IME Life

जोखिमको मूल्याङ्कन नगरी बारम्बार एउटै गल्ती दोहोर्याउदै बीमा कम्पनी, दिबस तिमल्सेनाको लेख

SPIL
NIC ASIA

जोखिमको व्यापार गर्ने बीमा कम्पनीहरु आफ्नै गलत अभ्यासको कारणले अधिक जोखिममा छन् । बजार विभाग र जोखिमांकन विभाग विचको समन्वयको अभावले गर्दा जोखिम हस्तान्तरणको साधनको रुपमा परिचित बीमा कम्पनी आफैँले लिन लागेको जोखिमको परल मूल्य, निहित प्रशासनिक खर्च, पूनर्बीमाबाट प्राप्त गर्न सकिने सोधभर्नाको सीमा, दावीको सोधभर्नाको सीमा, सम्भावित अन्य जोखिमबाट पर्ने अतिरिक्त व्ययभार लगाएतका विविध विषयको सहि र उचित पूर्वानुमान नगरि बजार विभागको टार्गेटलाई मात्रै आधार मानी व्यवसाय गरिरहेका छन् । बीमा कम्पनीहरुको गलत अभ्यासका निम्न उदाहरण मार्फत हेर्न सक्छौ ।

सन्दर्भ -१

Prabhu
Crest

नेपालको एक चल्तीको बैंकले अघिल्लो वर्ष आफ्ना कर्मचारीको लागि सामूहिक स्वास्थ्य बीमालेख लिनका लागि टेन्डर आह्वान गर्यो । सबैभन्दा कम मूल्य कबोल गर्ने एक निर्जिवन बीमा कम्पनीले उक्त टेण्डर बमोजिम सेवा प्रदान गर्नेगरी बीमालेख जारी पनि गर्यो । बीमा कबुल गरेको बीमाशुल्क रकमको सीमा सम्म बीमा दावीहरुको भूक्तानी पनि गर्यो । बैंकलाई समस्या तब पर्यो जब त्यस बीमा कम्पनीले झण्डै ७ गुणा बढिको दावी नदिइ झुलाएर आनाकानी गरीराख्यो । अझ ताजुबको कुरा त्यहाँ भयो कि यो वर्ष टेण्डर आह्वान गर्ने बैठकमै ठुलो राशीको दावीको आंकलन छ भनेर जान्दा जान्दै गत वर्षको दावी रकम खाम्ने सम्म भन्दा पनि न्युन दरमा अर्को बीमा कम्पनीले टेण्डरमा दरभाउ पेश गर्यो ।

सन्दर्भ- २

औषत नेपाली पेशा मध्ये सोझा भनि चित्रण गरिएका कृषक पेशाकर्मीका एक किसानले भैँसी पालन गरी बीमा गराए छन् । बीमा गराउँदा एउटै भैँसीका दुई वटा कानमा फरक फरक निर्जीवन बीमा कम्पनीका ट्याग लगाई एकै पटक दुई बीमा कम्पनीमा दावी गरेको पाइयो । मृत्यु भएको भैँसीको दायाँ बाँया फर्काइ फोटो भिडियो लिइ दुबै बीमा कम्पनीमा अलग अलग बीमा दावी गरेको रहेछ ।  अनुसन्धानका क्रममा दोस्रो ट्याग लगाइदिने कम्पनीका प्रतिनिधिलाई यो अघिल्लो साल बीमा गरेको कम्पनीको ट्याग हो भनि मोखिक जानकारी सम्म दिइएको रहेछ ।

सन्दर्भ -३

पत्रपत्रिकामा समेत चर्चामा आइरहने नामुद आयातकर्ता व्यापारीको मालसामान राख्ने गोदाम ललितपूरको कर्मनासा खोला संगै रहेछ, जहाँ हरेक वर्ष वर्षायाममा पानी परेसंगै डुवानमा पर्ने गरेको पाइएको छ । एउटा निर्जिवन बीमा कम्पनीले उक्त गोदामको बीमा हरेक वर्ष गर्दै दावी पनि तिर्दै गर्दाे रहेछ । उक्त गोदामको पानी जाने निकास वा सतहको अवस्थितीमा रहेको जोखिमको न्युनिकरणका कुनै उपाय अवलम्बन गर्न सुझाव पनि नदिइ हरेक वर्ष बीमा गर्दै र दावी तिर्दै गर्न कुन नियतले काम गर्छ त्यो अनुसन्धानको विषय हुनसक्छ ।

यहाँ उठान गर्न खोजिएको विषय भने दावीको जोखिम, अण्डरराइटिङ/प्राविधिक जोखिम र निर्णयकर्ताको जोखिमले पार्न बीमा व्यवसायमा पार्न सक्ने दूरगामी असरहरुको चर्चाको लागि हो ।

बीमाक्षेत्र नियामकको अन्तर्राष्ट्रिय संस्था  ” IAIS ” ले निर्दिष्ट गरेको “बीमाका मूल सिद्धान्त र साझा रुपरेखा” अन्तर्गत नियम १६ र तत् तत् नियमहरुमा रहि बीमा समितिले “Risk Management Guidelines for Insurance Company, 2076” सम्बन्धी निर्देशिका  समेत जारी भएको अवस्था छ । सो निर्देशिकाको क्रम संख्या ३.२, ३.३ र र ३.४ को उद्देश्य हासिल गर्न क्र.सं. ६.५ अन्तर्गतको बीमालेखको मूल्य निर्धारण गर्दा अपनाउनुपर्ने मार्गनिर्देशनहरु तथा ६.६ को जोखिमांकन मार्गनिर्देशनहरु नेपालका बीमा कम्पनीहरुलाई बाध्यकारी भएको परिप्रेक्ष्यमा बीमा जोखिम वहन गर्नका लागि गरिने पूर्वअध्ययन, तथ्यांक संकलन, विश्लेषण, सम्भाव्य उपायहरुको खोजि, उचित उपायको सुझाव, र सुझाव कार्यान्वयन सम्मका विधिहरुको पालना हुनुपर्ने नीतिको व्यवस्था छ ।

माथिका प्रतिनिधि घटनाहरुको सम्बन्धमा सन्दर्भहरुलाई लाई निम्न कसीबाट हेर्न सकिन्छ ।

क. बजार विभाग र जोखिमांकन विभाग बीचको समन्वयको अभावः जोखिमको व्यापार गर्ने बीमा कम्पनी आफैँ आफ्नो गलत नीति निर्णयका कारण कतिको जोखिममा छ भनी आत्म मूल्यांकन हुनु जरुरी छ । जोखिम हस्तान्तरणको साधनको रुपमा परिचित बीमा कम्पनी आफैँले लिन लागेको जोखिमको परल मूल्य, निहित प्रशासनिक खर्च, पूनर्बीमाबाट प्राप्त गर्न सकिने सोधभर्नाको सीमा, दावीको सोधभर्नाको सीमा, सम्भावित अन्य जोखिमबाट पर्ने अतिरिक्त व्ययभार लगाएतका विविध विषयको सहि र उचित पूर्वानुमान गरेर मात्र बीमाजोखिम बहन गर्नुपर्ने देखिन्छ । बजार विभागको टार्गेटलाई मात्र आधार बनाई लिइने एकांगी निर्णय वा जोखिमांकन विभागको गलत आधार लिई गरिने जोखिमको मूल्य निर्धारण, वा पूनर्बीमाबाट पूर्णरुपमा सोधभर्ना हुन नसक्ने अवस्था र कम्पनीको आफ्नै जोखिम धारण क्षमता समेत क्षयिकरण हुनसक्ने अवस्थालाई नहेरी गरिएको नीतिगत निर्णयको शिकार आफैँ हुन जाने अवस्था सिर्जित हुन सक्छ । बीमालेखको प्रकृति अनुसार घाटा खाएरै गर्नुपर्ने मूल्य प्रवर्धित बीमाप्रकार (Value Add Products) को नाममा जोखिमलाई अन्य बीमालेख संगै बन्डलिङ (Bundling) गर्दै जाने हो भने फाइदा हुन सक्ने पोर्टफोलियो समेत समय अन्तरालमा जोखिममा पर्न जाने देखिन्छ । अन्ततः बीमा कम्पनीकै नाफाको मूख्य श्रोतको रुपमा पूनर्बीमा आय तथा कमिसन कम भई दावीका लागि अन्य श्रोत परिचालन तथा पूँजीको क्षयिकरण सम्मका अवस्था नहोला भन्न सकिन्न ।

ख. प्राविधिक पक्ष, नैतिक पक्ष र व्यवसायिक रणनीतिको अन्तर्सम्बन्धः आर्थिक क्षेत्रको एक महत्वपूर्ण र जिम्मेवार निकायको नाताले बीमा कम्पनीहरुले जोखिम खरिद गरी संकलन गरेको रकमलाई सहि र वास्तविक दावीकर्ताहरुलाई क्षतिपूर्ति दिने आफ्नो जिम्मेवारी निर्वाह गर्नेमा कुनै शंका रहँदैन । तथापि जानाजान गलत, लापरवाहीपूर्ण वा हेलचेक्राईँको कारणले बीमा दावी सहि र वास्तविक पीडित सम्म नपुग्ने अवस्था हुन सक्छ । वा बीमित आफैँ पनि फाइदा पुग्ने हिसाबले क्षतिको मूल्य बढाउने लगाएतका कार्य गर्न सक्छन् । उक्त अवस्था निराकरण गर्न बीमितलाई दोषि देखाउनुभन्दा आफ्नै जनशक्तिलाई जोखिम व्यवस्थापनका विषयमा जागरुक बनाइनु पर्दछ । सो अवस्थालाई सुधार गर्न, बीमा कम्पनीहरुले योग्य, दक्ष, नैतिकवान, जनशक्ति तयार गरी बेला बेलमा अभिमुखिकरण लगाएत क्रसचेक गर्न आन्तरिक नियन्त्रण प्रणाली, ह्विसल ब्लोइङ प्रणाली विकास गरी कडाइका साथ लागुहुनपर्ने खाँचो देखिन्छ । शाखा कार्यालयहरु वा महत्वपूर्ण भूमिकामा रहेका कर्मचारीहरुमाथी तत्कालको लाभहानीको आधारमा अन्देखा गरी व्यवसायमा भइरहेका वेथितीहरुलाई समयमै नियन्त्रण नगर्ने परिपाटीले अन्ततोगत्वा कम्पनीको साख र व्यवसायलाई नै हानी पुर्याउने निश्चित छ ।

ग. व्यापारको रफ्तार र कानूनको अवरोधः निसन्देह बीमा व्यवसाय गैर नाफामुखी रहन सक्दैन । व्यापार बीमा व्यवसायको पहिलो र अनिवार्य शर्त हो । यद्दपी नियामक निकायले तोकिदिएका नियम, बीमा कम्पनीकै रक्षाकवचका निमित्त बनाईएका हुन्छन् । यी नियम बीमित, लगानीकर्ता र अन्य सरोकारवालाहरु सापेक्ष हुन्छन् । आ आफ्ना परिधिभित्र रहि सुशासनका कायम गर्न तोकिएका न्युनतम शर्तहरुको पालना वान्छनिय हुन्छ । बीमा व्यवसाय ल्याउँदा पु¥याउनु पर्ने कागजात, बीमित व्यक्ति वा संस्थाको नियत, कम्पनीको जोखिम वहन क्षमता, पूँजी पर्याप्तता, पूनर्बीमा सबलता जस्ता यावत पक्षहरुको विचार गरेर मात्र जोखिम वहन गरिनुपर्छ । हरेका बीमा प्रस्ताव स्वीकार योग्य नहुन पनि सक्छन् । नीति नियमका पालनका क्रममा व्यापार व्यवसायमा केहि अवरोध भएको जस्तो अनुभूति पनि यदाकदा हुने गर्दछ । तर कानूनको पालनाले नै बीमाक्षेत्रका सबैको अधिकार र कर्तव्य सुरक्षित गरी भैपरी आउने अवस्थाबाट बचाउँछ ।   व्यापार व्यवसायका निमित्त नियम कानूनकै धज्जी उडाउँदै, पहुँच र पैसाका आधारमा गरिने कार्यको चाङ बढ्दै गएमा कम्पनी आफैँलाई कालान्तरमा हानी हुनेनै छ ।

अतः बीमा क्षेत्रमा सुशासन, कानूनी राज, सहि र वास्तविक दावी भूक्तानी, समयानुकुल नाफा, संरचनागत सुधार, स्वस्थ व्यवसायीक नैतिकता नै बीमाक्षेत्रका उन्नतीका आधारहरु हुन् ।

(दिबस तिमल्सेना सगरमाथा इन्स्योरेन्स कम्पनीमा कार्यरत छन् । लेखमा प्रयुक्त विचार लेखकका नीजि विचार हुन्, नीज कार्यरत संस्थाको आधिकारिक विचारको प्रतिनिधित्व गर्दैन ।)      

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS