डिसेम्बर अन्त्य नजिकिंदै गर्दा व्यवसायीक अभिकर्तालाई एमडिआरटीको चटारो

काठमाण्डौं । गत साता पोखराको पाँचतारे होटलमा आयोजित अभिकर्ता सम्मान् समारोहमा उत्प्रेरक रविन कटवाल अभिकर्ताहरुलाई ‘एमडिआरटी’ बन्न हौंस्याउँदै थिए ।

सभाकक्षभित्र उपस्थित प्रत्येक अभिकर्तामा उनले जोश भर्दै भने, तपाई अरुको मन जित्न सक्नुहुन्छ भने संसारै जित्न सक्नुहुन्छ । एशियन लाईफ इन्स्योरेन्सले आयोजना गरेको अभिकर्ता सम्मान कार्यक्रममा देशैभरबाट दुई सयभन्दा बढी व्यवसायीक अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

Rabin Katwal

कार्यक्रममा सहभागी एमडिआरटी योग्य भइसकेकालाई उत्प्रेरकले सिओटी बन्न हौंस्याए । सिओटी योग्य भइसकेकालाई टिओटी । लाइफ कोच कटवालले थपे,’विकल्पको खोजीले होइन, विकल्प रहित संकल्पले मात्र हामीलाई सफल बनाउँछ ।’

केही समययता बीमा कम्पनीहरुको अभिकर्ता सम्मेलनमा उत्प्रेरकको रुपमा प्रस्तुती दिन भ्याई नभ्याईको अवस्थामा रहेका कटवालले प्रत्येक आयोजकहरुले, ‘अभिकर्ताहरुलाई एमडिआरटी बन्न पुरा जोशजाँगर भरिदिन’ आग्रह गरेका थिए ।

प्रत्येक वर्ष अंग्रेजी क्यालेण्डरको जनवरी प्रारम्भदेखि डिसेम्बर अन्त्यसम्ममा अभिकर्ताले हासिल गरेको व्यवसायीक लक्ष्यको आधारमा एमडिआरटी, सिओटी र टिओटी उपाधीबाट सम्मान गरिंदै आएको छ । व्यवसायीकरुपमा सकृय अभिकर्ताहरुलाई अहिले डिसेम्बर महिनाको बाँकी दिनमा जसरी भए पनि लक्ष्य पुरा गर्नुपर्ने चट्टारो छ ।

एमडिआरटी अन्तर्गत तीन तहको उपाधीको प्रावधान छ । पहिलो तहमा ३५ लाख रुपैयाँ प्रथम बिमाशुल्क(प्रबिशु) आर्जन गर्न सफल अभिकर्तालाई एमडिआरटी, १ करोड ५ लाख रुपैयाँ प्रबिशु आर्जन गर्न सफललाई सिओटी र २ करोड ९ लाख नब्बे हजार रुपैयाँ प्रबिशु आर्जन गर्न सफललाई टिओटी उपाधी प्रदान गरिन्छ ।
एमडिआरटी उपाधीका लागि योग्य अभिकर्ताहरुलाई जीवन बीमा कम्पनीले ‘विशेष सम्मान समारोह’बीच सम्मान् गर्ने घोषणा गरेका कारण पनि प्रतिष्ठाको विषय बनेको छ ।

के हो एमडिआरटी ?

नेपालमा वर्षौंदेखि सकृय अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरु लायन्स क्लब, रोटरी क्लब, राउण्ड टेबल, जेसिजजस्तै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था हो एमडिआरटी । एमडिआरटी अर्थात् मिलियन डलर राउण्ड टेबल । अमेरिकामा मुख्यालय रहेको यो संस्था विश्वभरका व्यवसायीक अभिकर्ताहरुको प्रतिनिधिमूलक संस्था हो । सन् १९२७ मा स्थापना भएको यस संस्थाले प्रत्येक अंग्रेजी वर्षभरमा अभिकर्ताले व्यक्तिगतरुपमा आर्जन गर्नुपर्ने कमिशन, आय र प्रथम बिमाशुल्कको मापदण्डको आधारमा उपाधी प्रदान गर्दै आएको छ ।

साथै यसको सदस्यता शुल्क भुक्तानी गर्ने अभिकर्तालाई विश्वभरका अभिकर्ताहरुको सम्मेलनमा सहभागीताको निम्तो समेत गर्छ ।
व्यवसायीक दक्षता र व्यक्ति विकासको लागि संभावनाको ढोकाहरु खुल्ला गर्ने र अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहुँच पु¥याउन सुनौलो अवसर प्रदान गर्ने भएकोले पनि विशेषगरी डिसेम्बरको महिनामा एमडिआरटी भन्ने शब्द प्रायजसो व्यवसायीक अभिकर्ताको मनमस्तिष्कमा काउकुती लगाइ रहेको हुन्छ ।

एमडिआरटीको व्यवसायीक आचारसंहिताः

व्यवसायीक चरित्रलाई तिलाञ्जली दिएरै भएपनि बीमाशुल्क र कमिशन आयको लक्ष्य पुरा गर्ने ध्याउन्नमा रहने अभिकर्ताहरुलाई भने एमडिआरटीले खबरदारी गरेको छ । एमडिआरटीले सात बुँदे व्यवसायीक आचारसंहिता निर्धारण गरेको छ । आचारसंहितामा अभिकर्ताहरुलाई बीमितको हितलाई सर्वोपरि ठान्न, व्यवसायीक दक्षतालाई उच्चत्तम बनाई राख्न, गोप्यता कायम राख्न, बीमा प्रस्ताव फारममा बीमितबारे पूर्णरुपमा सत्यतथ्य सम्पूर्ण विवरण खुलाउन, व्यवसायीक आचरण कायम राख्न, कुनैपनि बीमा योजनाको कुनै पनि विकल्प बीमितको हितमा रहेको सुनिश्चित गर्न, बीमितको हितलाई महत्व दिन र कानून तथा विधिको पूर्ण पालना गर्र्न निर्देशन दिएको छ ।

एमडिआरटीको सदस्यता शुल्कः

एमडिआरटीको लागी ५ सय अमेरिकी डलर अर्थात् ६० हजार ६ सय रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्छ । त्यसैगरी सिओटीको लागी ६ सय अर्थात् ७२ हजार ७ सय रुपैयाँ र टिओटीको लागी १ हजार एक सय अमेरिकी डलर अर्थात १ लाख ३३ हजार रुपैयाँ सदस्यता शुल्क तिर्नुपर्छ । यो शुल्क बीमा कम्पनीले नभएर अभिकर्ता आफैंले तिर्नुपर्छ ।

सन् २०२१ काे काराेबारकाे अाधारमा २०२२ काे लागी अभिकर्ताहरू एमडिआरटी याेग्य हुनेछन् । याेग्य अभिकर्ताहरूले अमेरिकाकाे बाेस्टन शहरमा सन् २०२२ काे जुन २४ देखि २९ सम्म अायाेजना हुने चार दिने सम्मेलनमा सहभागीताकाे अवसर प्राप्त गर्नेछन् ।

के तपाइ व्यवसायीक अभिकर्ता हाे ? हाे भने एमडिआरटी बन्ने अवसर छाेप्ने हाेइन त यसपाली ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार