Prabhu Life Ad Final

कफी क्षेत्रमा फुलेका फुलकुमार दोङ, कफी ट्रेण्ड स्थापित गर्दै बने नेपालकै पहिलो निर्यातकर्ता

IME

काठमाडौं । नेपाली समाजमा कफीको चलन दिनानुदिन बढ्दो छ । साथीभाई भेटघाट होस् वा कुनै पेशागत भेटघाट कफीको चुस्किले ठाँउ ओगटीहाल्छ । अल्कोहलको माहोलमा हुने साथीभाइको जमघटलाई बदल्दै कफीमय बन्ने गरेको छ । कुनै समय फेसनको रुपमा खाने गरेको कफीको आजभोली भने पारखि बढ्न थालेको छ । कफी प्रयोगमा आएको यो परिवर्तनमा कफी व्यवसायी फुलकुमार दोङको ठूलो योगदान रहेको छ ।

नेपालमा कफीको सम्भाव्यतालाई गहन रुपमा अध्ययन गरि यहि क्षेत्रमा रमाइरहेका एक व्यक्तित्व, जसले कफी उत्पादन गर्नेदेखि उत्पादित कफीलाई प्रशोधन गर्नुका साथै नेपाली बजार र अन्तराष्ट्रिय बजारसम्म निर्यात गर्दै आइरहेका छन् । जीवनमा केहि पृथक गर्ने योजनाका साथ बिगत २५ वर्षदेखि यहि क्षेत्रमा लागि परेका छन् कफी व्यवसायी फुलकुमार दोङ ।

NLIC

पारिवारिक पृष्ठभूमि
काभ्रेपलाञ्चोक जिल्ला, तेमाल गाउँपालिका, वडा न.६, ठूलो पर्सेलमा २०२७ साल पुष ९ गते दोङ परिवारमा फुलकुमारको जन्म भयो । उनको ठूलो बुबाले गाउँमा १७ वर्षसम्म प्रधानपञ्च चलाएका थिए । ठूलो बुबापछि उनका बुबाले पनि अध्यक्षको जीम्मेवारी सम्हालेका थिए ।
उनी कक्षा दुईमा अध्ययन गर्न थालेदेखि नै उनका परिवार काठमाडौंमा बसाई सरेका थिए । एक जना भाई र दुई बहिनीसँग उनको बाल्यकाल बित्यो । उनले वि.स.२०४३ सालमा दरबार हाइस्कुलबाट एसएलसी पूरा गरे । अध्ययनसँगै होटल व्यवसायमा बुबा आमालाई सहयोग गर्दै आएका थिए । आइकम सकेपछि भने उनी पर्यटन क्षेत्रमा जोडिए । अटो मोबाइलतर्फ झुकाब रहेका उनले कारण बस अध्ययन भने गर्न पाएनन् । म्यानेजमेन्ट विषय अध्ययनले धेरै अवसर पाउन सकिन्छ भन्ने सोचका साथ उनले शंकरदेब क्यापसबाट स्नातक सम्मको अध्ययन सकाएका थिए ।

पर्यटन व्यवसायतर्फको यात्रा
आइकम सकिएपछि फुलकुमार पर्यटन व्यवसायमा जोडेका थिए । पर्यटन क्षेत्रका साथीभाइसँग यो क्षेत्रको बारेमा बुझ्न हिँडेका थिए । व्यवस्थापन संकायमा स्नातक सकेका उनी आफ्नै व्यवसाय गर्न चाहन्थे । जसले गर्दा उनमा जागिर खाने सोच कहिल्यै आएन । उनको बुबा पनि पर्यटन क्षेत्रमा संलग्न भएकोले उनलाई यो क्षेत्रमा जोडिन समस्या भएन ।

यसैक्रममा उनका दुई जना साथीले ट्रेकिङ अफिस संचालन गर्न प्रस्ताव गरे । प्रस्ताव अनुरुप २०५० सालमा लामा एडभेन्चर ट्रेक्स एण्ड टुरिजम प्रा.लिको स्थापना भयो । जसको व्यवस्थापकिय जिम्मा भने फुलकुमारले नै लिने योजना बन्यो । उनको यो क्षेत्रको यात्रा भने १७ वर्ष लामो रह्यो । उक्त लामा एडभेन्चर ट्रेक्स एण्ड टुरिजम मार्फत धेरै जसो जापानीज पाहुनाहरुले नेपाल भ्रमण गर्ने गर्दथे । दैनिक जसो जापानीजहरुसँगको उठबसले उनलाई जापानीज भाषा सिक्ने मौका मिल्यो । साथै विश्वभाषा क्याम्पस, काठमाडौंबाट जापानीज भाषा तीन लेबलसम्मको अध्ययन गरे ।

नेपालको पर्यटन क्षेत्रमा ६ महिना काम हुने र बााकी ६ महिना खाली बस्नुपर्ने स्थिति छ । उक्त खाली समयलाई सदुपयोग गर्न उनले सानातिना कामहरु गरिरहन्थे ।

गुणस्तरीय कफी खान नपाएको जापानीज पाहुनाको गुनासोले कफीको अध्ययन गर्न सघायो
लामा एडभेन्चर ट्रेक्स एण्ड टुरिजम मार्फत नेपाल आउने धेरैजसो जापानीज पाहुनाहरुले राम्रो कफी खान नपाएको गुनासो गरिरहन्थे । खाली बसेको समयमा उनलाई पाहुनाले गरेको गुनासोतर्फ ध्यान दिन समय मिल्यो । नेपालमा आउने प्याकिङ कफी गुणस्तरीय नहुने उनीहरुको गुनासो हुन्थ्यो । जाइका संस्थामा आवद्ध उनका केही जापानीज साथीहरुले कफी धुलो नभई दाना हुन्छ भन्ने कुरा गरेपछि उनी अचम्ममा परे ।

नेपाली बजारमा प्याकिङ भएर आउने कफी वास्तवमै कस्तो खालको कफी हो भन्नेमा उनी सोचिरहथे । उनको यो जिज्ञासाले नेपालमा पनि कफी फल्छ भन्ने तथ्य खोज्न सहयोग गर्याे । नेपालको पश्चिमि जिल्ला गुल्मिमा कफी खेती हुन्छ भन्ने जानकारी पाएपछि भ्रमणमा जाने सोच बनाए ।

कफी विकास केन्द्रको भ्रमण र आफ्नै कफी कम्पनी दर्ता
गुल्मी जिल्लामा कफी उत्पादन हुन्छ भन्ने कुरा थाहा पाएपछि उनी वि.स. २०५४ सालमा आँपचौर पुगे । कफी विकास केन्द्रको भ्रमण गरेपछि बल्ल उनले कफीको बारेमा धेरै कुरा थाहा पाए । कहिलेबाट नेपालमा व्यवसायीक रुपमा कफीको खेती भयो भन्नेबारे जान्न उनी केहि समय आँपचौरको एउटा घरमा बसे ।

२०३६ सालमा राजा विरेन्द्र गुल्मी आँपचौरको भ्रमणमा जाँदा स्थानियले कफी भुटेर पकाएर राजालाई खुवाएका थिए । विदेशमा खाएको कफीको स्वाद पाएपछि तत्कालै राजा विरेन्द्रले उक्त क्षेत्रलाई कफीको पकेट क्षेत्रको रुपमा घोषणा गरेका थिए । साथै कुन प्रजातीका कफी उत्पादन हुन्छ र कफी खेतीका लागि स्थानियलाई आवश्यक रहेको सुविधा उपलब्ध गराइदिन मन्त्रीमण्डललाई निर्देशन दिए । कफी खेतीलाई थप विस्तार गर्न सिँचाइको अभाव रहेको भन्ने गुनासो आएपछि राज कुलो निर्माण गरिएको थियो । तर सिँचाई आएपछि भने स्थानियले कफी खेतीभन्दा धान खेतीलाई प्राथमिकतामा राखेको तथ्य फूलकुमार दोङको भ्रमणले पत्ता लगाएको उनी बताउँछन् ।
उनले समय लगाएर उक्त क्षेत्रमा रहि कफी खेतीको सम्भाव्य क्षेत्र, आवापानी लगाएत सम्पूर्ण जानकारी बटुलेका थिए । नेपालको हावापानीमा अरबीका र रोबोष्टामध्ये धेरै उत्पादन रोबोष्टाको हुने अध्ययन केन्द्रले पत्ता लगाएको जानकारी उनले पाए । उत्पादन धेरै तर बजारमा रोबोष्टाको बिक्रि भने कमै मात्रामा हुने भएकोले कफी केन्द्रले यसको प्रमोटमा खासै ध्यान नदिएको उनले बताए । तर अरबीका कफीको विश्व बजारमा नै धेरै भएको उनले थाहा पाए । (रोबोष्टामा क्याफिनको मात्रा धेरै र अरबीकामा क्याफिन कम पाइन्छ ।)

राजा वीरेन्द्र शाहले कफीको बजार प्रवद्र्धनका लागि भैरहवाको मनिग्राममा नेपालकै पहिलो कफी प्रशोधन केन्द्र, नेपाल कफी कम्पनी प्रा.लिको स्थापना गरेका थिए । नेपाल सरकारको अनुदानमा खोलेको उक्त कम्पनीले उत्पादनको आधा मात्र कफी खरिद गरेपछि किसानले कफी टिपेर थन्काइराखेका थिए । सुकाएर राखेको करिब ५ सय किलो कफी २७ रुपैयाँ प्रति किलोका दरले खरिद गरे । सो समय आँपचौरमा बस सेवा सञ्चालन नभएकोले उनले ट्याक्टर मार्फत ताम्घास पुर्याई काठमाडौं ल्याएका थिए । उक्त कफीलाई धान मिलनमा हलिङ गरि गुणस्तर परिक्षणका लागि जापान पठाए । जापानमा ल्याब टेष्ट गर्दा कफीको गुणस्तर उच्च कोटीको आएपछि व्यक्तिगत रुपमा कफी संकलन गर्दै जापान निर्यात गर्ने काम गरे ।

व्यक्तिगत रुपमा कफी निर्यात गर्न कठिनाइ आएपछि उनले काभ्रेपलाञ्चोक जिल्ला पाँचखालमा एभरेष्ट कफी मिल प्रा.लि दर्ता गरे । कफी मिल दर्तासँगै कम्पनीले कफी संकलन र प्रशोधनको कामलाई तिब्रता दिन थाल्यो ।

कफी प्रशोधन सिक्न आठ पटक भन्दा धेरै जापानको यात्रा
कफी कम्पनीको दर्ता पश्चात कफी प्रशोधन सिक्न उनी जापान पुगे । सुरुवाति समयमा ३ महिना जापान बसे । कफी प्रशोधन सिक्न आर्थिक रुपले नसक्ने भएपछि जापानीज साथीकोमा बसेर केहि समय काम गरेको पैसाले प्रशोधन सिक्न जान्थे । उक्त समय उनले कफी कसरी खाने, कफीको प्रशोधन र कफी भुट्ने बारे सिकेर नेपाल फर्किए । कम्पनीले संकलन गरेको सबै कफी जापानजिले नकिन्ने भएपछि उनले नेपाली बजारमा कफी निर्यात गर्ने बाटो खोज्न थाले । तत्काल कफी भुट्ने मेसिन ल्याउने सम्भावना नभएपछि उनले कसौटीमा कफी भुटेर काठमाडौंका कफी सपहरुमा निर्यात गर्न थाले । यसरी कफी प्रशोधन सिक्नकै लागि उनी करिब ८ पटक जापान पुगे । जुन समय टिकटको मूल्य ९० हजार बराबर पथ्र्याे । उनी जापान मात्र नभई प्रशोधन सिक्न इन्डोनेशियासम्म पुगेका थिए ।

जापान र जापानिजबाट उनले धेरै कुरा सिक्ने मौका पाए । कफी खान, प्रशोधन गर्न जापानिजले नै सिकाए । जापान बसाइको क्रममा माउन्टेन क्लाइम्बिङमा जाँदा यात्रु आफै तातो पानी बोकेर टि ब्याग जस्तै डूबाएर कफी खाने गरेको देखे । जुन दृश्यले नेपालमा यस्तै कफी खाने चलन चलाउने सोच आयो । उनको लगावले यो सोचलाई साकार बनाएको छ । हिमाल आरोहण गर्नेहरुले उनको कम्पनीबाट उत्पादित कफीलाई सगरमाथासम्म लगेर खाने गरेका छन् ।

कफी भुट्नका लागि उनले वि.स.२०५८ मा भारतको मदरासमा अर्डर दिएर मेसिन बनाउन लगाए । तर तापक्रम मिटर जडान गर्न नसक्ने भनेपछि जापानबाट मगाएर उनी आफै मदरास पुगी मेसिन तयार पारेर ल्याएका थिए । उनले जापान, भारत र इटलीबाट कफी प्रशोधन गर्ने मेसिन खरिद गरि व्यवसाय संचालन गर्दै आएक छन् ।

श्रीमतीको संलग्नतामा कफी सप फैलियो, अनि यसरी फुले कफीमा फुलकुमार
कफीको प्रशोधन र निर्यातमा व्यस्त फुलकुमारले २०६० सालमा इन्दिरा लामासँग मागी विवाह गरेका थिए । इन्दिरा पनि म्यानेजमेन्टकै विद्यार्थी भएकोले क्याफे सञ्चालन गर्न उनी उत्सुक थिए । भरखरै बन्दै गरेको त्रिपुरेश्वरको वल्ड ट्रेडमा कफी शपको लागि ठाउँ हेरे । दोस्रो तल्लाको एउटा सटरमा वि.स.२०६३ चैतबाट मुस्ताङ क्याफेको ओपनिङ गरे । क्याफे सञ्चालन गरेसँगै व्यवसाय राम्रै हुँदै गयो । अमेरिकानो, लाटे जस्ता कफिको प्रकार नेपालमा खासै नबन्ने भएकोले कफीमा बन्ने आर्ट हेर्नकै लागि मानिसहरु आउने गर्दथ्यो । यसरी क्याफेले राम्रो व्यवसाय गर्न थालेपछि ठाउँ साँघुरो हुन थाल्यो ।

विदेशतिर जस्तै ग्राउण्ड फ्लोरमा खाली रहेको ठाउँलाई सदुपयोग गर्ने गरि क्याफेको डिजाइन गरेपछि वल्ड ट्रेडका ओनरले डिजाइन रुचाए र ठाउँ दिए । यसरी फुलकुमारको कफी प्रशोधन मात्र नभई क्याफेले पनि राम्रो व्यवसाय गर्याे ।

फुलकुमार र श्रीमती इन्दिराले २०६५ मा मुस्ताङ कफीको अर्काे शाखा कुपण्डोलमा पनि सुरु गरे । कुपण्डोल भिआइपी एरिया भएकोले कफीको बिक्रि राम्रो हुने सोचका साथ उक्त स्थान छानेका थिए । इटाको साधारण डिजाइन बनाएर कफी मात्र बेच्न बस्दा झोल मात्र बेचेर हुँदैन अरु आइटम राख्नुपर्छ भन्ने सल्लाह दिन धेरै आए । तर आफ्नो कामबाट कति पनि बिचल्लित नभई लागी परिरहे । हाल सोहि सानो स्थानलाई विस्तार गरी कुपण्डोलमै मुस्ताङ कफी संचालन गर्दै आइरहेका छन् दोङ दम्पति ।

उनले संचालन गर्दै आइरहेको क्याफेलाई उनी प्रयोगशालाको रुपमा लिन्छन् । उनको मुख्य काम भने कफी प्रशोधन नै हो । श्रीमती इन्दिराको कफीप्रतिको लगावले प्रयोगशालाको काम पनि अघि बढेको छ । कफीको ५ देखि ७ वटा स्वाद छुट्याउने उनको खुबी छ ।
कुपण्डोलको मुस्ताङ कफीको एक कुनामा बसेका ग्राहकहरुले डबल सट कफी एकै पटक ३/४ कप खाएको देख्दा अचम्म लागेर उनले प्रश्न गरेका थिए । भर्खरै सुधार गृहबाट आएको र नसालु पदार्थको तलतल कफीले मेटाउन खोजेको भन्ने उत्तर पाएपछि आफ्नो कामप्रति थप सन्तुष्टि मिलेको उनी सुनाउँछन् ।अल्कोहललाई कफिले रिप्लेस गर्न सक्ने रहेछ भन्ने कुराको पुष्टि भएपछि थप उर्जा मिलेको उनको भनाई छ ।

नेपालकै पहिलो कफी निर्यातकर्ता, अर्ग्यानिक कफी स्थापना गर्न ठूलो भूमिका
नेपाली कफीको माग देश विदेश सबैतिर बढ्न थालेपछि कफी उत्पादन तर्फ पनि उनको ध्यान जान थाल्यो । कास्कीको गाउँगाउँ पुगेर कृषकहरुलाई कफी खेती गर्न अनुरोध गर्दै हिंडेको याद उनको मनस्पटलमा ताजै छ । संकलन गरिएको ७० टन कफी नबिकेपछि उनले कफी खरिद गरिदिन आइएनजीओसम्म गुहार मागे । उनको भाग्यको कुरा भन्नुपर्छ, एक अमेरिकन कम्पनीले २ सय टन कफी खरिद गर्याे । जापानले खरिद गर्दै आएको कफी अब अमेरिका र युरोपबाट समेत माग आउन थाल्यो ।

कफी संकलन, प्रशोधन र निर्यातको काम थालेका उनलाई राष्ट्रिय चिया तथा कफी बोर्डले पहिलो कफी निर्यातकर्ताको रुपमा उल्लेख गरेको छ । नेपाल, जापान तथा अन्य देशमा हुने फुड फेष्टिबलमा नेपाली कफीको बजारीकरण बढाउन उनी एग्रोमेलामा सहभागी हुँदै आएका छन् । उनले पहिलो पटक बीआइसीसी भवनमा भएको एग्रो मेलामा आफूले प्रशोधन गरेको कफी बेच्न राखेका थिए । कफीको बिक्रि पनि राम्रै भएको थियो । कृषि मन्त्रालयका एक सचिवले केहि दिन पछि कस्तो कफी बिक्रिमा राखेको भन्दै रिसाएर उनलाई फोन गरेका थिए । पानीमा नघुलिने कफीको बिक्रि गरेको भन्दै जंगीएका सचिवलाई कफी बनाउने तरिका र कफीको प्रकारबारे बुझाएपछि भने नेपालको अग्र्यानिक कफी खान गाह्रो रहेछ भन्दै फोन राखेको उनलाई अझै सम्झना छ ।

राष्ट्रिय चिया तथा कफी बोर्डमा हुने मिटिङमा कफी मात्र नभई अग्र्यानिक कफी राखिनुपर्छ भन्ने पहिलो माग फूलकुमार र उनका साथीहरुले राखेका थिए । तर सो समय अर्ग्यानिक शब्द राख्न नेपाल सरकार भने राजि थिएनन् । जसकारण उक्त मिटिङ दुई दिनसम्म लम्बिएको उनी सुनाउँछन् ।

कफी खेतीतर्फको यात्रा

विश्वमा कारोबार हुने वस्तुमध्ये दोस्रोमा पर्ने कफी नेपालमै उत्पादन हुने भएपछि यसको उत्पादनलाई थप विस्तार गर्ने सोचका साथ खेतीतर्फ उन्मुख भएका फुलकुमार बताउँछन् । जसले नेपालको खेतीमा अर्काे एउटा उत्पादन थपियो भने नेपालीको आयस्रोत बृद्धिमा सघाउ पुगेको उनको भनाई छ ।वि.स.२०५४ सालमा नेपाल कफी व्यवसायी महासंघको स्थापना भएको थियो । यहि संस्था मार्फत उनले कफी खेतीलाई अघि बढाएका थिए । सुरुवाति समयमा ८ जिल्लामा ५० प्रतिशत अनुदानमा कफीको बेर्ना बाँड्ने काम भयो । उत्पादन भएको कफी संघलाई नै बिक्रि गर्नुपर्ने प्रस्तावमा कफी प्रशोधनका लागि मेसिन बाँड्ने काम पनि भयो । किसानलाई कफी खेती, प्रशोधन लगाएतका बारेमा जानकारी दिन तालिम संचालन भयो । उनको यो लगावका कारण हाल २५ भन्दा बढी जिल्लामा कफी खेती फैलिएको छ । हाल ३२ हजार किसान प्रत्यक्ष रुपमा संस्थामा अवद्ध छन् भने चार हजारभन्दा बढी किसानको उत्पादन उनको प्रशोधन केन्द्रले खरिद गर्दै आएको छ । नेपालमा उत्पादित अरबीका कफीको डिमाण्ड नेपाली बजार, अमेरिका र युरोपमा हुन थालेको छ ।

भविष्यको योजना
उनको प्रशोधन केन्द्रमा ९ जना कामदारले रोजगारी पाएका छन् भने कफी संकलनको समय ३ महिना दैनिक २५ जना महिला कामदारले काम पाउने गरेका छन् । साथै उनले ल्याब, सोरुम र कष्टुमरको फिडब्याक लिने उदेश्यले संचालन गर्दै आएको मुस्ताङ क्याफेमा भने ६ जनाले रोजगारी पाएका छन् । यसरी आफूसँगै सयौं किसानलाई कफी खेती गर्न सहयोग पुर्याउँदै आएका उनले १५ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिँदै आएका छन् ।

नेपालमा कफी उत्पादनलाई थप विस्तार गर्ने उनको सोच रहेको छ । श्रीमती इन्दिरालाई झैं छोराछोरीलाई पनि कफी क्षेत्रमा पोख्त बनाउने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

89%

खुसी

0%

दुःखी

0%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x