IME Life

दावी फर्छ्योट ढिलाई कम गर्ने सहज र सरल उपाय, सर्भेयर शेर बहादुर बुढाको लेख

SPIL
NIC ASIA

शेर बहादुर बुढा

समग्र बीमा क्षेत्र कै लामो प्रयास पछि नेपालमा बीमा ऐन २०७९ जारी भएको छ | यस ऐनबाट नेपालको बीमा नियमनकारी निकाय बीमा समिति हाल नेपाल बीमा प्राधिकरणमा रुपान्तरित भएको छ | साविकको बीमा समिती भन्दा बीमा प्राधिकरण बढी स्वायत्त र बढी अधिकार सम्पन्न भएकोले बीमाकर्मीहरु उत्साहित भएका छन् | तर सबैलाई स्पस्ट नै छ कि समग्र बीमा क्षेत्र को योजना-तर्जुमा बीमितका लागि नै गरिएको हुन्छ | बीमाकर्मीको जिम्मेवारी उक्त योजना-तर्जुमा लाइ कार्यान्वयन गर्ने हो | त्यसकारण बीमा ऐन २०७९ मार्फत बीमा क्षेत्रले साविक भन्दा बीमितलाइ के थप विश्वास वा के थप सहजता दिन सक्छ भन्ने आजको अहम बिषय हो | त्यसैले हाम्रो नव गठित बीमा प्राधिकरणले बीमितलाइ देखिने, बुझिने र अनुभव हुने गरि केहि सहजता थप गर्न नसकेमा बीमा ऐन २०७९ जारी हुनुलाइ बीमित वर्गले “कागलाई बेल पाक्यो हर्ष न विस्मात” को रुपमा लिन्छन कि भन्ने भय हामि बीमाकर्मीमा हुनु पर्छ |

Prabhu
Crest

सहज र सरल दावी फर्छ्योट कार्यप्रकिया नै बीमा क्षेत्र बिकासको आधार  

बीमित र बीमितसंग जोडिएका सर्वसाधारणहरुले बीमा क्षेत्रको वास्तविक मुल्यांकन गर्ने काम दावी कार्य प्रक्रियाको दौरान नै गरेका हुन्छन् | अर्थात बीमितले आफ्नो बीमा दावीका कार्यप्रकियाहरु लाइ बीमाकर्मीबाट कति सहजता, कति सरलता र कति न्यायोचित तरिकाले कार्यान्वयन गरिएकोछ वा गरियो भन्ने मनन गरेको हुन्छ | यसबाट नै दावीकर्ता बीमितले बीमा क्षेत्रको वास्तविक मुल्यांकन गर्ने गरेको हुन्छ | त्यसकारणले नै दावीकर्ता बीमितले बीमा सम्बन्धि प्रवर्धनात्मक क्रियाकलापहरु बाट ग्रहण गरेको सन्देश/सुचना को सट्टा आफुले अनुभव गरि सकेको बीमा दावी कार्यप्रक्रिया बारे नै आफुसंग जोडिएका व्यक्तिहरुलाइ सुनाउछ | यसकारण स्पस्ट नै छ कि प्रवर्धनात्मक क्रियाकलापहरु तर्फका थप सक्रियता का साथ-साथै बीमा क्षेत्रले दावी फर्छ्योट कार्य प्रक्रियालाई बढी सहज, बढी सरल र बढी न्यायोचित गर्ने तर्फ केन्द्रित हुनु पर्ने देखिन्छ |

दावी फर्छ्योट कार्यप्रक्रियामा संलग्न ३ पक्षहरुका जिम्मेवारीहरु

नेपालका कतिपय सर्वसाधारणमा सर्भेयरले फिल्डमा फोटो खिचे पश्चात क्षतिपूर्ति पाउने प्रमाण पुगेको जस्तो बुझाइ रहेको पाइन्छ | तर दावी फर्छ्योटका लागि निम्नलिखित आधारहरु एकिन गरिएको हुनु पर्ने तथ्यबारे दाविकर्ता बीमित वर्गलाई जानकारी दिनु पर्ने बीमाकर्मीको जिम्मेवारी हो |

  • आफ्नो दावी सर्भेयरबाट सत्यापित गराउन दावीकर्ताले नै आवश्यक प्रमाण जुटाई सर्भेयरलाइ पेस गर्नुपर्छ |
  • ठोस प्रमाणका आधारमा मात्र सर्भेयरले “दावीकर्तालाइ निश्चित रकम तिर्नुपर्ने बीमा कम्पनीको दायित्व देखिन आयो” भन्ने घोषणा गर्न सक्छ |
  • बीमा कम्पनी हजारौ लगानीकर्ताहरु रहेको पब्लिक कम्पनी हो | यसकारण नियामक का साथै आफ्ना सेयरहोल्डरहरु प्रति समेत बीमा कम्पनी जवाफदेही हुने भए अनुरुप बीमा कम्पनीका “दावी भुक्तानी कार्यप्रक्रिया” तर्जुमा गरिएका हुन्छन | बीमा कम्पनीले आफ्नो “दावी भुक्तानी कार्यप्रक्रिया” अनुरुपका कार्यहरु सम्पन्न गरे पश्चात मात्र सर्भेयरले ठहर गरेको दायित्व रकम बीमितलाइ भुक्तानी गर्न सक्दछन |

यसरी छिटो दावी भुक्तानी को अभियानमा सहयोगी हुनका लागि मात्र सर्भेयर र बीमा कम्पनीले आ-आफ्ना जिम्मेवारीहरु लाइ वेवास्ता गर्न सक्दैनन | तर तोकिएको जिम्मेबारी सर्भेयर र बीमा कम्पनीहरुले पुरा गरे नगरेको बारे नियामकले हेर्नु पर्छ र हेर्न सक्ने प्रबन्ध गर्नुपर्छ  |

दावी फर्छ्योटका आवश्यक कार्यप्रक्रियाहरु बारे व्यापक छलफल हुनुपर्ने

दावी फर्छ्योट कार्यप्रक्रियाहरु बारे नेपालमा एथेष्ट छलफल वहस नभएकाले “बीमा सर्भे भनेको सर्भेयरले फोटो खिच्ने काम मात्र हो” भन्ने अधिकांस आम जनमानसको बुझाइ देखिन्छ  | दावी फर्छ्योट कार्यप्रक्रिया सहज र सरल गर्नका लागि अनिवार्य रुपमा प्रचलित दावी फर्छ्योट कार्यप्रक्रियाहरु बारे बीमा क्षेत्रमा छलफल वहस हुनु पर्छ | यस प्रकार छलफल वहस नगरी नियामकले जारी गर्ने निर्देशनहरु अव्यवहारिक भएका उदाहरण समेत छन | दावीको किसिम अनुसार दावी कार्यप्रक्रियाहरु सम्पन्न गर्न लाग्न सक्ने समयावधि र सम्बन्धित सर्भेयरको क्षमता आदि तर्फ निरपेक्ष रही बिगतमा बीमा कम्पनीहरुले प्रति सर्भेयर ५ (पांच) वटा सम्म मात्र कार्यादेश गर्न पाउने गरि गरिएको निर्देशन परिमार्जन गर्न परेको थियो |

नेपालमा हाल प्रचलित दावी फर्छ्योट कार्य प्रक्रियाहरु

नेपालमा हाल सामान्यतया  निम्नानुसारका दावी फर्छ्योट कार्यप्रक्रियाहरु प्रचलनमा देखिन्छन |

क्र.म. हालको दावी फर्छ्योट कार्यप्रक्रिया (माइलस्टोन) हरु कार्यप्रक्रिया बारे टिप्पणी वा नोट वा समस्या
१. बिमितले बीमा कम्पनीमा लिखित रुपमा वा  इमेल मार्फत दावी गर्ने कार्य CAR/EAR/EE/MBD लगायत केहि पोलिसिहरुमा घटना मितिबाट दावी गर्ने हदम्याद तोकिएको हुन्छ | ढिलो गरि प्राप्त निवेदन हदम्याद भित्र पार्नका लागि दावी निवेदन दर्तामा चलखेल हुने गरेको यदाकदा सुनिन्छ |
२. बीमा  कम्पनीले दावी इन्ट्री गरि दावी नम्बर राख्ने कार्य 

 

केहि बीमा कम्पनीहरुले दावी नम्बर र बीमा  पोलिसी नपठाएर सर्भेयरलाइ फोनबाट सोझै कार्यादेश गर्ने गरेको | जसबाट दोहोरो डेपुटेसन हुने वा पोलीसी अभावमा सर्भेयरले फिल्डमा दिनुपर्ने निर्णय दिन नसक्ने वा केहि समयावधि पश्चात दावी निवेदन नै नभेटिने लगायत समस्याहरु आउने गरेका | कानुनी रुपबाट सचेत दावीकर्ताले डेपुटेसन पत्र देखाउन नसक्ने सर्भेयरलाइ सर्भे गर्न नदिई फिर्ता पठाइ दिएको समेत अवस्था |
३. बीमा  कम्पनीले सर्भेयरलाइ सर्भे कार्यादेश  (डेपुटेसन) गर्ने कार्य (बीमा  पोलिसी र दावी नम्बर सहित )
४. सर्भेयरले डेपुटेसन स्वीकार गरेको बारे जवावी इमेल (Acceptance Email) बीमा  कम्पनीमा पठाउने कार्य सर्भेयरबाट डेपुटेसन स्वीकार गरेको Acceptance Email प्राप्त नगरेका कारण दावी विभागले सर्भेयरलाइ फोन गरि  “डेपुटेसन स्वीकार भए/नभएको बारे” बुझ्न परेको समेत दावी बिभागको गुनासो रहने गरेको |
५. सर्भेयरले दावीकर्तालाइ सम्पर्क गरि फिल्ड सर्भे गर्न सकिने अवस्था रहे/नरहेको बारे एकिन गरि फिल्ड सर्भेको निश्चित मिति तोक्ने कार्य दावीकर्ता र सर्भेयर दुवै एकै पटक जिम्मेबारीका साथ फिल्डमा उपस्थित भए पश्चात मात्र फिल्ड सर्भे सम्पन्न हुन्छ |  कतिपय अवस्थामा फिल्ड सर्भे गराउन बीमित तयार नरहेका कारण समेत फिल्ड सर्भे रोकिने गरेको |
६.

 

सर्भेयरले पहिलो फिल्ड सर्भे गर्ने कार्य यो कार्य “फोटो खिच्ने हलुका कार्य नभई” क्षति मुल्यांकनका लागि प्रमाण संकलन गर्ने सर्भे कार्यप्रक्रियाको मुटु हो | यसमा बिमित पक्षको समेत  संलग्नता र सहयोग अपरिहार्य छ |
७. सर्भेको अन्तमा सर्भेयरले “आवस्यक कागजात को लिष्ट” दावीकर्तालाइ बुझाइ निस्सा लिने कार्य    सर्भेयरले यो लिष्ट नै नदिएको वा अपूर्ण लिष्ट दिई पटक पटक कागजात माग गरेको वा अनावस्यक कागजात माग गरेको लगायतका गुनासाहरु समेत रहेका |
८. बिमितले सर्भेयरलाइ क्षति मुल्यांकनका लागि आवस्यक कागजातहरु बुझाउने कार्य स्वाभाविक र अस्वाभाविक दुवै प्रकारका कारणहरुले गर्दा धेरै दावीहरु यस चरणमा रोकिएर बसेका हुन्छन | स्वाभाविक र अस्वाभाविक कुन कारणले दावी रोकिएको हो ? छुट्याउने सिस्टम आवस्यक हाल नरहेकाले नियामकले सबै दावीहरुलाइ एकै प्रकारले बुझ्ने गरेको |
९. सर्भेयरले दावीकर्ता बिमित लाइ कागजातहरु का लागि ताकेता गरि निस्सा राख्ने कार्य   कागजातहरु का लागि दावीकर्ता लाइ ताकेता गर्नु पर्ने बारे के कसरि कति पटक ताकेता गर्नु पर्ने हो ? वा कस्तो परिस्थितिमा कागजात अपुग/अपूर्ण भएकै अवस्थामा सर्भे रिपोर्ट पेस गर्न पाइने हो ? आदि बारे नियामकिय निर्देशन मौन रहेकोले यो पक्ष सर्भेयरको स्वविवेकमा छोडिएको मान्न सकिन्छ |
१०. पुन: फिल्ड सर्भे गर्ने कार्य, बीमितसंग छलफल गर्ने कार्य र बीमा  कम्पनीसंग छलफल गर्ने कार्य आदि (आवस्यकता अनुसार) बहुआयामिक दावी, ठुलो रकम क्लेम गरिएको दावी वा बिभिन्न इस्युहरु रहेको दावी आदिमा यस्ता कामहरु आवस्यक हुन गइ बढी समय लाग्ने गरेको |
११. बीमितबाट आवस्यक कागजात पेस भए पछी सर्भेयरले क्षति मुल्यांकन गरि सर्भे प्रतिबेदन तयार गर्ने कार्य बीमितबाट पुरा कागजात पेस नगरेका कारणले ढिलाई भएको हो वा सर्भेयरले सर्भे रिपोर्ट तयार गर्न नभ्याएका कारण ढिलाई भएको हो भनि छुट्टिने सिस्टम नभएकाले दुबैले एक अर्का लाइ ढिलाईको दोष देखाउने गरेको  |
१२. सर्भेयरले बीमा कम्पनीमा सर्भे प्रतिबेदन दर्ता गराई सो को निस्सा लिने कार्य र बीमितलाइ प्रतिबेदन पेस भएको जानकारी दिने  कार्य सर्भेयरले सर्भे प्रतिबेदन बिमा कम्पनीमा दर्ता गराएको बारे  जानकारी लिन सकिने सिस्टम नभएकाले प्रतिबेदन पेस भयो वा भएन ? भन्ने बारे बुझ्न पटक पटक बिमक र सर्भेयर लाइ फोन गर्न परि  परेको समेत गुनासो आउने गरेको |
१३. सर्भे प्रतिवेदन परिक्षण गरि सर्भेयरबाट तोकिएको दायित्व स्वीकार गर्ने/नगर्ने सम्बन्धमा बीमा कम्पनीको  “दावी फर्छ्योट  कार्यप्रक्रिया” पुरा गर्ने कार्य |   बहुआयामिक दावी, ठुलो साइजको दावी र जटिलता हरु रहेको दावीहरुमा कार्यप्रक्रियाको यो चरणमा समेत स्वभाबिक रुपमा बढी समय लाग्छ | तर त्यस प्रकारका स्वाभाविक कारणहरुले नै ढिलाई भएको हो वा होइन भन्ने बारे  बीमितलाइ जानकारी दिने सिस्टम नभएकोले बीमितले यस प्रकारका ढिलाईहरुमा समेत गुनासो गर्ने गरेको |
१४. दावी भुक्तानी पुर्जा अर्थात डिस्चार्ज भौचर  (डी भी) बीमित लाइ पठाउने कार्य दावीकर्ता सम्पर्क हुन सक्ने स्थानहरु जस्तै बीमा कम्पनीका शाखाहरु वा सम्बन्धित बैंक शाखामा डी भी पठाइने भएकाले यस कार्यमा केहि समय लाग्ने |
१५.

 

बिमितले क्षतिपूर्ति रकम स्वीकार गरी  डी भी मा दस्तखत गर्ने कार्य | बीमितले कति समयावधि भित्र डी भी स्वीकार/अस्वीकार गर्नुपर्ने हो भन्ने बारे नियामकिय निर्देशन मौन छ | यस नियम विहिनताको फाइदा उठाउदै क्षतिपूर्ति रकममा चित नबुझेका कतिपय दावीकर्ताहरुले नियामकमा उजुरी गर्नुको सट्टा डी भी लाइ रोकेर राख्ने गरेका छन | उनिहरुले तथ्य र तर्कका आधारमा नभई “रकम बढाए पछि दस्तखत गर्छु” भन्दै दावी फर्छ्योट कार्यप्रक्रिया अल्झाइ रकम बढाउन बाध्य गर्ने गरेकाले समेत ढिलाई हुने गरेको
१६. चेक वा बैंक ट्रान्सफर मार्फत बीमा  कम्पनीले दावीकर्ता बिमितलाई क्षतिपूर्ति भुक्तानी गर्ने कार्य डी भी मा दस्तखत गरेको लामो समय सम्म रकम प्राप्त नभएको केहि बीमितहरुको गुनासो यदाकदा सुनिने गरेको |

दावी फर्छ्योट प्रक्रियामा ढिलाई हुने ३ प्रकारहरु कारणहरु

३ प्रकारका कारणहरले दावी फर्छ्योटमा ढिलाई हुन जान्छ |

  • बीमाकर्मीको दायरा भन्दा बाहिरका स्वभाबिक कारणहरुले
  • बीमाकर्मिका क्षमता र योग्यता सम्बन्धित कारणहरुले
  • दावी फर्छ्योटमा हुने ढिलाई गराउने बीमाकर्मिका नियत सम्बन्धित कारणहरुले
  • बीमाकर्मीको दायरा बाहिरका कारणहरु

बीमाकर्मीको दायरा बाहिरका कतिपय कारणहरुले दावी फर्छ्योटमा ढिलाई हुने गर्छ, जस्तै

  • फिल्ड सर्भेका लागि बीमित तयार नरहेको, ताकेताका वावजुत कागजातहरु पेस नगरेको वा तर्क/प्रमाण बेगर क्षतिपूर्ति रकममा लामो समय असहमत रही डी भी रोक्ने गरेको
  • सुर्खेत-जुम्ला सडक अबरुद्ध रहेको र प्लेन टिकट समेत पाउन नसकेका कारण जुम्लामा बाढीपहिरोले गरेको क्षतिको करिब १ महिनापछि मात्र सर्भे हुन सकेको प्रकारका कारण
  • बिदेसबाट च्यासिस आयात गर्न ३ महिना भन्दा बढी समय लाग्ने भएकाले च्यासिस नै फेर्नुपर्ने प्रकारको मोटर दाबीमा दावी फर्छ्योट हुन ४ महिना भन्दा बढी समय लाग्ने प्रकारका कारणहरु

२. बीमाकर्मिका क्षमता र योग्यता सम्बन्धित कारणहरु :

सर्भेयर र बीमा कम्पनीको क्षमता र योग्यता अपुग भएका कारण समेत दावी फर्छ्योटमा ढिलाई भै रहेको हुन सक्छ, जस्तै

  • अभिकर्ता ले अनुपयुक्त पोलिसी जारि गरेका कारण क्षति मुल्यांकनका बखत विवाद उत्पन्न हुन गएका कारण हुने ढिलाई: जस्तै CAR पोलिसि जारि हुनु पर्ने निर्माणाधीन संरचनाका लागि सम्पति पोलिसी जारि भएको |
  • पोलिसी जारि गर्दा अभिकर्ताले बीमितलाइ जारि भएको पोलिसीको रक्षावरण बारे तथ्यपरक जानकारी नदिएका कारण क्षति मुल्यांकनका बखत विवाद उत्पन्न हुन गइ हुने ढिलाई, जस्तै हाइ भोल्टेजबाट मेशिनमा हुन गएको क्षति समेत सम्पति बिमालेखले कभर गर्ने गलत विस्वासका साथ पोलिसी जारि भएको अवस्था |
  • बीमित र रक्षावरण रहेको सम्पतिको पहिचान बारे तथा सम्पतिको स्थान बारे लगायतका विवरणहरु  पोलिसीमा तथ्य भन्दा फरक उल्लेख भएका कारण विवाद उत्पन्न भइ हुन गएको ढिलाई
  • सर्भेयरको जनशक्ति अपुग भएका कारण फिल्ड सर्भे र रिपोर्ट तयारीमा हुन गएको ढिलाई
  • दावी बिभागमा जनशक्ति अपुग भएर सर्भे प्रतिबेदनहरु अध्ययन हुन नसकि हुन गएको ढिलाई
  • सर्भेयरले क्षति मुल्यांकनका लागि आवस्यक कागजातको लिष्ट एकैपटक दिन नसकेका वा क्षति मुल्यान्कन आवस्यक नै नहुने कागजात माग भएका कारण हुने ढिलाई
  • सर्भेयर वा दावी बिभाग को कर्मचारी कुनै एकमा वा दुवै मा सम्बन्धित पोलिसिका अन्तरवस्तुको बुझाइ यथार्थ नभएका कारण “पाउनेलाइ नपाउने र नपाउनेलाइ पाउने” भनि निर्णय गरेका कारण हुने ढिलाई

३. बीमाकर्मिका नियत सम्बन्धित कारणहरु

हाम्रो जस्तो खुल्ला अर्थब्यबस्थामा सक्रिय बीमा कम्पनीहरु तथा सर्भेयरहरुले आ-आफ्नो व्यावसायिक शाख वृद्धिका लागि निरन्तर प्रयास गरीरहेका हुन्छन | तर यदाकदा बीमाकर्मी ले जानाजान वा नियतबस दावी फर्छ्योट कार्यलाइ ढिलाई गरिरहेको हुन सक्ने सम्भावना समेत नकार्न सकिदैन जस्तै

  • थप काम पाउन दावीकर्ता बिमितको भूमिका छैन भन्ने सोच भएको कुनै सर्भेयरले बिमितलाई जानाजान वेवास्ता गरी आफु अनुकुल समयमा मात्र फिल्ड सर्भे गर्ने र रिपोर्ट तयारि गर्ने लगायतका कार्यहरु गरि रहेका कारण हुने ढिलाई
  • आफ्नो कार्य मूल्यांकनका लागि दावीकर्ता बिमितको भूमिका छैन भन्ने सोच भएको दावी विभागको कुनै कर्मचारीले बिमितलाई जानाजान वेवास्ता गरी आफु अनुकुल समयमा मात्र रिपोर्ट चेक गर्ने लगायतका कार्यहरु गरिरहेका कारण हुने ढिलाई |
  • अझ खतरनाक अवस्था यो हुन सक्छ कि कुनै बीमाकर्मी (सर्भेयर वा दावी बिभागको कर्मचारी) ले बिमितसंग भ्रष्टाचारजन्य सौदावाजी गर्ने नियतका कारण समेत दावी फर्छ्योट कार्य प्रक्रिया रोकेका कारण हुने ढिलाई

बीमाकर्मिको नियतका कारणले दावी फर्छ्योटमा हुने ढिलाई कम गर्ने एक उपाय

दावी फर्छ्योट ढिलाई गराउने बाहिरि कारणहरु मा बिमा क्षेत्रको प्रतक्ष्य नियन्त्रण छैन | ढिलाई गराउने बीमाकर्मीका योग्यता सम्बन्धि कारणहरु तर्फ प्राधिकरण, बिमा कम्पनि, सर्भेयर, अभिकर्ता आदि सबै सरोकारवालाहरुको निरन्तर प्रयास आवस्यक छ | तर ढिलाई गराउने बीमाकर्मीका नियत सम्बन्धि कारणहरु लाइ न्यूनीकरण गर्न नै प्राधिकरणले उपयुक्त सिस्टम तर्जुमा गर्नुपर्ने हुन्छ |

तर नेपालको निर्जीवन बीमा क्षेत्रमा बीमाकर्मिबाट नियतवस ढिलाई गरिएको हो वा अन्य स्वभाबिक कारणहरुले ढिलाई हुन गएको हो भन्ने तथ्य सहजै हेर्न देखिने केहि पनि सिस्टम छैन | त्यसकारण दावी फर्छ्योटमा हुने सबै प्रकारका ढिलाईहरुलाइ सर्वसाधारण दाविकर्ताहरुले बीमाकर्मी को नियतका कारण नै ढिलाई भएको महसुस गर्ने गरेका छन | सर्वसाधारणमा रहेको यो बुझाइ बीमा  क्षेत्रको बिकासमा ठुलो बाधा हो |

दावी फर्छ्योट ढिलाई सम्बन्धि दाविकर्ताहरुका सामान्य गुनासोहरु ओझेलमा परेको हुन सक्ने  

क्षतिपूर्ति रकम सम्बन्धि दर्ता भएका औपचारिक उजुरीहरुमा समिति/प्राधिकरणले कारवाही गरेकै हुन्छ वा गर्नै पर्ने हुन्छ | तर दावी फर्छ्योट ढिलाई सम्बन्धि नियामकमा दैनिक रुपमा लिखित/मौखिक सामान्य धेरै गुनासोहरु आएको हुनसक्छ | “दावी फर्छ्योट ढिलाइको कारण देखाउने सिस्टम” को अभावका कारण उक्त सामान्य  उजुरीहरु बारे प्राधिकरणले सहज रुपबाट तत्कालै जानकारी लिन सक्ने अवस्था छैन | त्यस प्रकारका प्रत्येक लिखित/मौखिक गुनासोहरुका लागि समेत फोन गर्ने वा पत्र लेख्ने आदि कार्यहरु गर्न प्राधिकरणलाइ सम्भव नभएकाले कतिपय गुनासो/उजुरी हरु बिना कारवाही तामेलीमा बसेको अवस्था हुन सक्छ |

दावी फर्छ्योट सहज र सरल गर्ने सम्बन्धि नेपालमा हाल मौजुदा व्यावस्थाहरु  

परम्परागत रुपमा नै दावी विभागले दाविकर्तालाइ फोनबाट जानकारी दिने व्यवस्था छदैछ | साथै नेपालका निर्जीवन बीमा कम्पनीहरुले आफ्ना वेवसाइटमा दावी फर्छ्योट सम्बन्धि बीमितलाइ उपयोगी हुने प्रारम्भिक चरणका केहि व्यावस्थाहरु गरेकाछन जस्तै

  • दावी गर्न आवस्यक इन्टिमेसन फारम र क्लेम फारम डाउनलोड गर्न सकिने व्यावस्था
  • अनलाइनबाट दावी गर्न सकिने र टेलिफोनबाट दावीको अवस्था बुझन सकिने व्यावस्था
  • दावी गर्न आवस्यक कागजातहरुको लिष्टहरु डाउनलोड गर्न सकिने व्यावस्था

उल्लेखनीय रुपमा एउटा बीमा कम्पनिले आफ्नो वेवसाइटमा “Check Your Claim” ट्याब राखेकोछ | उक्त बीमा कम्पनीले सर्भेयरलाइ कार्यादेश हुनासाथ सर्भेयर र दाविकर्ता दुबैलाई SMS मार्फत कोड पठाउने गरेकोछ | उक्त कोड बाट दाविकर्ताले आफ्नो दावीको अवस्था हेर्न सक्ने व्यवस्था गरिएकोछ | अर्को बीमा कम्पनीले बार्षिक रुपमा “दावी व्यवस्थापन सहजीकरण र सरलीकरणमा सर्भेयरको भूमिका” बिषयक सेमिनार गराउने गरेको पाइन्छ |

दावी फर्छ्योट ढिलाइको कारण देखाउने एकीकृत अनलाइन सिस्टमको अवधारणा

प्राय: सबै दावीकर्ताहरु स्वयं वा नजिक रहेको नया पुस्ताको व्यक्तिको सहयोगले वेवसाईटमा चाहिएको जानकारी हेर्ने वा हेर्न लगाउने अवस्थामा छन | प्राधिकरणले दावी फर्छ्योट कै लागि मात्र समर्पित इन्टरनेटमा आधारित सिस्टम तर्जुमा गरि सबै निर्जीवन बीमा  कम्पनी र सर्भेयरलाइ आवद्ध गर्नु पर्छ | उक्त सिस्टममा निर्जीवन बीमा कम्पनी र सर्भेयर दुवैले  दावी फर्छ्योट कार्यप्रक्रियाहरु (माइलस्टोन) हरु इन्ट्री गर्दै लैजाने व्यवस्था गर्नु पर्छ | यस प्रकारको व्यवस्थाले मात्र नियामक प्राधिकरण र ग्राहकरुपी दावीकर्ता बीमित दुवैले कुनै पनि दावीको “दावी फर्छ्योट प्रक्रिया कहा पुग्यो ?” भनि तत्काल हेर्न सक्नेछन | यो वेवसाइटको नाम www.dawi.com.np वा यस्तै अन्य केहि राख्न सकिन्छ |

दावीकर्ता बीमितका लागि  www.dawi.com.np

सो वेवसाईटमा दावीकर्ता बीमितले आफ्नो दावी नम्बर वा पोलिसी नम्बर इन्ट्री गरे पछी न्युनतम आवस्यक जानकारी प्राप्त गर्ने प्रबन्ध गर्नुपर्छ | दावी फर्छ्योट सम्बन्धि कार्यान्वयन गर्ने २ वटा पक्षहरु बीमा कम्पनी र सर्भेयर भएकाले दावीकर्ताले पहिलो चरणमा उनीहरुलाई नै गुनासो गर्न खोज्दछ | त्यसकारण सोहि वेवसाईट मार्फत प्रथम चरणमा दावीकर्ताले बीमा कम्पनी र सर्भेयरमा गुनासो गर्न पाउने व्यवस्था गर्नु पर्छ |

बीमा प्राधिकरणका लागि  www.dawi.com.np

दावी फर्छ्योट ढिलाई सम्बन्धि प्राप्त गुनासो सम्बन्धित दावीको के अवस्था रहेछ भने प्राधिकरणले तत्कालै हेर्न पाउनेछ | साथै हाल प्राधिकरण ले पटके रुपमा माग्ने गरेका दावी फर्छ्योट सम्बन्धि कतिपय डाटा समेत रियल टाइम बेसीसमा प्राप्त हुनेछ | बीमा कम्पनी र सर्भेयरले दावीकर्ताको गुनासो सम्बोधन नगरेको अवस्थामा सोहि वेवसाईट मार्फत दावीकर्ताले प्राधिकरणमा समेत गुनासो गर्न सक्ने व्यवस्था हुन् सक्छ | त्यसरी प्राधिकरणले दावी फर्छ्योट सम्बन्धि गुनासोहरुलाइ निक्कै छिटो छरितो तरिकाले सम्बोधन गर्न सक्नेछ |

सर्वसाधारणका लागि  www.dawi.com.np

उक्त वेवसाइटको व्यवस्थाले सर्वसाधारणमा बीमा प्राधिकरणले “दावी फर्छ्योट” लाइ वास्तव मै महत्व दिएको सन्देश प्रवाह हुनेछ | साथै सर्वसाधारणमा रहेको “बीमा कम्पनी र सर्भेयर ले दावी भुक्तानी नदिने वहानाहरु मात्र खोज्दछन” भन्ने भावना समेत बिस्तार बिस्तार कम हुदै जानेछ | निर्जीवन बीमा क्षेत्र बिकासका लागि यो एक महत्वपूर्ण सुधार हुनेछ |

अन्य देशहरु मा बीमा दावी ट्रयाकिङ गर्ने व्यवस्थाहरु

विभिन्न देशहरुमा बिभिन्न प्रकारका “ट्रयाक योर क्लेम” प्रावधानहरु राखिएको पाइन्छ | भारतमा विमा दावी ट्रयाकिङ का लागि प्राय बीमा कम्पनीहरु कै वेवसाइटमा “ट्रयाक योर क्लेम” राखिएको पाइन्छ | नेपालमा बीमा क्षेत्रको कुल कारोबार रकमको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको संख्या धेरै रहेकाले कतिपय बीमितहरुले बर्षै पिच्छे बीमा कम्पनी परिवर्तन गरेको देखिएको छ | साथै बीमा कम्पनी पिच्छेका वेबसाइटमा ट्रयाकिङ गर्ने व्यवस्था भएमा एकरुपता नहुने र प्राधिकरणले उक्त कार्यको अनुगमन गर्न असहज हुन सक्छ | त्यसकारण नेपालमा सबै निर्जीवन बिमा कम्पनिका दावीकर्ताहरुले आफ्नो दावी एउटा मात्र वेवसाइटमा ट्रयाकिङ  गर्न पाउने व्यवस्था बढी सहज र प्रभावकारी हुनेछ | बेलायतमा बीमा कम्पनीहरुले क्लेम कन्सोर्टियम गठन गरेर https://tmc.claimsconsortiumgroup.co.uk/Home वेवसाइट मार्फत एकीकृत रुपमा “ट्रयाक योर क्लेम” व्यवस्थित गरिएको पाइन्छ |

समग्र निचोड

इ-गभर्मेन्ट इ- बिजनेस लगायत आइटी को प्रयोग मार्फत सबै क्षेत्रहरुमा सेवा सुधार गर्ने गरिएकोमा यो एक इ-दावी भुक्तानी प्रकारको अवधारणा हो | DHL जस्ता कुरियरमा पाँच सय मात्र शुल्क तिरेको व्यक्तिले समेत आफ्नो सामान कहा पुग्यो भनि तत्काल हेर्न सकिने व्यावस्था रहेको हालको विश्व व्यावस्थामा लाखौ प्रिमियम तिरेर करोडौको क्षतिपूर्ति दावी गरेको दाविकर्ता बीमितले मेरो फाइल पेस भयो/भएन भनि सर्भेयर र बिमा कम्पनिलाइ पटक पटक निरन्तर फोन गर्नुपर्ने अवस्था कायम राख्नु पटक्कै उचित छैन |

दावी फर्छ्योटका ढिलाईको कारण देखाउने एकीकृत अनलाइन सिस्टम मार्फत नेपलका निर्जीवन बीमा दाविकर्ताहरुले आफ्नो दावीको अवस्था हेर्ने सकिने व्यावस्था गर्नुपर्छ | उक्त व्यवस्थाबाट बीमा प्राधिकरणले नेपालको बीमा दावी फर्छ्योट कार्यप्रक्रियामा तत्कालै आमुल सकारात्मक परिबर्तन गर्नसक्छ | निक्कै अस्वभाविक रुपमा करिब ४ बर्ष देखि रोकिएर बसेको बीमा  सर्भेयर तालिम अघिल्लो बर्ष बीमा समितिले गराएको थियो | जसबाट बीमा कम्पनीहरुले सर्भेयर नपाउने अवस्थामा सुधार आएकोछ | बीमा ऐन २०७९ जारी गराउने तर्फ समेत साविक बीमा समितिको सकृयता प्रसंसनिय रह्यो | अब बीमा ऐन २०७९ ले दिएको अधिकार प्रयोग गरि प्राधिकरणले यथासिघ्र www.dawi.com.np वेवसाइट सुरुवात गरि दावी फर्छ्योट प्रक्रियालाई सहज र सरल बनाउने आशा गर्न सकिन्छ |

(लेखक बुढा, सि-मेक कन्सल्टेन्सी प्रा. लि. का बीमा  सर्भेयर हुन् )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

0%

दु :खी

0%

अचम्मित

63%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS