Prabhu Life Ad Final

जीवन बीमकको संचालकले स्वस्थ व्यापार खोज्ने कि सुन्निएर मोटाएको रोज्ने ?

जीवन बीमा कम्पनीहरुको त्रैमासिक वित्तीय प्रतिवेदन प्रकाशन भएलगत्तै संचालक समिति सदस्यहरु अरु कम्पनीको प्रगतीसँग आफूले नेतृत्व गरेको कम्पनीको तुलना गर्न थाल्छन् ।

नयाँ व्यवसाय, नविकरण बीमाशुल्क आम्दानी, दाबी भुक्तानीको अवस्था, नोक्सानी व्यवस्था, व्यवस्थापन खर्च र नाफा नोक्सान लगायत प्रमुख सूचकहरु संचालकहरुको मुख्य चासोको विषय हुन्छ ।

NLIC

जीवन बीमा क्षेत्रको प्राविधिक पक्ष बुझेका संचालकहरुको संख्या सीमित छ । जीवन बीमा लामो समयको दौड हो, बीमितबाट लामो समयसम्मको लागी जोखिम बहन गरिएको हुन्छ भन्ने बारे थोरैले मात्र हेक्का राख्छन् वा राखेपनि बजारको दौडमा यो बिर्सिदिन्छन् ।

कुनै कम्पनीले छोटो समयमै मनग्ये प्रथम बीमाशुल्क आर्जन् गर्दा आफू संचालक रहेको कम्पनीले किन गर्न सकेन भन्ने चासो हुनु स्वाभाविक पनि हो । तर छोटो समयमै फड्को मारेको कम्पनीले कतिको स्वस्थ व्यवसाय भित्र्याएको छ ? कतिको दीर्घकालीन लाभ हुने व्यापार गरेको छ भन्ने पक्षबारे संचालक समितिले खासै चासो राख्दैन ।

२०७४ सालमा स्थापना भएका जीवन बीमा कम्पनीहरुमध्ये यूनियन लाईफ इन्स्योरेन्स प्रथम बीमाशुल्क र कूल बीमाशुल्क आर्जनको हिसाबले पहिलो पाँच कम्पनीहरुको सूचीमा दरिंदै आएको छ । तर यूनियन लाईफ इन्स्योरेन्सले नै भित्र्याएको वार्षिक धनफिर्ता(मनिब्याक) बीमा योजना अहिले सबै बीमकको लागी घाँडो बनेको छ । बन्द गरौं भने व्यापारको उल्लेखनीय हिस्सा ओगटेको छ, चालू राखौं भने घाटाको व्यापार हो, यस्तो अवस्थामा छन् केही बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु । बीमा गरेको पहिलो वर्ष पुरा भएलगत्तै बीमांकको पाँच प्रतिशत रकम फिर्ता दिनुपर्ने, अभिकर्ता कमिशन, पूनर्बीमा शुल्क, नियामक शुल्क र व्यवस्थापन खर्चसमेत जोड्दा यो बीमालेख खर्चिलो छ ।

यसबाहेक एकल बीमाशुल्क भुक्तानी पछि जारी गरिने बीमालेख जारी गरिएकै दिन ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने विकृति पनि बीमा क्षेत्रमा यूनियन लाईफ इन्स्योरेन्सले नै भित्र्याएको हो । यसले समग्र बीमा क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्ने देखिए पछि बीमा समितिले नीतिगत व्यवस्थामार्फत् नै बीमालेख जारी भएकै दिन कर्जा रकम उपलब्ध गराउन रोक लगाउन बाध्य भएको थियो ।

यूनियन लाईफ इन्स्योरेन्सले अस्वस्थ व्यापार भित्र्याएकै कारण यसको बोनश दर एकदमै कमजोर छ । सर्वसाधारणमा शेयर जारी गरेपछिको वित्तीय विवरणहरु निराशाजनक छन् । पछिल्लो वित्तीय विवरणमा घाटा ह्वात्तै बढेको देखिएको छ । यूनियन लाईफ संचालनमा आएको पाँच वर्ष हुँदैछ, अहिले नै यसको व्यापारको साइड इफेक्ट देखिन थालि सकेको छ । यूनियन लाईफ इन्स्योरेन्सको व्यवस्थापनले जीवन बीमा क्षेत्रमा भित्र्याएको ट्रेण्डलाई कालिदास प्रवृत्ति भन्दा अनुपयुक्त नहोला ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपाल लाईफ इन्स्योरेन्सले ७ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्दा बीमालेख समर्पण (सरेण्डर)वापत ५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपरेको छ । बीमालेख समर्पणवापत प्रथम बीमाशुल्कको कति प्रतिशत रकम बाहिरिएको छ भन्नेबारे पाठक स्वयंले गणना गर्न सक्नुहुन्छ ।

दोष यूनियन लाईफ इन्स्योरेन्सको व्यवस्थापनको मात्र छैन, अन्य जीवन बीमा कम्पनीहरु पनि अस्वस्थ प्रतिस्पर्धाको दौडमा लागेर चाहेर वा नचाहेर खराब व्यापार गरिरहेका छन् । चार वर्षे कार्यकालको जिम्मेवारी लिएर आएका सिइओ साबहरुलाई पनि आफ्नो कार्यकालमा सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गरेर देखाउनु पर्ने बाध्यता छ । चाहे त्यो ठूलो संख्यामा बीमालेख समर्पण गराएरै किन संभव नहोस् । चाहे एकल बीमाशुल्कबाटै किन नहोस् । चाहे ठूला अभिकर्ताहरुलाई टेबुलमुनीबाट खाम दिएरै किन नहोस् ।

यी माथि उल्लेखित उदाहरणहरुबाट संचालक समितिले प्रमुख कार्यकारी अधिकृतहरुलाई जुनसुकै हालतमा सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गर भन्ने कि घाटा लाग्ने वा उच्च वित्तीय जोखिम व्यहोर्नुपर्ने बीमालेख बेच्दै नबेच भन्ने ? बारे गम्भीरतापूर्वक विचार गर्नुपर्ने अवस्था आएको छ ।

दशकौंं समयसम्म स्वस्थ व्यवसाय गर्नुपर्ने जीवन बीमा कम्पनीहरुलाई पानीको फोका जस्तो अल्पकालीन व्यापारमा रमाउने हो भने कुनै पनि कम्पनीको लगानीकर्ता वा बीमित र स्वयम् कर्मचारीले दीर्घकालमा लाभ प्राप्त गर्न सक्नेछैनन् सबैलाई हेक्का होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App