छैन ।

सिटिजन लाइफकै कुरा गर्दा पछिल्लो आर्थिक मन्दीको प्रभाव सिटिजन लाइफमा कत्तीको परेको छ ?

समग्र बीमा उद्योगमा असर परेको जस्तै हाम्रोमा पनि परेको छ । समग्र बीमा क्षेत्रमा परेको असरको प्रतिशत बराबर नै हाम्रोमा पनि छ । अन्यमा जस्तो हाम्रोमा सरेण्डरको प्रभाव त्यति धेरै परेको छैन । ल्याप्सेसमा पनि हामी राम्रो लेभलमा छौ । गत वर्षका बीमा पोलिसी मध्ये ९३ प्रतिशत पोलिसी नविकरण भएका छन् । हाम्रोमा ७ प्रतिशत मात्रै ल्याप्सेस हो । यो एकदमै राम्रो मानिन्छ । नयाँ व्यवसायमा केहि गिरावट आएको छ । हाम्रोमा मात्रै होइन समग्र बीमा कम्पनीहरुमै असर पुर्याएको छ ।

अलिकति राम्रो वातावरण बन्ने वित्तीकै हाम्रो टिमलाई अझ मोबिलाइज गर्नेछौ । यस्तो अवस्थामा झन् आम मानिसहरुलाई बुझाउनु पर्ने छ । तपाईलाई जब जब जोखिम र चिन्ता बढ्छ त्यस बेला जीवन बीमा आवश्यक पर्छ । तपाईका चुनौतीहरु बढ्दै गर्दा झन् बीमा आवश्यक पर्छ भनेर काउन्सिलिङ गर्नु पर्नेछ । बीमा आधारभुत आवश्यकता हो भनेर बुझाउन सक्नु पर्नेछ । गाह्रो पर्दा चाहिने चिज जीवन बीमा हो भनेर बुझाउन आवश्यक छ ।

समग्रमा सरेण्डर बढिरहेको छ । सिटिजन लाइफले सरेण्डर हुन नदिन र घटाउन के कस्तो पहल गरिरहेको छ ?

हामीले त्यसलाई छुट्टै रणनीतिका हिसाबले भन्दा पनि नियमित रुपमा दैनिक टास्कको रुपमा अगाडी बढाएका छौ । सरेण्डरका लागि कसैले प्रस्ताव गर्छ वा बुझ्न आउछ भने हामीले किन के कारणले गर्नु पर्यो भनेर सोधपुछ गर्छौ ।

हामीले हरेक विभाग र शाखा कार्यालयलाई काउन्सिलिङ गराउन लगाएका छौ । उहाँहरुले मजाले काउन्सिल गराउनु हुन्छ । बीमितलाई के कारणले सरेण्डर गर्न थाल्नु भयो, किन सरेण्डर गर्न लाग्नु भयो भनेर बुझ्छौ । हामीले केहि बीमा पोलिसीमा बीमाङ्क रकम घटाउन पाउने सुविधा पनि दिएका छौ । काउन्सिलका क्रममा कर्जाले काम चल्छ भने कर्जा दिने । चल्दैन भने पोलिसीलाई निरन्तरता दिन अनुरोध गर्छौ ।

हाम्रो आइपिओको तयारी के कस्तो छ ?

आइपिओका लागि हामीले धितोपत्र बोर्डमा आवेदन दिएका छौ । अहिले हामी क्युमा बसेका छौ । आवेदनमा केहि नपुग कागजपत्र भएमा जानकारी गराउनुहोस् भनेका छौ । उहाँहरुले मागेका कागजपत्र समयमै उपलब्ध गराउने छौ । हामी आशावादी छौ उहाँहले चाँडै नै अनुमति दिनुहुनेछ ।

कम्पनी स्थापना भएको ५/६ वर्ष भयो । कम्पनीहरुले अहिलेसम्म प्रतिफल दिने अवस्था पनि रहेन  आइपिओ निष्काशन पछि कम्पनीले आफ्ना शेयरधनीहरुलाई कत्तीको खुसी पार्न सक्ला ?

हामी हाम्रा प्रतिस्पर्धी कम्पनीहरुको तुलनामा सर्वाधिक राम्रो भ्यालु प्रदान गर्छौ भन्ने विश्वास दिलाउन चाहन्छु । सिटिजन लाइफले भ्यालु रिटर्न अर्थात एउटा लाभांशको रुपमा र कम्पनीको ब्राण्ड नेमबाट पनि भ्यालु रिटर्न दिनेछ । कम्पनीलाई स्थापित गराएर स्थापित कम्पनीको शेयरधनी बनाउने छौ । यि दुबै हिसावले कम्पनीलाई अब्बल बनाउने छौ ।

जीवन बीमा कम्पनीहरुमा पनि मर्जरको लहर चलेको छ । दुई वटा मर्जर सफल पनि भइसकेका छन् । अरु मर्जरको चरणमा छन् । यस्तो अवस्थामा सिटिजन लाइफलाई मर्जरको दवाव कत्तीको छ ?

उहाँहरुकोमा जस्तो हाम्रोमा दवाव छैन । हामीले जसरी राम्रो गर्दै आइरहेका छौ । जसरी अब्बल हिसावले अगाडी बढाइरहेका छौ । हाम्रा स्टेकहोल्डर लगायतका लिडरहरु, कर्मचारी साथिहरु सबैको मनोबल उच्च बनाएर लैजाने र लक्ष्य पुरा गर्ने हो । अरुले के गर्नु हुन्छ भन्ने भन्दा पनि कसरी राम्रो गर्ने भन्ने हिसाबले अगाडी बढेका छौ । उहाँहरुले राम्रो गर्नु हुन्छ भन्दै गर्दा हामी पनि राम्रो गर्ने छौ ।

कम्पनीहरु मध्ये उत्कृष्ट बन्ने जुन किसिमको हाम्रो पहिलो दिनदेखिको टार्गेटलाई पुरा गर्ने हो । उहाँहरुले मर्जरबाट कसरी सिनर्जी ल्याउने भन्दै गर्दा हामीले भइरहेकोबाट कसरी सिनर्जी ल्याउने भन्ने हो । उहाँहरुको मर्जरको अनुभव हाम्रा लागि शिक्षा पनि बन्ने छ । उहाँहरुले मर्जर गरेर राम्रो गर्नुहुन्छ भन्दै गर्दा हामीले पनि उहाँहरु सँगै कसरी राम्रो गर्ने भनेर अगाडी बढ्ने हो ।

हामीले तत्कालका लागि मर्जरको विषयमा केहि सोचेका छैनौ ?

अहिले मर्जरका लागि हामीले केहि पनि गृहकार्य गरेका छैनौ ।

नियाम निकायले निर्धारण गरेको ५ अर्ब कसरी पुर्याउछौ ?

हामी आइपिओमा गए पछि त्यसबाट आर्जन हुने प्रिमियमबाट ५ अर्ब पुर्याउने योजना बनाएका छौ ।

सिटिजन लाइफले आफ्ना बीमितलाई अझ राम्रो बोनसदर दिन के कस्तो कार्यहरु गर्दै छौ ?

आजको मितिमा सिटिजन लाइफको लगानी बजारमा उपलब्ध साधनहरु मध्येबाट सर्वाधिक प्रतिफल पाउने गरी लगानी गरिरहेको छ । र सुरक्षित पनि छ । साथै दीर्घकालिन पनि छ । पछिल्लो समयमा केहि ब्याजदर क्रमशः घट्ने र बजारले पनि घटाउने कुरामा वकालत गरिरहेको अवस्थामा हामीले दीर्घकालिन र राम्रो प्रतिफल आउने गरी लगानी गरिसकेका छौ । त्यो हिसाबले पनि सिटिजन लाइफको लगानी सुरक्षित र राम्रो प्रतिफल आउने ठाउँमा लगानी रहेको छ । साथै शेयरधनीहरुलाई प्रतिफल प्रदान गर्न राम्रो मुनाफा आर्जन गर्ने र भ्यालु रिटर्न दिने गरी काम गरिरहेका छौ । बजारमा अन्य प्रतिस्पर्धी कम्पनीको जत्तिकै प्रतिफल प्रदान गर्ने छौ ।

तपाईले अगाडी पनि भन्नु भयो सिटिजन लाइफले बैंकको व्याजदरले प्रभाव नपार्ने गरी सुरक्षित क्षेत्रमा लगानी गरेको भन्नु भयो । नेपालमा बैंकङ क्षेत्र बाहेक अन्य सुरक्षित लगानीका क्षेत्रहरु के के छन् ?

केहि सेक्टर फिक्स डिपोजिट अझ विदेश तिर यसलाई टाइम डिपोजिट भनिन्छ । केहि लगानी यहि क्षेत्रमा रहेको छ । यसलाई डाइभर्स गर्न विभिन्न बण्डहरुमा लगानी गर्न सकिन्छ । विदेशमा स्थानीय तहरुले पनि स्थानीय बण्डहरु जारी गर्ने अभ्यास रहेको छ । हाम्रोमा पूर्वाधारमा लगानी गर्न र लगानी गर्ने गरी इन्फ्राष्ट्रक्चर बण्ड आउन सकेको छैन ।

त्यस्तो बण्ड भयो भने हामी त्यसमा पनि लगानी गर्न सक्छौ । भारतमा पनि ठुला ठुला बीमा कम्पनीहरु त्यस्तोमा सहभागी हुन्छन् । संयुक्त रुपमा इन्फ्राष्ट्रक्चर बनाउन सक्रिय हुन्छन् । त्यस्तै लगानीका विविध क्षेत्रहरु रहेका छन् जस्तै उर्जा, पर्यटन, कृषि । विभिन्न कम्पनीहरु सँगै हामीले पनि हाइड्रोपावरमा लगानी गरिरहेका छौ । विस्तारै कृषिमा पनि संस्थागत रुपमा र कम्पनी मोडलमा लगानीका मोडालिटी आइरहेका छन् । त्यसमा पनि लगानी गर्दै जाने हो । भविष्य देखिएका पर्यटन, उर्जाका क्षेत्रमा लगानी गर्न सकिन्छ । किनभने भोलिका दिनमा प्रतिफल पनि दिनु पर्नेछ । नियामकले पनि यसमा चलक हुने गरि हामी सँग छलफल गरिरहेको छ । उहाँहरु सँग सल्लाह गरेर लगानीलाई अझै डाइभर्स गर्ने गरी अगाडी जादै छौ ।

प्राधिकरणले इन्भेष्टमेन्ट कम्पनी मार्फत लगानी गर्ने बाटो खुला गरिदिएको छ । तपाईहरुले पनि यसमा केहि योजना बनाउनु भएको छ ?

अहिले हामी गृहकार्य गर्दै छौ । कम्पनीबाट हुन्छ कि अन्य मोडलबाट हुन्छ त्यसमा पनि एक्सप्लोर गर्दै छौ । अहिलेको आर्थिक अवस्था कतितिर मोडिन्छ त्यसलाई हेरेर अगाडी बढाउने भनेर सोचिरहेका छौ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ज्यूले जहिले पनि बीमा कम्पनीहरुलाई नयाँ नयाँ बीमा पोलिसी ल्याउनु पर्यो भनिरहनु भएको हुन्छ । उहाँले नेपालको माटो सुहाउने पोलिसी चाहियो भनिरहदा सिटिजन लाइफले यस तर्फ के कस्तो योजना बनाएको छ ?

पोलिसीमा भेरियसन गर्ने कुरामा केहि सिमाहरु पनि रहेका हुन्छन् । केहि कुरामा उहाँले नयाँ प्रोडक्ट ल्याउनुस् भन्नु भएको छ । हामीले पनि केहि प्रोडक्टमा काम गरिकन अन्तिम अवस्थामा आइपुगेका छौ । नयाँ बीमा योजनाका लागि नियामकबाट अनुमति लिने कुराहरुमा

धेरै नयाँ भन्दै गर्दा बजारलाई पनि सुहाउने किसिमको हुनु पर्छ । धेरै नयाँ हुँदा बजारमा नचलेको अवस्था छ । बजारमा सुहाउने र बजारले धान्न सक्ने किसिमको पोलिसी आवस्यक पर्छ । जस्तै युनिट लिङ्क जस्ता कुराहरु आजको बजारमा उपयुक्त छ कि छैन भनेर हामीले पनि नियामक सँग छलफल गर्छौ । बीमा कम्पनीहरुले नियमित बिक्री गरेका पोलिसीलाई नै ग्राहकहरुले कतिको बुझेका छन् भन्ने हो । पुराना पोलिसी नै ग्राहकरुले कत्तीको बुझेर खरिद गरेका छन् भनेर प्रश्न उठ्छ । अझ यो भन्दा धेरै प्राविधिक कुराहरु गर्दा भोलिका दिनमा बीमितलाई बुझ्न अझै चुनौतीपुर्ण हुनेछ । यति हुँदा हुँदै पनि सिटिजन लाइफले नयाँ योजनाका लागि काम गरिरहेको छ ।

नेपाल बीमा प्राधिकरणले मन्त्रालय सँग मिलेर नियमावली बनाउने काम गरिरहेको छ । तर नियमावली आउन ढिलाइ हुँदा बीमा कम्पनीहरुलाई कत्तीको असहजता हुँदै आइरहेको छ ?

त्यति धेरै कुरामा फरक परेको छैन । पुरानै नियमावली अनुसार काम गरिरहेका छौ । केहि कुरामा प्राधिकरणले सहजिकरण पनि गरेको छ । अभिकर्ताको शुल्क, नविकरण शुल्क लगायतका केहि कुराहरुमा पुरानै व्यवस्थाका आधारमा समाधान गर्दै आउनु भएको छ । यदि नियमावली चाढै आएको भए त्यसमा अझै सहज हुन्थ्यो । तर कामै रोकिएको अवस्था होइन ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS