बीमा सर्भेमा हुने ढिलाईको समाधान: बीमा सर्भेयर परिचालन निर्देशिका आवश्यक

शेर बहादुर बुढा  । कम्पनीहरुबारे तुलनात्मक जानकारी लिई बीमितहरुले सहज र सिघ्र दावी भुक्तानी गर्ने निर्जीवन बीमा कम्पनीबाट बीमा पोलिसी खरिद गर्न सुरु गरि सकेका छन्।  सिघ्र दावी भुक्तानी पाउने विमीतहरुको उक्त चासोलाई सम्बोधन गर्न निर्जीवन बीमा कम्पनीहरुले आफ्नो कम्पनीको दावी भुक्तानी क्षमता र दावी भुक्तानी रेटीङ प्रमाणीत गराउने प्रयासहरु शुरु गरेका छन् । अर्थात निर्जीवन बीमा कम्पनीहरु बिच दावी भुक्तानीको सहजता र सिघ्रता तर्फ प्रतिष्पर्धा सुरु भएको छ। साथै सहज रुपमा क्षतिपूर्ति पाइन्छ भन्ने विस्वास नभए सम्म सर्वसाधारणले स्वेच्छाले बीमा गर्दैनन्।  सर्वसाधारणले स्वेच्छाले बीमा नगराए सम्म बीमा गराउन पर्ने राज्यका बाध्यात्मक नियमहरुले मात्र निर्जीवन बीमा क्षेत्रको दिगो वृद्धि हुदैन।  यसैकारण नियामक निकाय बीमा समितिले समेत दावी भुक्तानीको सिघ्रता र सहजताका लागी विभीन्न निर्देशनहरु जारी गर्ने तथा अनुगमन गर्ने गर्दै आएको छ ।

बीमा सर्भेमा हुने ढिलाई : दावी भुक्तानी ढिलाईको मुख्य कारण
बीमितको दावी निवेदन प्राप्त भए पछी बीमा कम्पनीले सर्भे गर्न सर्भेयरलाइ कार्यादेश गर्छ।  तत्पश्चात सर्भेयरबाट क्षति मुल्यांकन सहितको सर्भे रिर्पोट प्राप्त भए पछी मात्र बीमा कम्पनीले दावी फछ्र्यौट कार्य अगाडी बढाउन सक्छ। यसैले छिटो दावी भुक्तानी गर्नका लागि बीमा सर्भेयरको रिपोर्ट छिटो पेश हुन आवश्यक छ।

बीमा सर्भे भनेको फिल्डमा फोटो खिच्ने काम मात्र होईन
सर्वसाधारण र कतिपय बीमा क्षेत्र कै व्यक्तिहरुमा बीमा सर्भे भनेको फिल्डमा फोटो खिच्ने काम मात्र हो भन्ने बुझाइ रहेको पाइन्छ र सो अनुरुप तुरुन्त सर्भे रिपोर्टको अपेक्षा गरेको पाइन्छ – जुन अस्वभाबिक चाहाना हो।  बीमितको पहिचान गर्ने, सम्पतिको पहिचान गर्ने, सम्पति माथि बीमितको अधिकार एकिन गर्ने, घटनाको सत्यता जाच गर्ने, घटनाले सम्पति माथि पारेको क्षतिको गहनता एकिन गर्ने, क्षति मुल्यांकनका आधारहरु खडा गरि सो अनुरुप जवाफदेही रुपमा क्षति मुल्यांकन गर्ने र विमित पक्षसंग छलफल गर्ने लगायत धेरै पक्षहरु समेटेर सर्भेयरले बीमकमाथि दावीको दायित्व स्थापित गर्नु पर्ने हुन्छ।

उल्लेखित पक्षहरु एकिन गर्न फिल्डमा फोटो खिच्ने, क्षतिको नापजाच गर्ने, बीमितसंग सोधपुछ गर्ने, सम्बन्धित अन्य व्यक्तिहरुसंग छलफल गर्ने, विमितसंग कागजातहरु माग गर्ने, कागजातहरु अध्ययन विश्लेषण गर्ने लगायत रिपोर्ट तयार पार्न आवश्यक अन्य विभिन्न कार्यहरु सर्भेयरले गर्नु पर्ने हुन्छ।  साथै सर्भेका दौरान नियामक निकायले विभिन्न बीमा पोलिसीहरु बारे जारि गरेका निर्देशिकाहरु समेत पालना गर्नु पर्ने हुन्छ जस्तै मोटर दावीका लागि समितिबाट जारि भएको १३८ पानाको मोटर बीमादर सम्बन्धि निर्देशिका २०७३ र सम्पति दावीका लागि समितिबाट जारि भएको ६४ पानाको सम्पति बीमा निर्देशिका २०७५ू आदि, साथै बीमा नियमावली २०४९ ले क्षति मूल्यांकनको निस्सा विमितलाइ दिनु पर्ने कार्यभार सर्भेयरलाइ दिएकोछ। स्तरीय दावी भुक्तानी नीति लिएका बीमा कम्पनीहरुले क्षति मुल्यांकन रकममा बीमितको लिखित सहमति लिनु पर्ने कार्यादेश समेत गरेका हुन्छन।  क्षति मुल्यांकन रकममा बीमितको सहमति प्राप्त गर्न सकसपूर्ण हुन्छ र बढी समय लाग्छ , यसरि बीमा सर्भे कार्य बहुआयामिक र चुनौतीपूर्ण छ।

सर्भेका लागि बीमा कम्पनीबाट सर्भेयरको छनोट र कार्यादेशको कार्य प्रक्रिया
मोटर, सम्पति, मरिन, चोरि CAR, EAR, CPM, Loss of Profit आदि जुन प्रकारको पोलिसीमा दावी परेको हो सोहि प्रकारको क्षति मुल्यांकनमा अनुभवर बिशेषज्ञता भएको सर्भेयर बीमा कम्पनीले खटाउन पर्ने हुन्छ।  दावी निवेदन प्राप्त हुनासाथ क्रमैसंग सोझै सुचिकृत सर्भेयरहरुलाइ खटाउन व्याबहारिक छैन कारण एकातर्फ बीमितले फिल्डमा आएको सर्भेयरलाइ बीमा कम्पनी कै प्रतिनिधि ठान्छन भने अर्कातर्फ सर्भेयरबाट बदनियतपूर्ण रुपमा अस्वभाविक बढी दायित्व निर्धारण होला भन्ने भय बीमा कम्पनीमा सदैव रहन्छ।  प्राय संकास्पद देखिएका र ठुला दावीहरुमा उपयुक्त सर्भेयर खटाउन दावी विभागमा छलफल आवश्यक हुन्छ। करोडौ क्षतिपूर्ति दावी गरिएको निवेदन उपर सर्भेयर खटाउदा कम्पनीको व्यवस्थापनले समेत बिचार पुर्याउनु पर्ने हुन्छ।  सर्भेयर परिचालन सम्बन्धि निर्देशन जारि गर्दा यस पक्षलाई ध्यान पुर्याउनु आवश्यक छ।

बीमित र सर्भेयर दुबैको काबु बाहिरका कारणहरु अर्थात बाहिरि कारणहरुले बीमा सर्भेमा हुने ढिलाई
सर्भेयर र बीमित दुबैले छिटो सर्भे सम्पन्न गराउन प्रयास गर्दा गर्दै पनि स्वभाविक बाहिरि कारणहरुले सर्भे रोकिने गर्दछ, जस्तै:

क) मानवीय क्षति भएको वा अन्य कानुनी जटीलता रहेको सडक दुर्घटनाका सवारी साधनहरु वर्कसपको सट्टा प्रहरीको नियन्त्रणमा रहेका हुन्छन । प्रहरीले उक्त जटीलता अन्त्य नभए सम्म प्रहरी प्रतिवेदन जारि गर्दैन। साथै प्रहरी नियन्त्रणमा रहेका गाडीहरुको कोटेशन तयार गर्ने, फिल्ड सर्भे र मर्मत गर्ने कार्यहरु अगाडी बढ्दैनन ।

ख) च्यासीस नै फेर्नुपर्ने अवस्थामा प्राय कम्पनीका गाडीहरुका च्यासीस आयात गर्न ३ देखि ६ महिना लाग्ने गरेको हुन्छ । यस्तै स्टकमा नरहने खालका महँगा पार्टसहरु मगाउन समेत हप्तौं समय लाग्छ ।

ग) CAR पोलिसीवाला आयोजनाहरुका सिभिल संरचनाहरु प्राय दुर्गममा हुन्छन र बर्षादको समयमा क्षति भएका उक्त आयोजनाहरु सडक सम्पर्कबाट बिच्छेद भएका कारण तत्काल फिल्ड सर्भे हुन नसक्ने हुँदा उपयुक्त मौसम र जानुपर्ने बाटो पर्खनुपर्दा बढी समय लाग्छ।  उदाहरणका लागि मेलम्चीको हेडवर्कस सम्म जाने बाटो बगेका घटनाको महिनौ सम्म समेत फिल्ड सर्भे हुन सकेको थिएन।

घ) कतिपय मोटर, CAR, सम्पति क्षतिका घटनामा स्थानीय वा सम्बन्धित पक्षहरुले आफ्नो माग पुरा नभए सम्म बीमा सर्भे गर्न रोकावट गर्दछन।

ङ) ठुला स्टोरहरुमा सामग्री सहित स्टक कागजातहरु समेत जलेको खण्डमा उक्त स्टोरले प्रतिलिपि विल लगायत अन्य कागजातहरु जुटाउन हप्तौं लाग्छ ।

च) कतिपय क्षतिग्रष्त सामग्रीको स्वामीत्व विवाद र सरकारी निकायहरुको निर्देशन लगायतका कारणहरुले समेत क्षति मूल्याङ्कन कागजातहरु जुट्न नसकिरहेका हुन्छन ।

दाविकर्ता बीमित कै कारण बीमा सर्भेमा हुने ढिलाई
पोलिसीको किसिम, घटनाको किसिम र सम्पतिको किसिम आदिका मध्यनजर क्षति मुल्यांकनका लागि विभिन्न कागजातहरु आवश्यक हुन्छन।  फिल्ड सर्भेका क्रममा पेश हुन पर्ने आवश्यक कागजातहरुको लिष्ट सर्भेयरले बीमितलाइ दिन्छ।  उक्त कागजातहरुको अभावमा सर्भे रिपोर्ट तयार हुन सक्दैन।  लामो समय सम्म विमितबाट कागजातहरु पेश हुदैनन।  यहि समयावधि नै प्रायस् दाविहरुको सर्भे ढिलाइ हुनुको मुख्य कारण हो । केहि दाविहरुमा माथि उल्लेख गरे झैँ विमितको काबु भन्दा बाहिरका कारणहरुले स्वाभाविक कारणहरुले कागजातहरु पेश भएका हुदैनन।  तर कतिपय दाविहरुमा विमितहरु ले नै चासो नदिएका कारण कागजातहरु पेश हुदैनन।

वास्तवमा बीमा दावीको काम बीमितका लागि अचानक आइ पर्ने थप काम हो।  ठुला कर्पोरेट बाहेक प्राय सबै व्यक्ति वा संस्थामा बीमा दावीका लागि अलग्गै व्यक्ति वा टिम हुदैन।  त्यसैले दावीकर्ता विमीतले आफ्नो नियमीत जिम्मेवारीको कामबाट बीमा दावीका लागि केहि समय निकाल्नु पर्ने हुन्छ । सर्भेयरबाट फिल्ड सर्भे सम्पन्न भए पछी क्षतिग्रस्त सम्पतिको मर्मतरपुनर्स्थापना काम आगाडी बढी सकेको हुन्छ।  मर्मतरपुनर्स्थापना काम अगाडी बढी सकेको अवस्थामा दावी कागजात जुटाउने कार्यमा विमितहरु हतार गर्दैनन।  त्यसमा समेत नेपालको निर्जीवन बीमा कार्य प्रक्रीयाले बीमितलाई कागजात पेश गर्ने बारे समयावधी नतोकेको अवस्थाले गर्दा बीमा दावी कागजात बीमित पक्षले फुर्सद भएमा गर्ने गरेको पाईन्छ । त्यस्तै दावीको तुलनामा कम क्षतिपूर्ति पाइने जानकारी भए पछी समेत बीमितले कागजात पेश गर्न वास्ता नगरेको पाइन्छ।
सर्भेयरका कारण बीमा सर्भेमा हुने ढिलाई
बीमा सर्भे रिपोर्ट तयार गर्न ढिलाई हुनमा सर्भेयर समेत कारक रहेको गुनासो आउने गरेको छ जस्तै:
– फिल्ड सर्भे समयमा नै सम्पन्न नगर्ने
-फिल्ड सर्भेका क्रममा बीमितका जिज्ञासाहरु सम्बोधन नगर्ने
– कागजातहरु बारे बीमितलाइ ब्रिस्तित रुपमा जानकारी नगराउने
– कागजातहरु एकैपटक माग नगरी कागजातहरु पटक पटक माग गर्ने
-कागजातका लागि बीमितलाइ नियमित रुपमा फलो अप नगर्ने
– कागजातहरु बारे र मुल्यांकित रकमबारे जानकारी माग गर्न सर्भेयर सहज उपलब्ध नहुने जस्तै सर्भेयरको फोन नउठ्ने
– सर्भेयरको अफिसमा छलफल गर्न सर्भेयर अफिसमा उपलब्ध नहुने
– कागजात पेश गरि सकेको अवस्थामा समेत बढी कार्य बोझका कारण सर्भेरक्षति मुल्यांकन रिपोर्ट तयार गर्न ढिलाई हुने आदि।

बीमा सर्भे कार्यमा सहजीकरण र सरलीकरणको आवश्यकता
बीमा सर्भे सहजीकरण तर्फ हालै सम्भवतः नेपालमा पहिलो पटक एक इन्योरेन्स कम्पनीले “बीमा दावी व्यवस्थापन ( सहजीकरण र सरलीकरण” )नामक सर्भेयर फोकस एक दिने अन्तर्कृया गरेको थियो । उक्त एक दिने कार्यक्रमका माध्यमबाट सर्भेयरले गर्ने कार्यप्रकृयाहरु र सर्भे कार्यमा आई पर्ने समस्याहरुबारे उक्त इन्स्योरेन्स कम्पनीको टिमले बिस्तृत रुपमा जानकारी लियो ।

सोही अन्तर्कृयाको निचोडको रुपमा सर्भेयरलाई आफ्नो तर्फबाट गर्न सकिने सहजीकरण र सरलीकरणका बुँदाहरु उक्त टिमले एकिन गर्यो जस्तै सर्भे कार्यदेशका साथ सर्भेयरलाई बीमा पोलीसी, क्लेम फर्म आदि सम्बन्धित कागजातहरु पठाउने ताकि उक्त कागजातहरुका अभावमा सर्भे कार्यमा ढिलाई हुन नपावोस । त्यस्तै दावीका दौरान बीमा कम्पनीले समेत विमीतसंग समन्वय गर्नु पर्ने आवश्यकता सतहमा आयो ।

सर्भेयर र बीमा कम्पनी दुबैलेआफ्नो कार्य दत्तचित्त भएर गर्दा गर्दै बाहिरि स्वाभाविक कारणहरुले समेत सर्भे सम्पन्न गर्न ढिलाई हुँदो रहेछ भनी पहिलो पटक सार्वजनीक वहस भयो । कम्पनी स्तरमा भएको उक्त कार्यलाई विमा समितिले क्षेत्रगत रुपमा नियमित तवरले गराउनु हालको क्षेत्रगत आवश्यकता हो ।

सिघ्र बीमा सर्भेका लागि बीमा समितिबाट लागु गरिएको अनौठो समाधान
बीमा सर्भे बहुआयामिक कार्य रहेको त्यसकारण सर्भेरक्षति मुल्यांकन ढिलाई हुने समेत बहुआयामिक कारणहरु हुने तथ्य बीमा क्षेत्रका सबैलाई जानकारी भएकै बिषय हो।  उक्त तथ्यलाई पुरा वेवास्ता गर्दै बिमा समिति ले यस समस्या समाधानका लागि २ बर्ष अगाडी एक बुदे निर्देशन जारि गर्योस् “५ वटा रिर्पोट पेश गर्न बाकि रहेको सर्भेयरलाइ बिमकले अर्को सर्भे कार्यादेश नगर्ने”  दाविकर्ता बीमितकै लापरवाहीले वा सर्भेयरको लापरवाहीले वा विमित र सर्भेयर दुबैको नियन्त्रण बाहिरका कारणहरुले सर्भेरक्षति मुल्यांकन कार्य रोकिएको हुन सक्ने अति सामान्य जानकारीलाई समेत नजरअन्दाज गर्दै जारि उक्त एक बुंदे निर्देशन अस्वभाविक र हचुवा मात्र होइन अनौठो पनि छ, कारण
( खुल्ला प्रतिस्पर्धात्मक हालको बजार प्रणालीमा नियामकले वस्तु वा सेवाको गुणस्तर तोक्न पाउछ र सेवाग्राहिको गुनासो सम्बोधन गर्न पाउछ तर कारोबार नै रोक्का गर्न पाउदैन। तर यहा सर्भेयरको कारोबार नै रोक्का हुने गरि निर्देशन जारि भयो ।

( हाम्रो देशले आर्थिक बिकासका लागि खुल्ला प्रतिस्पर्धात्मक बजार प्रणाली अपनाएकोले केहि संस्थागत बिमा सर्भेयरहरु निर्जीवन बिमा क्षेत्रमा आफ्नो ब्राण्ड स्थापित गर्ने जमर्को गरि रहेका छन।  यस निर्देशनले उक्त जमर्कोलाइ निमिट्यान्न गरेकोछ।  कारण एक पटकमा ५० गोटा दावीहरु ह्यान्डल गर्न सक्ने संस्थागत सर्भेयर र एक पटकमा ५ गोटा दावी समेत ह्यान्डल गर्न नसक्ने व्यक्तिगत सर्भेयर दुबैलाई एकै बास्केटमा राखी नियम जारि गरिएकोछ।

( यस निर्देशनलाई स्वभाबिक मान्ने हो भने भोलि का दिनमा समितिले बीमा कम्पनिहरुले जारि गर्ने पोलिसीका संख्याहरु सिमित गर्ने र अभिकर्ताहरुले सिफारिस गर्ने पोलिसीका संख्याहरु समेत सिमित गर्ने प्रकारका निर्देशन गर्न्रे अनुमान गर्न सकिन्छ।
( बीमा कम्पनीहरुले आफुले छनोट गरेको र विस्वास गरेको सर्भेयरहरुलाई कार्यादेश गर्नबाट बन्चित भइ आफ्नो बीमित भड्किने र व्यवसाय चौपट हुने जोखिम मोलेर सर्भे कार्यलाई कनिका छरे जस्तै नयारअपरिचितरसिकारु सर्भेयरहरु लाइ सर्भे कार्यादेश गर्न बाध्य हुने अवस्था सिर्जना भएको छ।  जुन निर्जीवन बिमा क्षेत्र बिकासमा एक बाधा हो।
५ गोटा निर्देशनले उल्लेखित लगायत समग्र निर्जीवन बिमा क्षेत्रलाई नकारात्मक असर गरिरहेको तथ्य यस क्षेत्रका प्राय सबैले स्वभाबिक रुपमा महसुस गरेका छन।

प्रति सर्भेयर ५ गोटा कार्यादेश निर्देशनको सकारात्मक प्रभाव
५ गोटा नियमले बिमा दावी फर्छ्योटलाइ सिघ्र र सरल गर्न प्रत्यक्ष्य रुपमा सकारात्मक प्रभाव नगरेता पनि यसले बीमा दावी फर्छ्योटलाइ सिघ्र र सरल गर्न समितिको सक्रियतालाई उजागर गरेकोछ।  अर्थात बिमा दावी फर्छ्योट सिघ्र र सरल गर्न समिति लागि परेको संदेश प्रवाह भइ बीमा दावी फर्छ्योटमा संलग्न पक्षहरु (सर्भेयर र बीमक) मा छिटो छरितो कार्य गर्नु पर्ने मनोवैज्ञानिक दवाब बढेको छ।  यसै परिस्थितिलाई सदुपयोग गर्न दोस्रो चरणको निर्देशन अर्थात विमा सर्भेयर परिचालन निर्देशिका जारि गर्ने उपयुक्त वातावरण सिर्जना भएकोछ।

बीमा सर्भेमा हुने ढिलाई समस्याको दीर्घकालिन उपयुक्त समाधान:  बीमा सर्भेयर परिचालन निर्देशिका
वास्तवमा बीमित र सर्भेयर दुबैको काबु बाहिरका कारणहरुले हो वा दाविकर्ता बीमितका कारणले हो वा सर्भेयरका कारणले हो एकिन हुने प्रकारको कार्यप्रक्रियाको हुनुपर्छ।  यसका लागि विमा सर्भेयर परिचालन निर्देशिका तर्जुमा गरि लागु गर्नु पर्ने हुन्छ ( जसले दावी निवेदन दर्ता देखि बीमा कम्पनीमा सर्भे रिपोर्ट पेश हुने अवस्था सम्मका क्रियाकलापहरुलाई रेकर्डिङ हुने र अनुगमन हुन सक्ने अवस्था सिर्जना गरोस।  सर्भेयरको कार्य व्यवस्थित रुपमा अनुगमन सुरु भए पछी राम्रो काम गर्ने सर्भेयरलाई पुरस्कृत गर्ने र ढिलाई गर्ने वा वदमासी गर्ने सर्भेयरलाई दण्डीत गर्ने कार्य प्रकृयाहरु चरणबद्ध रुपमा समितिले लागु गर्न सक्ने अवस्था सिर्जना हुनेछ।  त्यसबाट समितिले “सर्भेयर अफ द इअर” बाट पुरस्कृत गर्ने वा सर्भेयरलाइ स्पस्टिकरण सोध्ने दुबैका लागि आधार खडा हुनेछ।

बीमा सर्भेमा हुने ढिलाई समस्याको तत्कालिन समाधान
बीमा सर्भेयर परिचालन निर्देशिका तर्जुमा गरि लागु गर्न समय लाग्न सक्ने भएकाले क्षमता भन्दा वढी दावी फाईलहरु कुनै सर्भेयरसंग थुप्रिएर नरहुन भन्ने उद्येष्य पुर्ति गर्न निम्नानुसार लगायत निर्देशनहरु समितिबाट तत्कालै जारी हुन सक्छ।

१) सम्बन्धित पोलीसी सहित विमकले अनीवार्य रुपमा ईमेल मार्फत कार्यदेश गर्ने । यसबाट कार्यादेश दोहरीने वा रद्द हुने समस्या कम हुने आशा गर्न सकिन्छ ।
२)सर्भेयरले तोकिएको समयावधि भित्र ईमेल मार्फत नै उक्त कार्यादेश स्वीकार गर्ने व्यवस्था मिलाउने।
३) बीमा नियमावली २०४९ अनुसार खटीएको सर्भेयरले १५ दिनभीत्र सर्भे रिपोर्ट पेश गर्न हर सम्भव प्रयास गर्ने, तर वाहिरी कारणहरुले १५ दिन भित्र रिपोर्ट पेश गर्न सम्भव नभएको खण्डमा सो तथ्य खुल्ने गरी सर्भेयरको दावी फाइल र बिमकको दावी फाइल दुवै अद्यावधिक हुनुपर्ने । दावी फाइलको आकस्मिक निरिक्षण हुदा सो ढिलाइका कारणहरु फाईलमा नै स्पष्ट रुपमा खुलेको हुनुपर्ने ।

४) प्रत्येक १५ दिनमा विमकमा स्टाटस रिपोर्ट पेश गरी सोको निस्सा सर्भेयरको दावी फाईलमा राखीएको हुनुपर्ने । दुइवटा स्टाटस रिपोर्टहरुको बिचको समयावधिमा अनीवार्य रुपमा दावी फाइलमा फलो अप लगायतका कृयाकलापहरु भएको हुनु पर्ने ।

५) सर्भेयरसंग ३ महिना भन्दा बढी समय रोकीएका दावीहरुको अन्तिम प्रतिवेदन तयार हुन नसक्ने कारणहरु खोली उपयुक्त समयावधि थपका लागी सर्भेयरले विमक कहाँ लेखी पठाउने। आफ्नो ग्राहकरुपी विमीत र उस्को दावीका विभीन्न पक्षहरु विचार गरी म्याद थप गर्ने वा सहजीकरण गर्ने वा फाइल बन्द गर्ने सहमति दिने लगायतका कार्यहरु उपयुक्त तरिकाले बिमकले निर्णय गर्ने ।

सर्भेयर, व्यक्ति वा संस्थाको क्षमता अनुसार २०० दावी फाईलहरुमा समेत सर्भेयरको जिम्मेवारी पुरा भइ रहेको र ५ वटा मात्र दावी फाईलहरुमा समेत सर्भेयरको जिम्मेवारी पुरा नभइ फाइल अलपत्र रहेको पनि हुन सक्छ । उल्लेखित लगायतका व्याबहारिक र लागु हुन सक्ने प्रकारका निर्देशनहरु जारि गरेका खण्डमा मात्र कुनै सर्भेयरसंग दावी फाइलहरु अलपत्र भइ थुप्रिएर रहे नरहेको एकिन हुन् सक्नेछ।

निचोड
आजको प्रतिष्पर्धात्मक युगमा बीमा कम्पनीले दामासाही जस्तो गरि प्रत्येक सर्भेयरलाई ५–५ वटा काम दिनु पर्ने गरि गरिएको निर्देशन अस्वभाविक र अव्यवहारिक छ । ४ वर्ष देखी अस्वभावीक रुपमा सर्भेयर तालीम रोकीएका कारण उत्पन्न समस्या समाधान गर्न बीमा समितिले ऐतिहासिक रुपमा एकै पटक करिब ११ सय जनालाई तालीम प्रदान गर्दैछ । सर्भेयरको संख्या कम हुन नदिई बीमा कम्पनीहरुले प्रतिश्पर्धात्मक रुपमा क्षति मुल्यांकन सेवा पाउने वातावरण सिर्जना गर्ने यो एक ऐतिहासिक सकारात्मक कदम हो । यसै कदमको परिपुरक कदमका रुपमा हाल रहेको ५ गोटा हचुवा निर्देशनको सट्टा “बीमा सर्भेयर परिचालन निर्देशिका” जारी गरि बीमा समितिले बीमा सर्भे क्षेत्रलाइ व्यवस्थित गर्ने यो एक उपयुक्त अवसर पनि हो।

(लेखक सि-मेक कन्सल्टेन्सी का बीमा सर्भेयर हुन् )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार