बैंक र बीमा कम्पनीको सहकार्य विना ऋणी र बीमित सुरक्षित हुन सक्दैनन,  हाङमा सुब्बाको लेख

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले धितो मूल्याङ्कनका आधारमा कर्जा प्रवाह गर्दा बीमालाई अनिवार्य गरिदिएको छ । अझ बैंकको ऋणलाई बीमाको दाबीले खाम्ने गरी बीमा गर्नु पर्ने व्यवस्था गरिएको छ । यसले बैंक र बीमाको सम्बन्ध अझ अन्योन्याश्रीत बन्न पुगेको छ ।

विगतमा बैंकहरुले बीमालाई वास्ता नगरी धितोले मात्रै खाम्ने गरी बीमा गर्ने गरेका थिए । कतिपय अवस्थामा बैंकहरुले सम्पत्तीको बीमा गर्दा ऋण बराबरको मात्रै गर्ने गरेको पाइन्छ । कर्जा दिदा ऋणीको सुरक्षालाई ध्यान नदिइ कर्जा प्रवाह गर्ने बैंकलाई अदालतले उनिहरुको विरुद्धमा फैसला समेत गरेका उदाहरण छन् ।

धितो राखेको अचल सम्पत्ति बीमा गर्न चुक्दा नेपाल बैंक लिमिटेडलाई ताप्लेजुङ जिल्ला अदालतले १ करोड रुपैयाँ भन्दा बढी क्षतिपुर्ति भुक्तानीको आदेश दिएको छ ।

यो घटना हो मेरिङ्देन गाउंपालिका वडा नं ३ दोभान बजारका हार्डवेयर पसलका जीवन प्रसाद पौडेलको हो । उनले नेपाल बैंक लिमिटेड ताप्लेजुङबाट आफनो हार्डवेयर पसल धितो राखि ऋण लिएका थिए ।

वास्तवमा यो समाचार बीमा नगराउंदा बैंक आफैले क्षति व्यहोर्नु परेको एक उदाहरण हो । त्यसैले अहिलेको अवस्थामा बैंकहरुले आफना ऋणहरुलाई अनिवार्य बीमा गराउने गर्छन् । माथिको उदाहरण जस्तो बीमा नगराइई कर्जा प्रवाह गर्दा ठुलो क्षति बेहोर्नु पर्छ । त्यस्तै सम्भावित जोखमको आकलन नगरी बीमा मात्रै गर्दा पनि दाबी पाउन सकिदैन ।

बीमाको आधारभुत सिद्धान्त मध्ये बीमायोग्य हितको सिद्धान्त (Insurable interest) पनि एक हो । बीमायोग्य हितको सिद्धान्त भन्नाले बीमा गरिने वा गरिएको सम्पत्ती वा मानिस माथि बीमितको आफनो कानुनी तथा आर्थिक सुरक्षा अधिकार (Legal and financial right) भन्ने बुझिन्छ । यसरी कानुनी तथा आर्थिक रुपमा स्वामित्व भएमा हानीनोक्सानीको समयमा यसको सुविधा लाभ पनि उनै ब्यक्ति वा संस्थाले प्राप्त गर्दछ । यसको अलवा यस्ता बीमायोग्य हित नभएको विषयवस्तुको अन्य व्यक्ति वा संस्थाले बीमा गराउन सक्दैनन् वा पाईदैन ।

बीमा बीमक तथा बीमित बीचको द्धिपक्षीय करार भएता पनि धितोबन्धक वा धरौटी सम्बन्धी ब्यवस्था अन्तर्गत धितोबन्धक लिने संस्थाको र ऋणीको सयुक्त नाममा बीमालेख जारी गरिन्छ । तसर्थ जहा जहा बैंक जान्छ त्यहां त्यहां बीमा पनि जान्छ । यिनीहरु एक आपसका परिपुरक हुन् ।

बैंकबाट नियमित रुपमा सम्पत्ति, सवारी साधन, सामुन्द्रिक तथा विविध बीमाका लागि बीमा कम्पनीमा सम्पर्क गरिन्छ । यसरी बीमा गराउने क्रममा बैंकमा कार्यरत कर्मचारीहरुले बीमाका लागि के के विवरण चाहिन्छ भन्ने कुराको ख्याल राख्नु पर्दछ । बीमाका कर्मचारीहरु सँग आधारभुत चाहिने कागजातहरु तथा आवश्यक पर्ने अन्य कागजातहरुको बारेमा परामर्श गरेर मात्र बीमा गराउनु पर्दछ ।

उदाहरणका लागि सम्पत्ति बीमा अन्तर्गत भवनको विवरण, उल्लेखित बीमा गरिएको सम्पत्तिको विवरण कारण विवरण फरक भएमा बीमादर फरक पर्दछ । बीमा गरिएको सम्पत्तिको स्थान, बीमाकं रकम आदी । स्टक र मेशिनरीको बीमा गराउंदा पनि सावधानी अपनाउनु पर्दछ । अझ ठुला ठुला उद्योगको बीमा गर्दा यस्ता कुराहरुलाई धेरै नै ध्यान पुर्याउनु पर्छ ।

यदि एक भन्दा बढी विवरण भएको बीमा गराउनु पर्दा सोही बमोजिमको सम्पत्तिको विवरण र बीमाकं रकम (value) छुट्टा छुट्टै उपलब्ध गराउनु पर्दछ । सबै वस्तुगत तथ्यहरु ठीक र सही भएमा जसरी बीमा गर्न सजिलो हुन्छ त्यस्तै दावी प्रकृयाँ पनि सजिलो हुन्छ ।

त्यस्तै बीमा गराएर मात्र पनि हुदैन त्यसमा बीमा अवधिभर कुनै वस्तुगत फरक भएमा बीमा कम्पनीलाई तुरुन्त जानकारी गराई बीमालेखमा पनि उक्त विवरण संशोधन गराउन लगाउनु पर्दछ जसलाई बीमाको  भाषामा सम्पुष्टि भनिन्छ । यो पनि बीमालेखको अभिन्न अगंको रुपमा मानिन्छ ।

तर बीमा गर्दा जानेर होस या अन्जानमा होस (Misrepresentation/misdescription)  बीमा गरिने सम्पत्तिको वस्तुगत तथ्य सही र साचों नभएमा, मुलभूत विवरण ठीक नभएमा, जोखिम विश्लेषण गर्ने आधारहरु फरक भएमा तथा वास्तविकता लुकाइएमा तथा बीमालेखमा उल्लेख भएका शर्तहरु पालना नभएमा बीमकले दावी भुक्तानी गर्न सक्दैनन् ।

यसरी बैंक तथा वित्तीय संस्थाका सबै कर्मचारीहरु संवेदनशील हुनुपर्दछ । एक आपसमा आधारभुत छलफल तथा परामर्श गर्न आवश्यक छ । ऋणीलाई पनि साथमा राखेर बीमा सम्बन्धी छलफल हुनु आवश्यक छ ।

समस्याको चुरो कहाँ छ भन्दा ऋणी वा ग्राहक बीमा कम्पनीको सम्पर्कमा नहुने बैंकले नै बीमा गराइ दिने र इमान्दारका साथ भन्ने हो भने बीमा कम्पनीका कर्मचारीहरुमा बैंकले हामीलाई व्यापार दिइ रहेकोले उसलाई विगार्न हुदैन भन्ने भावना र यता बैंकका कर्मचारी सबैलाई त भन्न मिल्दैन तर एक निश्चित तहमा बीमा कम्पनी भन्दा हामी ठुलो हौं भन्ने मानसिकता व्याप्त छ ।

यी कारणले क्षतिको समयमा ऋणी समस्यामा पर्दछ र बीमा कम्पनीबाट दावी भुक्तानी नहुँदा अझ समस्यामा पर्दछ । यहाँ बीमा कम्पनीले दावी नै तिर्दैन भनि समाचार बन्ने गरको पाईन्छ तर सत्यतामा फरक छ ।

यसरी यी दुई संस्थाका कर्मचारीहरुले खुला रुपले (Persuasion), आ-आफना ज्ञान तथा अनुभवलाई बुझेर सहकार्य गर्ने हो भने यस्ता समस्याबाट सबै सेवाग्राही मुक्त हुन्छन् ।

(सुब्बा सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बरिष्ठ प्रवन्धक हुन् । उनि रिष्क म्यानेजमेन्ट विभाग प्रमुखको रुपमा कार्यरत छिन्)

निर्जिवन बीमाको दावी गर्दा बीमालेख बुझेर प्रकृयाँ अगाडी बढाउदा समस्या झेल्नु पर्दैन, हाङमा सुब्बाको लेख

इन्जिनियरिङ बीमा अन्तर्गत ‘ठेकेदार सम्पुर्ण जोखिम’को विवाद र समाधानको उपाय, हाङमा सुब्बाको लेख

जोखिमलाई आकंलन गरेर मात्रै ननट्यारिफ बीमा निर्देशिका परिमार्जन गर्नु पर्छ, हाङमा सुब्बाको लेख

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार