जनशक्ति व्यवस्थापनको चुनौतीमा वर्तमान अवस्था

हाल सम्पूर्ण कम्पनीहरु गरि ४१ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेको तथ्य हामीमा छिपेको छैन् । विद्यमान जनशक्तिको अवस्थाले बीमा क्षेत्रलाई गरेको योगदान नगन्य नै मान्न पर्दछ । यसबाट अपेक्षा गरेको बीमाको पहुँचको लक्ष्यमा पुग्न अझै समय कुर्नुपर्ने देखिन्छ । वर्तमान अवस्थाः सबै कम्पनीहरुमा गरि करिब १२,००० जना जनशक्तिले पूर्णकालिन रोजगार (स्थायी, करार, नियमित ज्यालादारी) प्राप्त गरिरहेको अवस्था रहेको देखिन्छ । अधिकतम ६४० देखि न्यून ९२ जना कर्मचारी विभिन्न कम्पनीहरुमा कार्यरत रहदा एउटा कम्पनीमा औसत २९३ जना कर्मचारीले रोजगार प्रँप्त गरेको देखिन्छ ।

जसमा औसत ४० जना केन्द्रिय कार्यालयमा हुने अनुमान गर्दा बाँकी शाखा कार्यालयमा अटेको हुनु पर्दछ । यसले प्रत्येक कम्पनीका शाखा कार्यालयमा बीमा समितिले तोकेको न्यूनतम ३ कर्मचारी गणना गर्दा ८४ शाखा कार्यालय मात्र सञ्चालन हुन पुग्ने देखिन्छ । २८३ वटा सम्म शाखा कार्यालय समेत सञ्चालन गरेको परिप्रेक्क्षमा बीमा समितिको निर्देशनको धज्जी उडाउन कम्पनीहरु नै लागिपरेका देखिन्छन् । यसर्थ, अधिकतम शाखा, उपशाखामा कर्मचारीहरु १ वा २ मात्र रहेको अनुमान गर्न सकिन्छ । यसबाट संस्थागत सुशासन निर्देशिका २०७५ले व्यवस्था गरेको नियमनकारी व्यवस्था अधिकतम कम्पनीले पालन नगरेको देखिन्छ ।

हाल उपलब्ध जनशक्तिले रोजगार गर्देरहेको तथ्य हेर्दा विभिन्न कम्पनीहरुलाई अझै नयाँ तथा अनुभवी जनशक्तिको खा“चो रहेको अवस्था छ । अधिकांश कम्पनीहरुमा अनुभवी तथा उच्च व्यवस्थापकहरुको अनुपलब्धताले न्यून रुपमा उपलब्ध भएकाहरुलाई नै व्यवस्थापन गरि रहेको विभिन्न कम्पनीहरुको वेवसाईट मार्फत पाउन सकिन्छ । बीमा समितिले तोकेको विभागिय प्रमुखहरु, उच्च व्यवस्थापनका कर्मचारीहरु समेत कतिपय कम्पनीमा रिक्त रहेबाट अन्य क्षेत्रका जनशक्तिहरुले समेत थोरै अवसर पाउन सकेका भए तापनि यसै क्षेत्रमा दक्षता हासिल गरेका अनुभवीहरु भने केहि पलायन समेत भएको पाईन्छ । यसबाट प्रतिस्पर्धी बजारमा धेरै भन्दा धेरै व्यवसाय गरि लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्न समेत उपलब्ध जनशक्तिलाई हम्मेहम्मे परिरहेको देखिन्छ ।

शाखाबाट सेवा प्रवाह गर्ने क्रममा समेत बीमा समितिबाट शाखा कार्यालय विशेष कारण बाहेक बन्द गर्न नपाईने निर्देशनलाई कार्यरत कर्मचारी बिदा बसको अवस्थामा अभिकर्ताको जिम्मेवारीमा शाखा सञ्चालन भैरहेको तथ्य कसैमा छिपेको छैन् । नयाँ क्षेत्रहरुको पहिचान, व्यवसाय उपलब्ध हुन सक्ने सम्भावित क्षेत्र, प्रतिस्पर्धी कम्पनी भन्दा पहिले उपस्थित भई व्यवसाय गर्न उद्वेलित भएको अवस्थामा गुणस्तरिय भन्दा संख्यात्मक रुपमा बीमा गरि व्यवसाय बढाउने तरखर भएको हाम्रा सामू छदैछ ।

व्यवसाय बढ्ने क्रम रहेकै अवस्थामा थप जनशक्ति आवश्यक रहने तर रोजगार प्रदान गर्न अनुभव नै चाहिने भएबाट विज्ञापन गरेर मात्र जनशक्तिको पूर्ति गर्न कठिनाई भएको देखिन्छ । दक्षतायुक्त हुन नसकेको जनशक्ति विभागले समेत अन्य विभाग, सम्बन्धित व्यक्तिको विशेष सिफारिसमा आएकालाई वा पूर्व अभिकर्तालाई नियुक्ति गर्ने गरेको पाईन्छ । यसले बीमा समितिको कर्मचारी वा पदीय जिम्मेवारी सम्बन्धि निर्देशिकालाई समेत चुनौती दिने गरेको छ । यसप्रकारले नयाँ जनशक्तिले अपेक्षागत रुपमा कम अवसर पाउने गरेको देखिन्छ ।

बीमकको भूमिकाः आफू मातहमा कार्यरत दक्ष कर्मचारीहरुलाई समेत कम्पनीमै रहने, वृत्ति विकाशका समान अवसर प्रदान गर्नमा काखा र पाखा गर्ने गरेका पाईन्छ । यसले कम्पनीको मानव पूँजीलाई उच्चतम प्रयोग गर्न नसकिरहेको देखिन्छ । अतः कार्यरतहरुलाई दक्षता प्रदान गर्ने खालका तालिमका कार्यक्रममा समान रुपमा समावेश प्रदान गर्नु पर्ने तथा काखा र पाखा नगरि समय सापेक्ष कार्य मूल्यांकन गर्ने प्रवृत्तिको थालनी गर्ने गरेमा सकारात्मक उर्जा बाट उत्पादकत्वमा सघाउ पुग्न जाने देखिन्छ । सक्षम नया“ पुस्ता अवसरका लागि लालायित छन्, जोश जागरले पूर्ण छ तर पनि पहु“चको कमीले सेवा प्रवेशमा कठिनाई भैरहेको अवस्थामा बेराजगारको मात्रा घटाउन समेत समन्वयकारी भूमिका खेल्न सकेमात्र सच्चा राष्ट्रसेवा गरेको ठहर्नेछ ।

सारांशः विभिन्न स्थानमा शाखा खोल्ने प्रचलनमा नयाँ पुस्तालाई अवसर प्रदान गर्नाले स्थान विशेषमा व्यवसायको फैलावट मात्र नभई त्यस्ता जनशक्तिबाट कम्पनीले प्राप्त गर्न सक्ने लाभ समेत दिर्घकालिन हुने देखिन्छ । यसले कम्पनीको स्थानीय निकायमा व्यवसायिक पहुँच मात्र नभई जनसम्पर्कमा समेत सुधार आउने भएकोले अपेक्षाकृत रुपमा व्यवसायमा वृद्धि हुने देखिन्छ ।

 (कोईराला राष्ट्रिय बीमा संस्थानमा बीमा विज्ञका रुपमा कार्यरत छन् )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार