IME Life

बीमा सर्भेयरहरुको पोर्टफोलियो विभाजनको व्यवहारिक जटिलता, शेर बहादुर बुढाको विश्लेषणात्मक लेख

SPIL
NIC ASIA

काठमाडौं । सर्भेयरहरुको पोर्टफोलियो विभाजन भनेको सर्भेयरहरुको विशिष्टीकृत कार्य विभाजन हो । हालसालै जारी भएको बीमा ऐन २०७९ को दफा ९१(४) मा बीमा सर्भेयरको पोर्टफोलियो विभाजन बारे उल्लेख गरिएको पाइन्छ । ऐनको यस दफाको विश्लेषण गर्दा यस प्रावधानले सर्भे क्षेत्रलाइ विशिष्टीकृत गर्दै बिकसित गर्ने तर्फ मद्धत गर्ने जो कोहिले अनुमान गर्दछ । तर मननीय के छ भने नेपालमा कुनै पनि बिषयगत क्षेत्र यस्तो देखिएको छैन, जसमा विशिष्टीकृत सेवा हुनु पर्छ भनि सैधान्तिक वकालत नगरिएको होस । यस प्रसंगमा ऐन तर्जुमा हुँदाका बखत सर्भेयरको पोर्टफोलियो विभाजन तत्काल आबश्यक/उपयुक्त छ वा छैन अर्थात नेपालको बीमा सर्भे पेसा पोर्टफोलियो विभाजन गर्नुपर्ने स्तरमा पुगी सकेको छ वा छैन ? लगायतका बिषयहरुमा सरोकारवालाहरु बीच गहन छलफल भए/नभएको आदि बारे हाल आएर उल्लेख गरिरहन परेन । तर ऐनमा उल्लेख भइ सकेकाले यसको उपयुक्त र चरणबद्ध कार्यान्वयन सन्दर्भमा सरोकारवालाहरु बीच बेलैमा छलफल/वहस को सुरुवात गर्न यो लेख प्रस्तुत गरिएको छ ।

रक्तदान सर्टिफिकेट जस्ता बीमा सर्भे लाइसेन्सहरुको नेपालमा ओइरो

Prabhu
Crest

कतिपय सर्वसाधारणहरुले अनुमान गरे जस्तो बीमा सर्भेयरको काम क्षतिको फोटो खिच्नु मात्र होइन । प्रिमियम लिने र दिने तथा क्षतिपुर्ति दाबी गर्ने र भुक्तानी दिने आदिका लागि विभिन्न सर्त/बन्देज/दफाहरू समेटिएको बीमा पोलिसी एक करार अर्थात दुइ पक्षहरु बिचको सम्झौता हो । बीमा पोलिसीहरु समेत विभिन्न प्रकारका हुन्छन– मोटर, सम्पति, मरीन, इन्जिनियरिङ, चोरी आदि । सम्झौतारुपी उक्त पोलिसीका प्राबधानहरुका आधारमा दाबी  लाग्ने वा नलाग्ने बारे सर्भेयरले ठोस राय/ठहर दिन सक्नुपर्छ । साथै क्षतिग्रष्त सम्पति अनुसार क्षति मूल्यांकनका आधारहरु खडा गरे पश्चात मात्र सर्भेयरले क्षति-मूल्यांकन गर्न सक्छ । संक्षेपमा भन्ने हो भने बीमा सर्भे, ज्ञानमा आधारित पेसा हो । इन्जिनियरिङ, चिकित्सा र लेखारिक्षण आदि जस्तै सम्बन्धित व्यक्तिमा बीमा सर्भे पेसाका लागि आवस्यक ज्ञान छ/छैन भनि परिक्षाका माध्यमबाट परिक्षण गरे पछि मात्र बीमा  सर्भे लाइसेन्स जारी  गरिने विश्वव्यापी प्रचलन हो । तर नेपालमा हाल सम्म कायम कार्यप्रक्रिया अनुसार ५ दिनको तालिममा सहभागीता जनाएको आधारमा मात्र बीमा सर्भेयर लाइसेन्स जारी गर्ने गरिएकोछ । उक्त ५ दिने तालिम अबधिमा समेत सिकाउन खोजिएका बिषयबस्तु तालिम लिनेले सिक्यो वा सिकेन भन्ने बारेमा कुनै परिक्षा नलिई तालिम कार्यक्रममा हाजिर गरेका सबै व्यक्तिहरुलाई, रक्तदानको सर्टिफिकेट वितरण गरे जस्तो गरि बीमा सर्भेयर हुन योग्य सर्टिफिकेट वितरण गर्ने गरिएकोछ । यस्तो अबैज्ञानिक कार्यप्रक्रियाबाट सर्भे लाइसेन्स प्राप्त गरेका सर्भेयरहरु सक्रिय रहेको नेपालको बीमा सर्भे क्षेत्रमा तत्काल पोर्टफोलियो विभाजन गर्न खोज्नु अव्यवहारिक हो ।

भारतमा लाइसेन्स प्रारम्भिक परिक्षा उत्तीर्ण गरेको व्यक्तिले प्रथम चरणमा ट्रेनी सर्भेयरको लाइसेन्स प्राप्त गर्छ । ट्रेनी सर्भे लाइसेन्स प्राप्त गरेको एक वर्ष पुगे पछि मात्र बीमा सर्भे लाइसेन्स परिक्षामा सामेल हुन पाउछ । यस प्रकारको कार्यप्रक्रिया नेपालमा लागु गर्नुपर्ने महसुस गरि नयाँ बीमा ऐनमा “सर्भेयर लगायतका मध्यस्थकर्ताले तोकिएको परिक्षा पास गर्नु पर्ने प्रावधान” राखिएको छ । यसकारण २ चरणको परिक्षा पास गरे पश्चात मात्र पूर्ण सर्भेयर लाइसेन्स जारी गर्ने प्रावधान सुरु भएको ५ बर्ष पछी मात्र नेपालका बीमा  सर्भेयरहरुको पोर्टफोलियो विभाजन गर्न उपयुक्त हुनेछ ।

समाजशास्त्र स्नातकहरु समेत ठुलो संख्यामा सर्भेयरको रुपमा सक्रिय रहेको अवस्था

इन्जिनियङ र चार्टर्ड एकाउन्टेन्ट प्रोफेसनल डिग्रीहरुका साथै “बीमा क्षेत्रमा अधिकृत स्तरमा १० बर्षको कार्यअनुभव” लाइ समेत बीमा सर्भे लाइसेन्सका लागि मान्यता दिने प्रावधान कायम छ । यस कानुनि प्रावधान अनुसार समाजशास्त्र अध्ययन गरि जीवन बीमा कम्पनिमा १० बर्ष प्रशासन शाखा वा सामान्य सेवा शाखामा मात्र काम गरेका कैयन व्यक्तिहरु समेत सर्भेयरका रुपमा सक्रिय रहेको पाइन्छ । केही बर्ष अगाडी सम्म आवस्यक संख्यामा इन्जिनियर र चार्टर्ड एकाउन्टेन्टहरु सर्भे पेशामा आकर्षित नरहेको अवस्थामा निर्जीवन बीमा क्षेत्रको तात्कालिन आवस्यकता पुरा गर्न यो प्रावधान उचित नै रहेको हुनसक्छ । यस्तै प्रकारले लेखा परिक्षण पेशामा आवस्यक संख्यामा चार्टर्ड एकाउन्टेन्टहरु उपलब्ध नभएको अवस्थामा महालेखा परीक्षकले लेखापालहरुलाई समेत रजिष्टर्ड अडिटर को रुपमा लाइसेन्स जारी गर्ने गरेको थियो । देशमा आवश्यक संख्यामा चार्टर्ड एकाउन्टेन्टहरु उपलब्ध भएको र लेखा परिक्षण सेवालाइ समेत विशिष्टीकरण गर्नुपर्ने भएकोले लेखापालहरुलाई अडिटरको लाइसेन्स दिने प्रावधान २० बर्ष अगाडी (२०५८) मा नै खारेज गरिएको थियो ।

मेरो दुर्गम गाउँमा समेत काठमाडौमा जस्तै बिशेषज्ञ उपचार सेवा आवस्यक छ भन्नेमा सम्बन्धित सबैको चाहना रहेकै हुन्छ । सबैको चाहना भएकै कारण मात्र एउटा मात्र मेडिकल डाक्टर रहेको मेरो गाउँको हेल्थ सेन्टरमा तुरुन्त बिशेषज्ञ उपचार सेवा सुरु गर्ने निर्णय अव्यवहारिक  हुनेछ । त्यसरि नै समाजशास्त्र अध्ययन गरेका कैयन व्यक्तिहरु सर्भेयरका रुपमा सक्रिय रहेकै अवस्थामा सर्भेयरको पोर्टफोलियो विभाजन गर्नु अव्यवहारिक हो ।

कुन कुन पोर्टफोलियोमा कति कति संख्यामा पोलिसीहरु जारी भइ रहेका छन सोहि अनुपातमा कति कति संख्यामा कुन कुन शैक्षिक योग्यतावाला पूर्णकालीन सर्भेयरहरु सर्भे पेसामा सक्रिय छन भन्ने बारे लेखाजोखा हुनुपर्ने

जुन किसिमको बीमा पोलिसी अन्तर्गत दावी परेको हो, सो अनुरुप कै शैक्षिक योग्यता भएको सर्भेयरले क्षति मुल्यांकन गरोस भन्ने उद्देश्यसाथ नै पोर्टफोलियो विभाजन गर्न खोजिएको हो | यसकारण पोर्टफोलियो विभाजनका लागि २ प्रकारका आधारहरु लिनु पर्न्ने हुन्छ – नेपालको बीमा  क्षेत्रमा कुन कुन प्रकारका पोलिसीहरु (पोर्टफोलियो) कति कति संख्यामा जारी  हुने गर्दछन ? र नेपालमा कुन कुन शैक्षिक योग्यतावाला सर्भेयरहरु के कति संख्यामा सर्भे पेसामा सक्रिय छन ?

साविक बीमा समितिको बार्षिक प्रतिवेदन अनुसार आ.व. २०७६/७७ मा जारी भएका करिब २२ लाख ५० हजार निर्जीवन बीमा पोलिसीहरु मध्ये मोटर ६४ प्रतिशत, सम्पति १६ प्रतिशत, कृषि ७ प्रतिशत, विविध ६ प्रतिशत, मरीन   (ढुवानी) ५ प्रतिशत, इन्जिनियरिङ १.५ प्रतिशत र उड्डयन ०.०४ प्रतिशत रहेका छन । यसअनुसार मेकानिकल/अटोमोबाइल इन्जिनियरले क्षति मुल्यांकन गर्नु पर्ने मोटर पोलिसीहरु अन्य इन्जिनियरहरुले क्षति मुल्यांकन गर्नु पर्ने इन्जिनियरिङ पोलिसीहरु भन्दा झन्डै ४० गुणा भन्दा बढी रहेको देखिन्छ । इन्जिनियरिङ पोलिसीहरु अन्तर्गत समेत सिभिल इन्जिनियरले क्षति मुल्यांकन गर्नु पर्ने ठेकेदार सम्पूर्ण जोखिम (CAR), मेकानिकल/इलेक्ट्रिकल इन्जिनियरहरुले क्षति मुल्यांकन गर्नु पर्ने मेसिनरी ब्रेकडाउन (MBD) र इरेक्सन अल रिस्क (EAR), मेकानिकल इन्जिनियरले क्षति मुल्यांकन गर्नु पर्ने कन्ट्रयाक्टर्स प्लान्ट एण्ड मेसिनरी (CPM), इलेक्ट्रिकल/इलेक्ट्रोनिक इन्जिनियरले क्षति मुल्यांकन गर्नु पर्ने इलेक्ट्रोनिक इकुप्मेंट (EE) लगायतका पोलिसीहरु नेपालमा प्रयोगमा रहेकाछन । थप मननीय के छ भने सडकमा चल्ने गाडीहरुमा सानातिना दुर्घटनाहरु भइरहने भएको हुनाले अन्य पोलिसीहरुको तुलनामा मोटर पोलिसी अन्तर्गत पर्ने दावीको संख्या बढी हुन्छन ।

उल्लेखित तथ्यहरुका मध्यनजर यो स्पस्ट नै छ कि सिभिल इन्जिनियरले क्षति मुल्यांकन गर्नु पर्ने पोलिसीहरु अन्तर्गत पर्ने दावीहरुको संख्या भन्दा मेकानिकल/अटोमोबाइल इन्जिनियरले क्षति मुल्यांकन गर्नु पर्ने मोटर पोलिसीहरु अन्तर्गत पर्ने दावीहरु को संख्या ५० (पचास) गुणा भन्दा बढी नै हुने देखिन्छ । सोहि अनुरुप पोर्टफोलियो विभाजनका लागि नेपालमा सक्रिय सिभिल इन्जिनियर सर्भेयरको संख्या भन्दा मेकानिकल इन्जिनियर सर्भेयरको संख्या करिब  ५० (पचास) गुणा बढी हुनु पर्ने देखिन्छ ।

पोर्टफोलियो विभाजनका लागि के सिभिल इन्जिनियर सर्भेयरहरुको संख्या भन्दा मेकानिकल इन्जिनियर सर्भेयरहरुको संख्या ५० (पचास) गुणा बढी छ त ?

नेपालमा संचालित करिब ५० वटा इन्जिनियरिङ कलेजहरु मध्ये प्राय सबैले सिभिल इन्जिनियरहरु उत्पादन गर्दछन भने करिब ५ वटा मात्र इन्जिनियरिङ कलेजहरुले मेकानिकल इन्जिनियर उत्पादन गर्दछन । त्यसमा समेत कलेजहरुमा सिभिल तर्फ २-३ वटा सेक्सनहरु रहेका देखिन्छन भने मेकानिकल तर्फ एउटा मात्र सेक्सन भएको पाइन्छ । यस हिसाबले नेपालमा अनुमानित १००० जना सिभिल इन्जिनियर कार्यक्षेत्रमा प्रवेश गर्दा १०० भन्दा कम नै मेकानिकल इन्जिनियरहरु कार्यक्षेत्रमा प्रवेश गरेका देखिन्छन ।

५ दिन हाजिर मात्र लगाए पछि थप एक प्रोफेसनल लाइसेन्स पाउने भएकोले अन्य जस्तै ठुलो संख्यामा रहेका सिभिल इन्जिनियरहरुले अघिल्लो वर्षको सर्भे तालिम भाग लिई सर्भे लाइसेन्स प्राप्त गरे | सोहि अनुरुप निर्जीवन बीमा  कम्पनीहरुमा काम खोज्ने प्राय सिभिल इन्जिनियर सर्भेयरहरु नै बढी भेटिन्छन । बीमा कम्पनिहरुका दाबी बिभाग प्रमुखहरुका अनुसार मेकानिकल इन्जिनियर सर्भेयरहरु भन्दा अनुमानित करिब १० गुना बढी नयाँ सिभिल इन्जिनियर सर्भेयरहरु कामको खोजिमा बिमा कम्पनि पुगेका देखिन्छन । यसरि यो स्पस्ट छ कि सिभिल इन्जिनियर सर्भेयरहरु आवस्यकता भन्दा निक्कै बढी संख्यामा रहेका छन् भने मेकानिकल इन्जिनियर सर्भेयरहरु आवस्यकता भन्दा कम संख्यामा रहेका छन । चार्टड एकाउन्टेन्ट सर्भेयरले मात्र क्षति मुल्यांकन गर्न पर्ने प्रकारका जारि भएका बिमा पोलिसिहरुको संख्याको अनुपातमा वास्तव मै निक्कै कम संख्यामा चार्टड एकाउन्टेन्ट सर्भेयर सक्रिय रहेको समेत देखिन्छ ।

नेपालमा पूर्णकालीन बिमा सर्भेयरहरु भन्दा पार्टटाइम बिमा सर्भेयरहरुको बाहुल्यता

नियामक लगायत सम्बन्धित सबै पक्षहरुले बीमा  सर्भे पेसालाइ एक हलुङ्गो र कम महत्वपूर्ण पेसाको रुपमा लिएकै कारणले होला नेपालमा “बीमा सर्भे पेसामा एक व्यक्ति एक पेसा लागु गर्ने” बारे छलफलको सुरुवात नै भएको छैन । यसले बीमा सर्भे पेसालाइ पार्टटाइम/पटके/क्याजुअल कामका रुपमा गर्न/गराउन प्रोत्साहन भइरहेकोछ । त्यस अनुरुप सरकारी तथा निजि क्षेत्रमा कार्यरत कैयन कर्मचारीहरु, अडिट पेसा अगालेका चार्टर्ड एकाउन्टेन्टहरु लगायतले पार्टटाइम/पटके/क्याजुअल कामको रुपमा बीमा सर्भे कार्य गरिरहेकाछन । यसै सन्दर्भमा कुनै पार्टटाइम सर्भे कार्य गर्ने नयाँ सर्भेयरले बिराटनगर क्षेत्रमा “५ दिनपछि शनिबार मेरो बिदा हुने भएकाले शनिबारका दिन यसो मिलाएर आउँला र फोटो खिची दिउँला” भनि दाबी कर्ता विमितलाइ पहिलो रेस्पोन्स गरेको  वाक्य आजभोली बीमा सर्भे क्षेत्रमा ठट्टाको रुपमा प्रचारित छ । नेपालमा बीमा सर्भे क्षेत्रमा धेरै पार्टटाइम सर्भेयरहरु सक्रिय  रहेकाले फिल्ड सर्भेका बखत सर्भेयरहरुलाई कतिपय दाबीकर्ताले नै “तपाइँ सर्भे बाहेक अन्य के काम गर्नु हुन्छ हँ ?” भनि सोध्ने गरेको पाइन्छ । अर्थात, नेपाली समाजले समेत एक हद सम्म बीमा सर्भे कामलाई डेडीकेटेड पेसाको रुपमा नलिई पार्टटाइम/पटके/क्याजुअल कामको रुपमा लिएको पाइन्छ । यसरी नेपालमा हाल बीमा सर्भे कार्यको ठुलो हिस्सा पार्टटाइम सर्भेयरहरुबाट सम्पन्न हुने गरेको देखिन्छ । यस अवस्थामा तत्काल पोर्टफोलियो विभाजन गर्नु अव्यवहारिक छ । एक व्यक्ति एक पेसा लागु गरेको करिब ५ वर्ष पश्चात मात्र बीमा सर्भे पेसामा यथेष्ट संख्यामा पूर्णकालिन सर्भेयरहरु सक्रिय रहने अनुमान गर्न सकिन्छ । त्यसपछी पोर्टफोलियो विभाजन गर्न उपयुक्त हुनेछ ।

भारतमा बीमा  सर्भेयरको पोर्टफोलियो विभाजनको अवस्था

अन्य प्रोफेसनल बिषयहरुमा जस्तै सर्भेयर उत्पादनमा समेत भारत संसार कै अग्रणी देश हो ।  सन् १९५५ मा मुम्बईमा स्थापित Insurance Institute of India, सन् २००२ मा हैदराबादमा स्थापित Institute  of Insurance & Risk Management र सन् २००५ मा हैदराबाद मै स्थापित Indian Institute of Insurance Surveyor & Loss Assessor (IIISLA) आदि बीमा  सम्बन्धि संस्थान/तालिम केन्द्रहरुले निरन्तर रुपमा बीमा सर्भेयर लगायतका बीमाकर्मीहरु उत्पादन गर्दै आएका छन । हाल भारतमा १० हजार भन्दा बढी पूर्णकालीन सर्भेयरहरु सक्रिय रहेकाछन । तहाको ऐन/नियममा पार्टटाइम सर्भेयरको परिकल्पना नै छैन । IIISLA बीमा सर्भेयर कै लागि स्थापित सँस्था हो । दर्जनौ सिनियर सर्भेयरहरु सदस्य रहेका IIISLA का अनुशासन कमिटि लगायत ३ वटा कमिटीहरु तथा तालिम सब-कमिटी र सार्वजनिक सचेतता अभिवृद्धि सब-कमिटी लगायतका १५ वटा सब-कमिटीहरु सक्रिय रहेका छन । यसरि IIISLA (www.iiisla.co.in) को कार्य क्षेत्र व्यापक र विशिष्टीकृत देखिन्छ ।

उल्लेखित लगायत दशकौ देखि सर्भेयर कै लागि व्यापक संस्थागत संरचनाका साथै ठुलो संख्यामा बीमा  सर्भेयरहरु सक्रीय रहेको भारतमा समेत निक्कै पछी आएर मात्र सन् २०१५ मा पोर्टफोलियो विभाजन गरिएकोछ – त्यो पनि व्यापक रुपमा नगरी सिमित रुपमा मात्र । भारतको बीमा  सर्भेयर र क्षति मूल्यांकनकर्ता नियमावली २०१५ को पहिलो परिशिष्टमा नै “सर्भेयरको दर्ता र लाइसेन्स” बारे एक चार्ट राखिएको छ । उक्त चार्टमा बीमा सर्भेलाई ८ वटा बिधाहरु अर्थात  पोर्टफोलियोमा विभाजन गरिएको छ: १. फायर, २. मरीन कार्गो (दुवानी), ३. मरीन हल (पानीजहाज), ४. इन्जिनियरिङ, ५. मोटर, ६. बिबिध, ७. एल ओ पी (नाफामा हुने क्षति) र ८. वाली इन्स्योरेन्स | भारतमा गरिएको सर्भे पोर्टफोलियो बिभाजन अनुसार इन्जिनियरिङ स्नातकले फायर, मरीन कार्गो र मरीन हल, इन्जिनियरिङ, मोटर र बिबिध गरि ६ वटा पोर्टफोलियोमा सर्भे गर्न पाउँछ । त्यस्तै चार्टर्ड एकाउन्टेन्टले फायर, मरीन कार्गो, र एल ओ पी गरि ३ वटा पोर्टफोलियोमा सर्भे गर्न पाउँछ । त्यसकारण ५ बर्ष पछी नेपालमा गरिने पोर्टफोलियो विभाजन समेत पहिलो चरणमा  व्यापक रुपमा नगरी सिमित रुपमा मात्र गरिनु उपयुक्त हुने देखिन्छ ।

नियामकले हाल अभियानको रुपमा निर्देश गरेको “शिघ्र दावी फर्छ्योट” कार्यान्वयनमा तत्काल सोझै नकारात्मक असर हुने  

तत्कालै पोर्टफोलियो विभाजन गर्ने  प्रशासनिक निर्णय गरिएको खण्डमा निम्नलिखित समस्याहरु आउने देखिन्छ ।

  • प्रोफेसनल डिग्री भएका इन्जिनियर र CA हरुले एक-अर्काको क्षति मुल्यांकन कार्य क्षेत्र छान्न नपाउने तर समाजशास्त्रवाला सर्भेयरले सहजै इन्जिनियर र CA दुवैको क्षति मुल्यांकन कार्यक्षेत्र रोज्न पाउने अन्यायपूर्ण प्रावधान अगाडी आउन सक्छ । त्यसरि मर्का पर्ने पक्ष अर्थात इन्जिनियर/CA हरु कानुनी उपचारमा जान सक्ने सम्भावना समेत छ ।
  • हाल नेपालमा जारी पोलिसिहरुको अनुपातमा बिभिन्न पोर्टफोलियोहरुका लागि असन्तुलित सर्भेयर संख्या रहेकाले एकातर्फ कुनै पोर्टफोलियोमा बीमा कम्पनीहरुले सर्भेयर नै पाउने छैनन भने अर्कोतर्फ कुनै पोर्टफोलियोका सर्भेयरहरुले काम नपाई सर्भे पेसा छोड्नेछन । मननीय के छ भने प्राय सबै प्रोफेसनलले कुन पेसा बढी फलदायी र दिगो छ भन्ने निरन्तर मुल्यांकन गरि नै रहेको हुन्छ ।
  • जारी पोलिसिहरुको अनुपातमा पूर्णकालीन सर्भेयरहरु सानो संख्यामा रहेको तथा नियामकले पूर्णकालीन र पार्टटाइम दुवैलाई एकै प्रकारले मान्यता दिएकाले बीमा कम्पनीहरु पार्टटाइम सर्भेयरहरुलाई समेत एथेष्ट संख्यामा कार्यादेश गर्न बाध्य हुनेछन । त्यसैले पोर्टफोलियो विभाजन पछी पार्टटाइम सर्भेयरहरुलाइ थप धेरै कार्यादेश हुनेछ । सर्भेयरहरुको कार्यक्षमता तर्फ निरपेक्ष रही लागु रहेको ५ र १० नियम भित्रै रहेर १०-१२ वटा बीमा कम्पनीमा सुचिकृत पार्टटाइम सर्भेयरहरुले एक पटकमा ५०-६० वटा फाइलहरु रोकेर राख्न पाउनेछन ।

उल्लेखित लगायतका समस्याहरुले नियामकले २ बर्ष देखि अभियानको रुपमा सुरु गरेको “शिघ्र दावी भुक्तानी” को प्रयासलाइ पोर्टफोलियो विभाजनले गम्भीर नकारात्मक असर गर्नेछ ।

नेपालमा सर्भेयरको पोर्टफोलियो विभाजनको तयारीस्वरूप गरिनु पर्ने कार्यहरु

सबै निर्जीवन बीमा कम्पनिहरु, सयौ बीमा सर्भेयरहरु र हजारौ दाबीकर्ता विमितहरु लाइ तत्काल र प्रत्यक्ष्य रुपमा असर गर्ने बीमा सर्भेयरहरुको पोर्टफोलियो विभाजन बारे निर्णय गर्नुपुर्व निम्नानुसारका कार्यहरु हुनु पर्ने देखिन्छ.

  • सर्भेयरको लाइसेन्स सम्बन्धि कार्य प्रक्रिया, सर्भेयरको काम कर्तब्य र अधिकार, सर्भेयरको आचार संहिता, बीमा  सर्भेयर सल्लाहकार समिति, सर्भेयरको लाइसेन्स खारेज हुने अवस्थाहरु आदि बिभिन्न पक्षहरु समेटी बीमा  ऐन २०७९ को दफा १६८ (१) बमोजिमको अधिकार प्रयोग गरि प्राधिकरणले “बीमा  सर्भेयर परिचालन नियमावली” लागु गर्ने
  • सर्भेयर लाइसेन्सका लागि आवश्यक न्युनतम योग्यता प्रोफेसनल डिग्रीहरु मात्र कायम गरि “बीमा क्षेत्रको अनुभव” को प्रावधान उक्त नियामावली मार्फत हटाउने
  • ऐनको दफा ९२(२) बमोजिम पूर्ण प्रोफेसनल सर्भेयरको रुपमा लाइसेन्स प्राप्त गर्न आवेदकले २ चरणको परिक्षा पास गर्नु पर्ने प्रावधान उक्त नियामावली मार्फत लागु गर्ने
  • लेखापरिक्षण सेवामा जस्तै एक व्यक्ति एक पेसा को प्रावधान सर्भे पेशामा समेत उक्त नियामावली मार्फत लागु गर्ने
  • काम नगरी वर्ग वृद्धिका लागि मात्र बार्षिक रुपमा नविकरण गराई रहेका सर्भेयरहरुका कारण प्राधिकरणले प्रकाशित गरेको “सर्भेयरको लिष्ट” सर्भेयर सम्बन्धित दुरगामी निर्णय गर्नका लागि उपयोगी छैन । यसकारण वास्तव मै सक्रिय सर्भेयर मात्र नविकरण हुने र कुन कुन डिग्रीधारी सक्रिय छन भन्ने तथ्य खुल्ने गरि सर्भेयर सम्बन्धि डाटा बार्षिक रुपमा अद्यावधिक हुने सिस्टम तर्जुमा गरि सो सम्बन्धि डाटा सार्वजनिक हुने व्यवस्था हुनुपर्ने ।
  • चार्टर्ड एकाउन्टेन्ट मात्र होइन रजिष्टर्ड अडिटर (RA) हरुले समेत आफ्नो लाइसेन्स कायम राख्नका लागि प्रत्येक बर्ष तोकिएको “न्युनतम घन्टा पेसागत तालिम लिएकै हुनु पर्ने” प्रावधान रहेकोछ | बीमा सर्भेयरले समेत आफ्नो लाइसेन्स कायम राख्नका लागि प्रत्येक बर्ष तोकिएको न्युनतम घन्टा पेसागत तालिम लिएकै हुनु पर्ने प्रावधान लागु गर्नुपर्ने ।

यसरी बीमा  सर्भे पेसालाई पूर्णकालीन प्रोफेसनल पेसाका रुपमा स्थापित गर्न उल्लेखित लगायत यस्तै अन्य प्रावधानहरु लागु गरेको ५ बर्ष पछी “नेपालमा बीमा  सर्भेयरको पोर्टफोलियो विभाजन गर्न उपयुक्त छ वा छैन तथा विभाजन गर्नु पर्ने भएमा के कसरि गर्ने” भन्ने बारेमा सरोकारवालाहरु समावेश भएको एक कार्यदल गठन गरि उक्त कार्यदलको सुझावका आधारमा नेपाल बिमा प्राधिकरणले पोर्टफोलियो विभाजन बारे निर्णय गर्नु पर्ने देखिन्छ ।

(लेखक बुढा, सी-मेक कन्सल्टेन्सी प्रा. लि. का बीमा सर्भेयर हुन्)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

शेर बहादुर बुढा
Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS