१२ वर्षपछि मृत्यु दर तालिका परिमार्जन गर्न पुनः तात्यो बीमा समिति

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमितको झण्डै १२ वर्षपछि मृत्युदर तालिका अध्यावधिक गर्ने तयारी थालेको छ । २०६६ सालमा पहिलो पटक जारी गरिएको बीमितको मृत्यु दर तालिका लाई अध्यावधिक गर्नको लागी समितिले शुक्रबार सबै जीवन बीमा कम्पनीका पूनर्बीमा र अण्डरराइटिङ विभाग प्रमुखसँग अन्तरकृया गरेको छ ।

ललितपुरस्थित होटल ग्रिनवीच भिलेजमा आयोजित कार्यक्रममा समितिको तर्फबाट बीमांकीले मृत्यु दर तालिकाबारे जानकारी दिएका थिए । साथै बीमा जोखिम र बीमाशुल्क निर्धारणमा मृत्युदर तालिकाको प्रयोग सम्बन्धमा पनि जानकारी दिइएको छ । कार्यक्रममा बीमा समितिको निर्देशक पूजन ढुंगेलले मृत्युदर तालिका परिमार्जनको लागी तयारीस्वरुप छलफल गरिएको जानकारी दिएकी छिन् ।

समितिले यसअघि २०७५ फागुनमै पनि जीवन बीमा कम्पनीहरुसँग मृत्यु दर तालिका अध्यावधिक गर्नको १९ वटै जीवन बीमा कम्पनीहरुसँग सन् २००९ देखि २०१९ सम्म पुरा १० वर्षको तथ्यांक मागेको थियो । बीमा कम्पनीहरुसँग समितिले मृत्यु दाबीको उमेर, लिङ्ग, मृत्युको कारण, बीमाको किसिमलगायत विस्तृत विवरण मागे पनि मृत्युदर तालिका बनाउने काम भएन ।

नेपाली बीमितको मृत्यु दर तालिका २०६६ लागू हुनुपूर्र्व नेपाली जीवन बीमा कम्पनीले भारत वा अन्य मुलुकको मृत्युदर तालिका प्रयोग हुँदै आएको थियो । मृत्युदर तालिकाको आधारमा कुनै निश्चित उमेरमा बीमितको मृत्यु हुने संभावना आंकलन गरिन्छ ।

पूनर्बीमा कम्पनीले जीवन बीमा कम्पनीसँग जोखिम बहन सम्बन्धमा कुनै सम्झौता गर्दा सम्बन्धित देशको मृत्यु दर तालिकालाई पनि प्राथमिकताका साथ जोखिम मूल्यांकनमा समावेश गरेको हुन्छ । साथै बीमक वा बिमांकीले बीमाशुल्क दर निर्धारणको लागि बीमितको मृत्युदर तालिकालाई समेत मुख्य आधारको रुपमा प्रयोग गर्छन् । मृत्यु दर तालिकामा जन्मदेखि ९९ वर्षको उमेरसम्म प्रत्येक उमेरको बीमितको मृत्यु हुने संभावनालाई समेटिएको हुन्छ ।

मृत्युदर तालिकामा कुनै निश्चित उमेरको प्रति हजार जना बीमितमध्ये मृत्यु हुनेको संभावित संख्यालाई आंकलन गरिएको हुन्छ । मानिसको उमेर बढ्दै जाँदा प्राकृतिक कारण, रोग वा दुर्घटना, पेशागत जोखिमको कारण मृत्युको जोखिम समेत बढ्दै जान्छ । त्यसैले धेरै उमेर हुनेको बीमाशुल्क पनि अन्यको तुलनामा महँगो हुन्छ ।

मृत्युदरलाई बीमितको उमेर, लिङ्ग, भूगोल, पेशागत पृष्ठभूमी, शैक्षिक योग्यता, समुदाय विशेषको वंशानुगत स्वास्थ्यस्थिति, मद्यपान, धुम्रपानको लत, शारीरिक वजनलगायतको आधारमा वर्गिकरण गरिएको हुन्छ । सामान्य सेवा वा व्यवसायमा संलग्न बीमितको तुलनामा हवाई उडान गर्ने पाइलट सुरक्षाकर्मी, युद्धमा खटिने सैनिकलगायतको जोखिमपूर्ण पेशामा संलग्न बीमितको मृत्युको संभावना उच्च हुन्छ । मृत्यु दर तालिकाले मृत्युदर बाहेक कुनै निश्चित उमेरको व्यक्तिको बाँकी आयुलाई समेत प्रक्षेपण गर्न मद्दत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार