Prabhu Life Ad Final

पहिचान सहित नेपाल पुनर्बीमा कम्पनीलाई स्थापित गरियो: महेश गुरागाईंसँगको अन्तर्वार्ता

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा निजी क्षेत्रबाट नियुक्त हुने पहिलो व्यक्ति महेश गुरागाईं हुन्। उनले २०७२ माघदेखि झण्डै साढे ४ बर्ष नेपाल रि मा अध्यक्ष भएर काम गरे। सो अवस्थामा उनले नेपाल रि मा अध्यक्ष भएर के कस्तो काम गरे ? त्यसबेला कम्पनीले के कस्तो चुनौती सामाना गर्न प-यो ? प्रस्तुत छः यिनै बिषयमा केन्द्रीत भएर नेपाल पुनर्बीमा कम्पनीका पुर्व अध्यक्ष, महेश गुरागाईंसँग गरेको कुराकानीको सारः

तपाईले नेपाल पुनर्बीमा कम्पनीमा निजी क्षेत्रबाट नियुक्ती हुने पहिलो अध्यक्ष भएर काम गर्ने अवसर पाउनु भयो, त्यो क्षणलाई कसरी सम्झनु हुन्छ ? साथै, तपाईको कार्यकालमा भएका उपलब्धी के के हुन्?
म २०७२ माघमा नेपाल पुनर्बीमा कम्पनीमा अध्यक्षमा नियुक्ती भएको थिए । बिशेषगरि म नेपाल रिमा अध्यक्षमा नियुक्त हुदाँ केही महत्वपूर्ण जिम्मेवारी तोकिएको थियो। कार्यालय स्थापना गर्ने, कम्पनीको वित्तिय विवरण बनाउने, समयमै पहिलो साधारण सभा गर्ने लगायतका जिम्मेवारी मलाई तोकिएको थियो । यसका अलावा कर्मचारी पुर्ति गर्नुपर्ने दायित्व पनि ममा थियो। त्यसपछि मैले २०७३ बैशाखसम्म आर्थिक बर्ष २०७१/७२ को वित्तिय विवरण तयार गरेर २०७३ असारमा कम्पनीको पहिलो साधारण सभा गर्न सफल भए ।

NLIC

त्यसपछि कम्पनीलाई शेयर निष्काशन गर्न पनि बाटो खुला भएको थियो। सोहीअनुसार कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो। हामीले उक्त सेयर फेस भ्यालु (प्रतिकित्ता १०० रुपैयौ) मै बिक्री गर्न सफल भयौ। उक्त शेयर प्रिमियम मूल्यमा बिक्री गर्न चौतर्फी दवाव थियो। मैले पब्लिकको पैसा ल्याएर संस्थापक लगानीकर्तालाई अतिरिक्त लाभ दिने काम नगरौं, पब्लिकलाई साधारण मूल्यमै सेयर बिक्री गरौं भनेर अडान लिए । त्यसपछि हामीले फेस भ्यालुमै आईपीओ जारी गरेका हौं । नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छोटो समयमै उक्त शेयरको मूल्य पनि प्रतिकित्ताँ १८०० रुपैयाँ हाराहारीमा पुगेको थियो। यद्यपि, अहिले त्यसको मूल्य घटेको छ ।

यस्तै, कर्मचारी पूर्ति गर्नुपर्ने पनि मेरो दायित्व थियो। संविधान आएपछि सरकारको स्वामित्व भएको संस्थामा पनि लोकसेवा मार्फत नै कर्मचारी पुर्ति गर्नुपर्ने बाध्यता थियो। त्यसपछि मैले कर्मचारीका दरबन्दी लगायतका कुराहरुको तयारी गरेर लोकसेवा आयोग पठाएको थिए । त्यसपछि थप प्रक्रिया पुरा गरेर कर्मचारी पूर्ति गरियो। त्यो काम गर्न पनि साढे ३ बर्ष लाग्यो । यद्यपि, हामीले पहिले नै करारमा प्राविधिक, चार्टर एकाउन्टेनहरु ल्याएर अतिरिक्त सुविधा दिएर काम गरिरहेका थियौ।

यस्तै, हामीले भारतमा नियमित पुनर्बीमा व्यवसाय गर्न त्यहाँको नियामक निकायबाट लाइसेन्स समेत प्राप्त गरेका थियौं । म आफै चार्टड एकाउन्टेन्ट भएको हुनाले भारतको बीमा क्षेत्रका धेरै मान्छेहरुसँग नजीकको सम्बन्ध थियो, फलस्वरुप हामीले यो उपलब्धी पनि गर्न सक्यौ। तत्कालिन समयमा हामीले १५/२० कम्पनी व्यवसाय विस्तार गरेका थियौं । उनीहरुसँग हामीले कोटा शेयरमा व्यवसाय गरिरहेका थियौ। पछि भने एक्सेस अफ लस हुँदा मात्र क्षतिपूर्ति लिने र त्यहि अनुसार प्रिमियम तिर्ने तरिकाले विदेशी कम्पनीसँग व्यवसाय गरेका थियौं । पहिले कोटा सेयरमा धेरै प्रिमियम जान्थ्यो। पछि भने त्यसमा कमी आएको थियो। त्यो पनि एउटा ठुलो उपलब्धी हो जस्तो लाग्छ । यस्तै, बोर्डका सदस्यहरुलाई क्षमता विकासका तालिमहरु दिने काम समेत गर्याैं। कर्मचारीको क्षमता विकासका लागि पनि महिनामा कम्तीमा एकपटक विदेशी ल्याएर तालिम दिने व्यवस्था गरेका थियौँ ।

बिशेषगरि हामीले कम्पनीलाई विश्व बजारमा स्थापित गर्न सफल भयौं । कम्पनीलाई घाटा हुने व्यवसाय रोक्यौ। समग्रमा हामीले पहिचान सहितको बलियो कम्पनीको रुपमा नेपाल रिलाई स्थापित गर्न सफल भयौं ।

तपाई नेपाल रिमा अध्यक्ष भइरहदाँ केही चुनौती सामाना गर्न प-यो कि परेन ?
पक्कै पनि मेरो कार्यकाल त्यति सहज थिएन । चुनौतीका साथ नै मैले काम गरेको हो। मुख्यत मैले फेस गरेको चुनौती भनेको नलेजको अभाव नै हो। नेपालमा पुनर्बीमा सम्बन्धी, हाइड्रो मेकानिकल बीमा, सिभिल इन्जीनियरिङ बीमा लगायतका बिषयमा राम्रो नलेज थिएन । एभीएसन (एयरलाइन्स) को बीमा गर्न झन गाह्रो थियो। समग्रमा पुनर्बीमामा नेपालको पृष्ठभुमि एकदमै कम्जोर थियो। त्यसले गर्दा हामीलाई काम गर्न पनि निकै चुनौती भएको थियो। विदेशबाट ल्याउने व्यवसायलाई राम्रोसँग बिश्लेषण गर्न सक्ने क्षमता पनि हामीसँग थिएन । त्यो अवस्थामा हामीलाई कुनै पनि समय समस्या हुन सक्थ्यो। त्यस्ता सम्भावित जोखिमलाई समेत दृष्टिगत गरेर हामीले काम गरेका थियौ। साथै, नेपालको सानो बजार पनि आफैमा चुनौती थियो।

त्यसैगरि स्वेदशी बीमा बजारबाट पनि सोचेअनुसार सहयोग पाउन सकेनौं । नेपालका कम्पनीहरुले व्यवसाय दिन्थे, तर त्यस बापतको शुल्क भने महिनौ दिनसम्म दिने थिएनन्। व्याज कमाउने होडमा कम्पनीहरुले हामीलाई दिने प्रिमियम नै होल्ड गर्दथे। यहाँका कम्पनीहरुले राम्रो व्यवसाय समेत हामीलाई दिन खोज्दैनथे। कमिशनको लगायत व्यक्तिगत स्वास्र्थको कारण सकभर पुनर्बीमा बाहिर नै गर्न खोज्दथे। त्यो पनि हाम्रो लागि ठुलो चुनौती थियो। सायद, त्यो समस्या अझै पनि छ जस्तो लाग्छ ।

यस्तै, सरकार तथा बीमा समितिले कम्पनीको सञ्चालक तथा लिडरसिपलाई त्यति अधिकार पनि दिएको थिएन । साथै, बोर्ड सदस्यहरुलाई कम्पनीको मार्केटिङमा जान सक्ने अधिकार दिइएको थिएन । पहिला कर्मचारी लेभलमा मार्केटिङको अभ्यास कम नै थियो। त्यसमाथि लोकसेवाबाट आउने कर्मचारी पुनर्बीमा अनविज्ञ पनि हुन सक्छन्। तसर्थ, पनि हामीलाई चुनौती थपिएको थियो।

यस्तै, अर्थमन्त्रालयले पनि बीचमा करारका कर्मचारीलाई नियमित कर्मचारीले खाइपाइ आएको सुविधा भन्दा बढी नदिने भन्यो। त्यसपछि हामीले ३/४ बर्ष लगाएर तयार गरेको कर्मचारीले छोडेर गए । त्यसपछि हामीसँग बिश्लेषण गर्ने, विदेशी बजारलाई बुझेर काम गर्ने मान्छे पनि भएनन्। लोकसेवामा पास गर्दैमा सबै नलेज हुन्छ भन्ने हुँदैन । साथै, सेवा सुविधा पनि सरकारी स्तरकोले हुदैन, पुनर्बीमामा काम गर्नेलाई कति प्रतिशत बढी तलब दिने भन्ने कुराले महत्व राख्छ । तर, त्यो अभ्यास पनि हामी कहाँ छैन ।

सरकारले नेपाल रिको सीईओलाई सर्टेन इन्सेन्टीभ लगायतका सेवा सुविधा दिने व्यवस्था गरेको छ । तर, सीईओलाई कर्मचारीको सेवा सुविधा निर्धारण गर्ने लगायतका बिषयमा अधिकार दिइएको थिएन । त्यसले गर्दा पनि काम गर्न गाह्रो भएको थियो। बिभिन्न चुनौतीका कारण हामीले बढी जोखिम हुने व्यवसाय त केही बर्ष बन्द नै गरेका थियौं । बिशेषगरि प्रिमियम भन्दा दावी बढी जाने खालको व्यवसाय हामीले बन्द गरेका थियौ। हामीले विदेशमा गएर अन्तराष्ट्रिय अभ्यासअनुसार काम गर्न सक्ने अवस्था पनि थिएन । सम्बन्धीत मुलुकका नियामक निकायले पनि राम्रासँग नियमन नगर्ने समस्या देखियो। त्यसकारण पनि हामीले धेरै बिजनेश ड्रप ग-यौँ ।

नेपालमा अहिले निजी क्षेत्रबाट अर्काे पनि पुनर्बीमा कम्पनी (हिमालयन रि) स्थापना भएको छ, यसलाई कसरी लिनु भएको छ ?
यो स्वभाविक हो। यसलाई नकरात्मक रुपमा विश्लेषण गर्न हुदैन । पुनर्बीमाका लागि नेपालमा भन्दा विदेशमा ठुलो बजार छ । तसर्थ, नेपालमा पुनर्बीमा कम्पनी थपियो भनेर आतिनु पर्दैन । बरु ट्राभल एजेन्सी जसरी जति पुनर्बीमा कम्पनी स्थापना गरेपनि हुन्छ । किनकी, यसको बजार विदेशमा छ । र, उनीहरुलाई सोहीअनुसार विदेशमै काम गर्न जोड दिनुपर्छ । समग्रमा ठुलो मात्रामा विदेशी मुद्रा भित्र्याउने सक्ने क्षेत्रको रुपमा पुनर्बीमा क्षेत्रलाई अघि बढाउनुपर्छ ।

तपाईले चाहेर पनि गर्न नसकेको काम केही छन् की ?
पक्कै पनि, मैले चाहेर पनि गर्न नसकेको काम छन्। कम्पनीलाई आवश्यता परेअनुसार इपीसेन्सी कर्मचारी राख्न सकिन । साथै, राखेकालाई पनि भनेजस्तो सुविधा दिन सकिएन । बोर्डलाई अंकुस नै लगाइएको थियो। फलस्वरुप हामीले बोर्डको रुपमा राम्रोसँग काम गर्न सकिएन । साथै, कम्पनीको रेटीङ गर्ने कार्यलाई पनि सफल बनाउन सकिएन ।

यस्तै, मैले कम्पनीको अन्तराष्ट्रिय क्रेडिट रेटिङ गर्ने प्रक्रिया अगाडि बढाएको पनि थिए । तर, त्यसको लागि मुलुककै रेटिङ हुनुपर्ने रहेछ । नेपालको भने कन्ट्री रेटिङ भएको थिएन । मैले कन्ट्रि रेटिङ गरौँ भनेर अर्थ मन्त्रालयमा भनेको पनि थिए । तर, न कम्पनीको रेटिङ हुन सक्यो न मुलुकनै रेटिङ भएको छ । मुलुकको रेटिङ नभएको अवस्थामा हामीले कम अंक पाउछौ। यद्यपि, हामीले एएमबेस्ट लगायतका रेटिङ एजेन्सीमा प्रक्रिया अघि बढाएका थियौं । तर, मापदण्ड पु¥याउन सकिएन । यदि हामीले विदेशबाट व्यवसाय ल्याउनै छ भने त्यस्तो रेटिङ गर्नैपर्छ ।

अब नेपाल पुनर्बीमा कम्पनीले गर्नुपर्ने कामहरु के के हुन्?
बिशेषगरि नेपाल पुनर्बीमा कम्पनीले क्षमता विकास गर्ने काम गर्नुपर्छ । स्वदेशी तथा विदेशी बजारका कुनै पनि कम्पनीसँग प्रतिस्पर्धा गर्ने क्षमता नेपाल पुनर्बीमा कम्पनीसँग हुनुपर्छ । यस्तै, कम्पनीलाई अटोमेशन गर्ने, बोर्डमा क्षमता भएका तथा व्यवसायीक मान्छे राख्ने पनि गर्नुपर्छ । साथै, कम्पनीको अन्तराष्ट्रिय क्रेडिट रेटीङ गर्ने, भवन बनाउने लगायतका काम पनि कम्पनीले गर्नुपर्छ । यसैगरि अन्तराष्ट्रिय बजारलाई बुझ्ने, बिश्लेषण गर्न सक्ने, तथ्यांक बनाउन सक्ने म्यानपावर पनि कम्पनीमा हुन आवश्यक छ । बिशेषगरि उच्च व्यवस्थापनमा विदेशी कर्मचारी राख्ने, विदेशमा शाखा खोल्ने लगायतका बिषयमा पनि कम्पनीले सोच्नुपर्छ ।

साथै, सरकारले पनि कम्पनीलाई स्वायत्त दिनुपर्छ । लोकसेवाबाट आउने कर्मचारीलाई प्रतिस्पर्धा तथा सक्षम बनाउने तर्फ पनि कम्पनीले काम गर्नुपर्छ । अहिले लोकसेवाबाट पनि कर्मचारीहरु आएका छन्, उनीहरुलाई त्यहि अनुसार तालिम र सेवा सुविधा दिन सकिएमा व्यवसाय बढ्ने हो। कर्मचारी क्षमतावान भएमा व्यवसाय पनि माथि जान्छ । तसर्थ, यसमा सबैले ध्यान दिन आवश्यक पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App